मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संरक्षण भएन देउखुरीको ५५ झ्याले दरबार

आइतबार, २१ चैत २०७२, १६ : ३५
आइतबार, २१ चैत २०७२

दाङ– चारैतिर प्राकृतिक मनोरम दृश्य । छेउमा राप्ती नदी । नदीको एउटा धार बीचमा दरबार अवस्थित छ । छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्दछन् ।

दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन् । भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ । काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका । पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ । दरबार निर्माणको सुरुआत विसं १९४७ मा भएको थियो । भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो ।

तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुराम चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाउनुभएको हो । दरबार वातावरण मैत्री छ । दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो । अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन् ।

‘भवनको संरक्षण भएको छैन’ – भवनमा बस्दै आउनुभएका प्रकाश चौधरीले भन्नुभयो । भवनको स्वरुप सिंह दरबारको जस्तै छ । संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ । अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा । देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन ।

पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहाससँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन । नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन ।

मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नाति प्रकाशले बताउनुभयो । उहाँ अहिले सोही दरबारको दुई कोठा उपयोग गरी बस्दै आउनुभएको छ । राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उहाँ बताउनुहुन्छ ।

दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको चौधरीले बताउनुभयो ।

त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएको थियो ।

राणा सरकारले लगाएको मुद्दा खेप्न राजधानी जानुपथ्र्यो त्यो बेला । अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै चर्चेर आएका छन् । दरबारका बाँकी कोठाको संरक्षण हुनसकेको छैन ।

हाल यो दरबारका कोठाहरुमा झार पलाउन थालेका छन् । धमिरोले काठ खान थालेको छ । देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा परशुराम चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन् । ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राजखान्दानको जस्तै संरचनाको दरबार बुबाले बनाएका थिए’ – तत्कालीन नेता परशुरामको भनाइ स्मरण गर्दै भतिजा प्रकाश चौधरीले भन्नुभयो ।

अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन् । त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ ।

भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन् । काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन । तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ । सिंहदरबारको झल्को यो दरबारमा देख्न सकिन्छ । कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप