सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनअपेक्षा अनुसारको प्रहरी सेवा प्रदान गर्नुपर्ने : प्रहरी महानिरीक्षक अर्याल

बुधबार, २४ चैत २०७२, १८ : ५३
बुधबार, २४ चैत २०७२

काठमाडौं-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सर्वसाधारण जनतालाई प्रहरी सेवा सर्वसुलभ बनाउने तथा जनअपेक्षा अनुसारको प्रहरी सेवा प्रदान गरी प्रहरी कार्यालय आउँदा आमनागरिकले बोकेको पीडा फर्केर जाँदा कम होस भन्ने अभिप्रायले काम गर्नुपर्ने बताएका छन् ।

कार्यस्थलमा नै पुगेर प्रहरीका समस्याहरूको स्थलगत जानकारी तथा सम्बोधन गर्ने उद्देश्यका साथ चैत्र २० गतेबाट सुदूर पश्चिमाञ्चल क्षेत्र मातहतका प्रहरी इकाईहरुको निरीक्षण भ्रमणमा रहेका प्रहरी महानिरीक्षक अर्यालले बुधबार सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको निरीक्षण तथा महिला ब्यारेक भवन उदघाटन गर्दै उक्त कुरा बताएका हुन् ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी पेशा चुनौतिपूर्ण हुँदै गएको अवस्थामा प्रहरीले आफ्नो कर्तव्य बुझेर कार्यशैलीमा परिवर्तन गर्दै समस्या लिएर आउने सेवाग्राहीको यथार्थपरक अपेक्षालाई सम्बोधन गर्ने गरी सेवा प्रदान गर्नुपर्ने बताए । अपराधीको लागि प्रहरी त्रासको प्रतीक र बहुसंख्यक नागरिकको लागि आशाको प्रतीक हुनुपर्नेमा उनले जोड दिए ।

कानुन पालना गराउन प्रहरी कर्मचारी आफै कानुनको दायरामा रहनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक अर्यालले भने, ‘अबको समाजले भनेको होइन असल काम गरेको देख्न चाहन्छ ।’ प्रहरी पेशा मात्र होइन जीवनशैली हो भन्दै उनले प्रतिष्पर्धामा छानिएर स्वेच्छाले प्रवेश गरेको सेवामा संगठनको अपेक्षाअनुसार व्यवहार गर्न निर्देशन दिए ।

समाज रुपान्तरण गर्नका लागि आमनागरिकप्रति जवाफदेहिता र समाजले खोजेको परिवर्तनप्रति सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले प्रहरीले आफ्नो आचरण परिवर्तन गर्दै ज्ञान, सीप र विवेक प्रयोग गरी न्युनतम दायित्व पुरा गरेमा मात्र पनि यसको समाधान निस्कने उनले उल्लेख गरे ।

उक्त अवसरमा सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक बिजयकुमार भट्टले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भुपालकुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्मित भवनप्रति इङ्गित गर्दै प्रहरी महानिरीक्षक अर्यालले भवन निर्माण हुनु ठूलो कुरो होइन साधन मात्र हो, असल प्रहरी बनाउन सकियो भने मात्र भवन निमार्ण हुनुको सार्थकता हुन्छ भने । भुगोलको हिसाबले केही टाढा भए पनि तालिमको शैली, सोच र व्यवहारलाई नविनता प्रदान गर्न उनले शुभकामना दिए ।

शान्ति तथा पुनः निर्माण मन्त्रालय, शान्ति कोषको २ करोड १० लाख ७० हजार ३ सय ५४ रुपैयाँको लागतमा निर्मित उक्त महिला ब्यारेक भवन साढे ४ तलाको रहेको छ । उक्त भवन गत २०६९ पुस १५ गते शीलान्यास भएको थियो ।

समारोहमा पुनरावेदन अदालतका कायम मुकायम मुख्य न्यायधीस, सुदूर पश्चिम पृतनाका पृतनापति उपरथी विनोदकुमार श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायधीस, क्षेत्रीय कार्यालयका कार्यालय प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, डोटी जिल्लाका कार्यालय प्रमुखहरु, संचारकर्मीहरु लगायत प्रहरी अधिकृतहरु तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप