सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सञ्चार उद्यमी सिंघानियाको हत्या गर्न सञ्जय शाहले १० लाख खर्च गरेको खुलासा

बुधबार, २४ चैत २०७२, १८ : ०८
बुधबार, २४ चैत २०७२

जनकपुरधाम-टुडे सञ्चार समूहका अध्यक्ष अरूण सिंघानिया हत्याका मुख्य योजनाकार निलम्बित सांसद सञ्जयकुमार साह रहेको तथ्य सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रामदत्त जोशीले जनकपुर टुडेमा डाँकासम्बन्धी प्रकाशित समाचार विवादका कारण साहले सिंघानियाको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट तथ्य उजागर भएको बताए ।

विसं २०६५ साल भदौ १४ गते तत्कालीन रामानन्द युवा क्लबका अध्यक्ष जीवनाथ चौधरीको घरमा डाँका लागेको घटनामा साहको नाम पत्रिकाले उल्लेख गरेका कारण साहले पत्रिकाका प्रकाशक सिंधानियाको हत्या गर्न रु १० लाख खर्च गरेको उनले जानकारी दिए ।

सिंघानियालाई मार्न साहले कदम चोकस्थित आफ्नो घरको छतमा चनरदीप र रामविनोद यादवसँग तीन पटकसम्म छलफल गरेको, चनरदीपले एकलाल सहनीमार्फत पवन लामा, मनक लामा र दीपेन्द्र कुसियतलाई साथमा लिई चार जनालाई रु पाँच लाखमा सिंघानियालाई मार्न तय गरेको प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

घटनाका दिन २०६६ साल १७ गते स्थानीय रामा होटलको कोठा नं १०३ मा सबै जना ( यादव, सहनी, लामा, र कुसियत जम्मा भई बसेको, सोही दिन साह र रामविनोद यादव होटल अगाडि आएर चनरदीपलाई खाजा खर्चका लागि रु ३० हजार नगद र सानो झोला दिएको, रामविनोदलाई झोलामा के छ भनी सोध्दा हतियार र गोली छ भनी उत्तर दिएको, सोही दिन रामविनोदले ४ बजे शिव चोकमा आउनु मान्छे चिनाइदिन्छु भनेको विवरणमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– “त्यसपछि होटलको कोठामा नै एकलाल, पवन, दीपेन्द्र र चनरदीपले होली खेली अबीर रङ लगाइ दीपेन्द्रको मोटरसाइकलमा भानु चोकमा पुगेपछि रामविनोदले सिंघानियालाई चिनाइदिएको, सिंघानिया साथीसँग होली खेलिरहेको अवस्थामा मनक लामा भीडमा छिरी सिंघानियालाई नजिकैबाट गोली प्रहार गरेको देखिन्छ ।

सो घटनामा साह मुख्य योजनाकार, रामविनोद हतियार र अर्थ व्यवस्थापन र चनरदीपले सुटरको भूमिका निर्वाह गरेको प्रहरीको दाबी छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ धनुषाका सभापति अनिलकुमार मिश्रले प्रहरीद्वारा जारी विज्ञप्ति सत्यताभन्दा काल्पनिक र शङ्कास्पद देखिएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप