सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियलको बदला : बार्सिलोनाको ६ महिनाको अपराजित यात्रामा पूर्णविराम

आइतबार, २१ चैत २०७२, ०२ : ५९
आइतबार, २१ चैत २०७२

काठमाडौं — पाँच महिनाअघि रियल म्याड्रिडले आफ्नै घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ४—० को लज्जास्पद पराजय बेहोरेको थियो । तर, शनिबार राती रियलले उक्त हार भुलाउने गरी बार्सालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । सिजनको दोस्रो एल क्लासिकोमा १० खेलाडीमा सिमित बनेपनि रियलले २—१ को जीत निकाल्दै बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामाथि पूर्णविराम लगाएको हो । बार्सा पछिल्लो पटक अक्टोबर ३ मा सेभियासँग पराजित बनेको थियो ।

खेलको शुरुवातमा बार्सिलोनाले रियलमाथि दबाब राखेको थियो । दबाबका बावजुद बार्सिलोनाले रियलको पोस्टमा आक्रमण भने गर्न सकेन । यस सिजन गोलको वर्षा गरिरहेको बार्सिलोनाको एमएस एन — लियोनेल मेस्सी, लुइस सुवारेज र नेयामार खेल अवधिभर चुपचाप रहे । सुवारेजले शुरुवातमा नै सुन्दर अवसर गुमाए भने मेस्सीले खेलको एकमात्र तर उत्कृष्ट प्रहार रियलको पोस्टमा गरे । तर, यस सिजन निकै फर्ममा रहेका केयलर नाभासले त्यसको त्यतिकै उत्कृष्ट बचाउ गरे । बिना कुनै गोल पहिलो हाफ बराबरीमा सकिएपछि खेलको दोस्रो हाफ भने रोमाञ्चक रह्यो । दोस्रो हाफमा रियल बार्सिलोनामाथि हाबी देखिन थालेको थियो । रियलले बार्सिलोनामाथि दबाब बढाउँदै गर्दा कर्नरमा हेडमार्फत गोल गर्दै जेरार्ड पिकेले खेलको ५६ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यसको ६ मिनेटपछि नै करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काए । खेलको ८० औं मिनेटमा गेराथ बेलले हेडमाफर्त गोल गरे पनि त्यसलाई विवादास्पद रुपमा गोल दिइएन । लगतै रियलका कप्तान सर्जियो रामोस खेलको दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

तर, १० खेलाडीमा सिमित भए पनि रियलले आक्रमक खेल जारी राख्यो । खेलको ८५ औं मिनेटमा बेलको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई खेलमा पहिलो पटक अग्रता दिलाए । ठूला खेलहरुमा प्रदर्शन गर्न नसकेको र घरेलु मैदानबाहिरका खेलमा गोल गर्न नसकेको आरोप खेपिरहेका रोनाल्डोले सबैलाई जवाफ फर्काए । त्यसपछि कुनै गोल हुनसकेन र रियलले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । पहिलो एलक्लासिको र दोस्रो एलक्लासिकोमा रियलका लागि प्रशिक्षकको भिन्नता फरक रह्यो । राफायल बेनिटेजको नेतृत्वमा लज्जास्पद पराजय बेहोरेको रियलका लागि शनिबार जिनेदिन जिदानको योजना सफल देखियो । सम्भवतः खेलको म्यान अफ द म्याच मिडफिल्डमा कासिमेरो रहे । उनले एमएसएनलाई रोक्न मुख्य भूमिका खेले भने मार्सेलो र बेल पनि उत्कृष्ट रहे । जीतसँगै रियलले बार्सिलोनासँगको दुरी ७ अंकमा झारेको छ । बार्सिलोना हार्दा धेरै फाइदा भने एथ्लेटिको म्याड्रिडलाई पुगेको छ । यसअघि, रियललाई बेटिसलाई ५—१ ले पराजित गरेको एथ्लेटिको बार्सिलोनाभन्दा ६ अंकले मात्र पछि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप