सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपडेट : विवाद मिल्यो, बारको मतगणना सुरु

मङ्गलबार, २३ चैत २०७२, ११ : ०८
मङ्गलबार, २३ चैत २०७२

काठमाडौँ — नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना मङ्गलबार बिहान ९ बजेदेखि सुरु हुने भनिएपनि मतपेटिकामा विवाद देखिएपछि ढिला गरी शुरु भएको छ । सप्तरीको मतपेटिकामा नामको विवाद देखिएपछि मतगणना शुरु हुनमा ढिलाइ भएको हो । विवाद मिलाउन चुनावी मैदानमा उत्रिएका प्रगतिशील र लोकतान्त्रिक प्यानलका प्रतिनिधिबीच छलफल भएको थियो । बिहान ९ बजे शुरु हुने भनिएको मतगणना ११ बजेलाई सारिएको थियो । विवाद मिलेपछि मतगणना शुरु गर्ने निर्णय गरिएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट निर्वाचनको मतपेटिका काठमाडौँ सुरक्षित रुपमा आइपुगेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिए । निरौलाका अनुसार सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार पाँच दिन लाग्ने अनुमान गरिएको छ ।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो । काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । प्रगतिशीलको नेतृत्व विजयकान्त मैनालीले र लोकतान्त्रिकको नेतृत्व शेरबहादुर केसीले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप