सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिस्केट जात्राका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइयो

आइतबार, २१ चैत २०७२, १३ : ३१
आइतबार, २१ चैत २०७२

भक्तपुर– यसवर्षको बिस्केट जात्रा मनाउनका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइएको छ ।

विनाशकारी भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका भूकम्पपीडित बस्दै आएको भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्पपीडितलाई अन्यत्रै सारिएको हो ।

लिङ्गो उठाउने ठाउँमा बस्दै आएका करिब ६० घरपरिवार भूकम्पपीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरूलाई अन्यत्र सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

उनले भने – “भूकम्पपीडितलाई त्यस स्थानबाट नसारे जात्रा नै रोकिने भएपछि तत्कालका लागि अन्यत्र सारेर त्यो ठाउँ खाली गराइएको छ अब जात्रा सञ्चालन गर्न सकिन्छ ।”

भूकम्पपीडितलाई अन्यत्र सारिएपछि प्रहरी र स्थानीय बासिन्दाको टोलीले त्यस क्षेत्रको सरसफाइ गरेका छन् । अबको एकसाता अर्थात् चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि आवश्यक ठाउँ खाली गरिएपछि आज सरसफाइ गरिएको हो ।

यसवर्ष २७ गतेदेखि सुरु हुने जात्रामा पहिलो दिन मुख्यतः भैरवको रथ तान्ने गरिन्छ भने चैत ३० गते लिङ्गो उठाउने र १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालिन्छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा वैशाख ५ गते भैरवको रथ तानेर समापन गरिन्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप