सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२५ रुपैयाँमा अनलिमिटेड इन्टरनेट

आइतबार, १४ चैत २०७२, २१ : ०५
आइतबार, १४ चैत २०७२

शुक्रबार मध्याह्न १२ बजे । रत्नपार्कको गेटमा पुगेर हिमाल पोखरेलले २५ रुपैयाँको टिकट काटे । टिकट लिएर रत्नपार्क प्रवेश गर्दै गर्दा सुरक्षागार्डले सोधे, ‘भाइ, वाइफाइको पासवर्ड चाँहिदैन ? चाहिने भए भित्तामा टाँसिएको कागजमा वाइफाइ युजर नेम र पासवर्ड लेखिएको छ ।’ सुरक्षागार्डको कुरा सुनेर पोखरेल छक्क परे, ‘हो र ? आजकाल वाइफाइ पनि छ ?’ उनले हत्तपत्त गोजीबाट मोबाइल निकालेर युजर नेम र पासवर्ड टाइप गरे । र, मुस्कुराउँदै भित्र गए । पलेँटी कसेर बसे र निकैबेर मोबाइलमै घोरिरहे । एकैछिनपछि पिठयूँमा बोकेको झोलाबाट ल्यापटप निकाले र ल्यापटपमा ध्यानमग्न हुन थाले । सार्वजनिक स्थानमा प्रदान गरिएको ‘फ्री वाइफाइ’ प्रयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । त्यसो त उनी यसअघि पनि रत्नपार्क आइरहन्थे फुर्सदको समयमा टहल्न वा साथीभाइ भेट्न । शुक्रबार पनि उनी त्यहाँ साथीलाई कुर्दैथिए । वाइफाइ भएपछि साथीलाई कुरिरहँदा पट्यार महशुस नभएको र खाली समयको राम्रो उपयोग भएको पनि उनले बताए । त्यस दिन उनले साथी कुरिरहँदा युट्युबबाट केही भिडियो डाउनलोड गरे, फेसबुक अपडेट गरे । एक साता पहिले र अहिले रत्नपार्क परिसरभित्र आउने आगन्तुकको क्रियाकलापमा भिन्नता देखिएको थियो । सुन्तला वा बदाम खाँदै गफिरहनेहरू अहिले मोबाइल, ट्याब, ल्यापटपलगायतका डिभाइसमा घोरिइरहेका भेटिन्छन् ।

मोबाइलमा इन्टरनेट चलाउँदै गरेको भेटिएका सन्तोष लिम्बूले भने, ‘आजभोलि त बासै रत्नपार्कमा हुने गरेको छ । दिनभरि यहीँ बसेर इन्टरनेट चलाउँछौँ अनि साँझतिर मात्रै कोठा फर्कन्छौँ ।’ गाउँबाट पढ्न र जागीर खोज्न काठमाडौँ बसिरहेका सन्तोष अहिले पढाइ सकेर जागीर खोजिरहेका छन् । दिनभरि कोठामा बस्न झ्याउ लागेपछि रत्नपार्कको ‘फ्री वाइफाइ’ उपयोग गर्नु उनको दिनचर्या बन्न थालेको छ । कोठामा बसेर ‘डाटा नेट’ चलाउँदा दैनिक ५० देखि १०० रुपैयाँसम्म खर्च हुने गरेको सम्झँदै उनले रत्नपार्कमा वाइफाइ सेवा पाएपछि २५ रुपैयाँको टिकट किनेर भरपुर इन्टरनेट चलाउन पाउँदा राहतको महशुस भएको बताए । अहिले त उनी फुर्सदमा भएका साथीलाई पनि आफुसँगै ल्याएर मनपरेका गीत र फिल्म हेर्दै दिन कटाउँछन् ।

त्यस्तै मोबाइलमा इन्टरनेट चलाइरहेकी कोरियन नागरिक ह्याम किमले भनिन्, ‘यहाँ वाइफाई सुविधा राखेकोमा हामीलाई एकदमै सहज भएको छ ।’ एक वर्षअघि कलेज कोर्स अन्र्तगतको स्वयंसेवा गर्न नेपाल आएकी उनले सार्वजनिक स्थलमा वाइफाइ सेवा राख्न सुझाइन् पनि । उनी पहिले पनि रत्नपार्क आउँथिन्, तर अहिले आउँदा रमाइलो लाग्ने गरेको बताइन् । शुक्रबार उनले रत्नपार्कबाटै अनलाइनमा अध्ययन गरिन् । आफ्ना बाँकी रहेका कलेज ‘असाइन्मेट’ मेल गरिन् र कलेजले पठाएका थप ‘असाइन्मेन्ट’ डाउनलोड गर्न भ्याइन् । कम पैसामा नै पार्क घुम्न र नेट चलाउन पनि पाइने हुँदा खुशी लागेको उनको भनाइ छ । पोखराबाट काठमाडौँ घुम्न आएकी इभा भने पार्कको कुनातिर बसेर रिस पोख्दै थिइन् । ‘नेट स्लो’ भएकोमा उनको चिन्ता थियो । ‘फोकडको वाइफाइ न हो, के गतिलो गरि चल्थ्यो र खै ?’ उनले रिस् पोख्दै भनिन्, ‘कनेक्ट हुन्छ, तर फेसबुकमा फोटो पनि अपलोड हुन गाह्रो छ ।’ तर उनलाई पछिल्लो समय वाइफाइ दिएको कारण रत्नपार्क सफा भएको खुसी लागेको रहेछ । भनिन्, ‘पहिलेजस्तो सुन्तला र बदामका बोक्रामात्रै छरिएको भने छैन । सफा भएको छ । मानिसहरूले नेट चलाउन पाएका छन् ।’

रत्नपार्क सञ्चालन गर्ने काठमाडौं महानगरपालिका अन्तर्गतको रत्नपार्क–रानीपोखरी इकाइका प्रमुख हरिशरण केसीका अनुसार विशेषगरि आर्थिक स्तर कमजोर भएका अध्ययनशील विद्यार्थीले फाइदा लिन सकुन् भनेर निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो । ‘पार्कमा आउने आगन्तुकलाई दिक्क नलागोस्, साथी कुर्न सजिलो होस् भन्ने पनि उद्देश्य हो’ उनले थपे । ‘नेट स्लो’ हुने गरेको भन्ने विषयमा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘बिदाको दिन बाहेक अन्य दिनमा आगन्तुकको संख्या कम हुने भएकाले २ एमबिपिएस लिंक छाड्ने गरेको छौं । सार्वजनिक बिदामा भने ४ एमबिपिएस हुन्छ । जसबाट एकैपटक २४० जना प्रयोगकर्ताले मजाले प्रयोग गर्न सक्छन् ।’ पार्कबाहिर बस्नेले वाइफाइ प्रयोग नगरुन् भनेर निश्चित समयमा वाइफाइको पासवर्ड परिवर्तन गरिने उनले बताए । वाइफाइको सुविधा दिन थालेपछि पहिलेको तुलनामा आगन्तुकको संख्या ह्वात्तै बढेको इकाइ प्रमुख केसीले बताए । त्यसमा पनि बिहानको समयमा विद्यार्थीको आगमन बढिरहेको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक २ देखि ३ सय विद्यार्थी पार्क भित्रन्छन् । उनले भने, ‘वाइफाइको सुविधापछि विद्यार्थी बढी संख्यामा प्रवेश गर्न थालेका छन् ।’ अघिपछि ७ देखि ८ सय आगन्तुक र सार्वजनिक बिदाका दिन भने १ हजारदेखि १२ सय आगन्तुकले पार्क भ्रमण गर्ने गरेको तथ्यांक उनले सुनाए । यो पहिलेको तुलनामा झण्डै दोब्बर हो । वाइफाइको सुविधासँगै छिट्टै नै रत्नपार्क परिसरभित्र चमेना गृह तथा महिलामैत्री तथा अपांगमैत्री शौचालय निर्माण गर्ने योजना रहेको केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप