सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिग्री पाएर जागिर नपाएको भन्दै कलेजविरुद्ध मुद्दा

आइतबार, १४ चैत २०७२, १६ : १६
आइतबार, १४ चैत २०७२

सान डिएगो — आना अलाब्रुडाले सन् २००८ मा नै सान डिएगोको थोमस जेफ्रेसन स्कूल अफ लबाट स्नातक पास गरिन् । कक्षाबाट शीर्ष श्रेणीमा परिक्षा पास गरेपनि हालसम्म उनले वकिलको कुनै जागिर पाउन सकेकी छैनन् । धेरै प्रयासपछि पनि जागिर नपाएको झोँकमा ३७ वर्षीया आनाले कलेजविरुद्ध नै मुद्दा दायर गरेकी छिन् । कलेजले त्यहाँ पढेका विद्यार्थीहरुले राम्रो ठाउँमा जागिर पाएको गलत तथ्यांक देखाएर आफूलाई झुक्काएको आरोप लगाएकी छिन् । आनाले पढाईका लागि लिएको १ लाख ७० हजार डलर ऋण अझै तिर्न बाँकी रहेको र मुद्दा जितेर त्यसको क्षतिपूर्ति लिने बताएकी छिन् । आना वकिल बनेकी थिइन् भने उनले अहिलेसम्म ऋणबापतको रकमभन्दा पनि धेरै आम्दानी गरिसक्थिन् । तर, २००८ पछि उनले वकिलको काम नै गर्न पाएकी छैनन् । उनी लफर्महरुमा सानो तिनो काम गर्न बाध्य भएकी छिन् । धेरै ठाउँमा वकिलका लागि अन्तरवार्ता दिए पनि काम पाउन सकिनन् । आफ्नो यस्तो हालत हुने थाहा पाएको भए उनी कहिल्यै त्यहाँ नपढ्ने बताउँछिन् । आनाको मुद्दा अनौठो लागे पनि ल कलेजविरुद्ध मुद्दा दायर भएको यो पहिलो अवसर भने होइन । यसअघि पनि विभिन्न कलेजविरुद्ध मुद्दा दायर भएका छन् । तर, कुनै पनि सुनवाईसम्म पुगेको छैन । सन् २०१२ मा न्युयोर्क ल स्कूलविरुद्ध २२५ मिलियन डलर क्षतिपूर्ति माग गर्दै दायर गरिएको मुद्दा खारेज गरिएको थियो । तर, आनाको मुद्दामा भने बहस हुने भएको छ । मुद्दा खारेज गर्ने कलेजको अपिललाई खारेज गर्दै मार्च ७ देखि यस विषयमा बहस शुरु भएको छ । यता, कलेजले भने आना अब्बल दर्जाको विद्यार्थी भएको दाबी गलत भएको बताउँदै आफ्नो कलेजबाट पास भएका ७ हजार जनाले देश र विदेशमा जागिर खाइरहेको बताएको छ । सन् २०१० देखि अमेरिकाको ल कलेजहरुमा विद्यार्थीहरुको संख्यामा कमी आउन थालेको छ । ल कलेजहरुबाट स्नातक गरेका हजारौं अहिले बेरोजगार छन् । सन् २०११ मा गरिएको एक अध्ययनमा ४५ हजार कानुनका विद्यार्थीहरु मध्ये ४५ प्रतिशत बेरोजगार रहेका छन् । सोही वर्ष ल कलेजहरुमा भने ८० प्रतिशत रोजगारी रहेको दाबी गर्दै विज्ञापन गरेको पाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप