मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठमेल विकासका लागि दीर्घकालिन गुरुयोजनामा जोड

मङ्गलबार, १६ चैत २०७२, १७ : ४९
मङ्गलबार, १६ चैत २०७२

काठमाडौं– पर्यटकीय नगरी ठमेलको विकासका लागि तत्कालिन र दीर्घकालिन गुरुयोजना निर्माण गरेर काम अघि बढाउनुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । ठमेल पर्यटन विकास परिषदले आइतबार आयोजना गरेको बृहत अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो आवश्यकता औल्याएका हुन् । कार्यक्रममा प्रमुख अतिथिको आसिनबाट बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटन ठमेलबाटै श्रीगणेश भएकोले यसको हरेक पक्षको विकासमा लाग्नुपर्ने बताए । ठमेलसँग सम्बन्धित व्यवसायी, घरधनी तथा सम्बन्धित निजी क्षेत्रको सहभागिताले मात्रै वास्ताविक ठमेल निर्माण गर्न सकिने बताउँदै उनले यस क्षेत्रको विकासको लागि सरकारको मात्रै मुख नताक्न आग्रहसमेत गरे ।

व्यवस्थापिका संसदका सांसद भीमसेनदास प्रधानले ठमेलको पर्यटन विकास गर्नको लागि छुट्टै योजना तय गर्नुपर्नेमा जोड दिए । पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले ठमेलको विकासको लागि यहाँ भित्रको हरेक विधागत व्यवसायहरुलाई मर्या्दित र समयसापेक्षित बनाउनुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले ठमेलको रात्रीकालिन व्यवसाय सञ्चालनको विषयमा आफुहरु व्यवसायीकै पक्षमा भएको बताए ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले विगतदेखि नै परिषदले ठमेलको विकासका निम्ति विभिन्न कामहरु अघि बढाएको स्मरण गराउँदै आफ्नो नेतृत्वमा आगामी योजनालाई निरन्तरता दिदै समय सापेक्षित कामहरु अघि बढाइरहेको बताए । उनले सडक सुधार, ढल व्यवस्थापन, सडक बालबालिका तथा हकर व्यवस्थापन, सुरक्षा व्यवस्थापनका साथै अन्य पूर्वाधार विकास र नीतिगत सुधारमा आफुहरु तल्लिन भएर लागि परिरहेको बताए । आफुहरुले अघि बढाएको हरेक कार्यक्रमहरुमा सम्बन्धित निकायहरुको सहयोग र सहकार्य रहेकोे बताउँदै उनले आगामी दिनमा ठमेलको विकासको लागि तत्कालिन र दीर्घकालिन गुरुयोजना बनाएर अघि बढ्ने योजनासमेत सार्वजनिक गरे । रात्रीकालिन व्यवसायी संघका अध्यक्ष समिर गुरुङले नेपालको रात्रीकालिन व्यवसायलाई समयसापेक्षित स्वतन्त्रता प्रदान गरिनुपर्ने माग गरे । कार्यक्रममा महानगरीय प्रहरी कार्यलय, रानीपोखरीका एसएसपी सञ्जयसिंह बस्नेत, नेपाल टेलिकम नक्सालका उपप्रबन्धक नामाकरण न्यौपाने, नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंह, महानगरीय ट्राफिक प्रहरी महाशाखाका इनिस्पेक्टर सुनिलजंग शाहलगायतले सल्लाह र सुझावमूलक मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मनि लामिछाने, ठमेलस्थित विभिन्न वडाका वडा अध्यक्षहरु, पूर्व वडा अध्यक्षहरु, विभागीय प्रमुख तथा स्थानीय घरधनी र व्यवसायीहरुको व्यापक सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप