मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाट्टाको चाइना मिसन : १० अप्रिलदेखि साढे दुईलाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य

शुक्रबार, २६ चैत २०७२, १५ : ३७
शुक्रबार, २६ चैत २०७२

काठमाडौं– नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले नेपाल पर्यटन बोर्ड, नेपाल राजदुतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । यही १० अप्रिल २०१६ देखि एक सातासम्म चीनको राजधानी बेइजिङ र अन्य तीन शहरहरु हाङजाउ, सांघाई तथा चेदुङमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको शुक्रबार नाट्टा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

गत बैशाखमा गएको शक्तिशाली भूकम्प र त्यसपछिको नाकाबन्दीलगायतका कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव न्यूनिकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाट्टाले आयोजना गर्न लागेको उक्त कार्यक्रमअन्तर्गत बी टु बी र पत्रकार सम्मेलनलगायतका कार्यक्रम सञ्चालन गरिने छ । पर्यटक आगमनमा भारी गिरावट भएपछि भर्खरै मात्र तङग्रिदै गरेको अवस्थामा कार्यक्रम आयोजना गर्न लागिएको हुनाले यो कार्यक्रम अत्यान्तै महत्वका साथ हेरिएको छ । यो कार्यक्रमपछि साढे दुई लाख चिनियाँ पर्यटकको आगमन हुने प्रक्षेपन नाट्टाको छ ।

नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले चाइनिज पर्यटकलाई नेपालतर्फ आकर्षित गर्नको लागि नेपालले विकसित मुलुकहरुसँग प्रतिस्पर्धा गर्नुपरेकोले सम्भावनासँगसँगै चुनौति पनि रहेको बताए । उनले त्यस्तो चुनौतिको सामना गर्नका निम्ति यहाँका नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन र पूर्वाधार विकासको लागि दुरदर्शी योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । चिनबाट एक करोड २० लाख पर्यटक संसारका विभिन्न ठाउँ घुम्ने गरेको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष आचार्यले त्यसको केही हिस्सामात्रै नेपालमा आकर्षित गर्ने योजना बनाउन सकिए देशको पर्यटनले फड्को मार्ने बताए । उनले चाइनापछि आगामी जुनमा दक्षिण कोरिया र भारतमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी समेत दिए ।

कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उपाध्यक्ष सिएन पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले नेपाल सरकारबाट चिनियाँ पर्यटकको लागि घोषित भिसा निशुल्कलगायत नयाँ प्याकेज बनाएर उक्त कार्यक्रममा सहभागि हुने तयारी भइरहेको जानकारी पनि दिए । उनकाअनुसार चीनमा प्रारम्भिक तयारी गर्न पीआरलाई हायर गर्ने तथा कार्यक्रम आयोजनार्थ चारवटै शहरका उपयुक्त होटलहरुको खर्चको व्यवस्था मिलाईदिने सहमति भइसकेको छ । नाट्टाले यस कार्यक्रमको लागि नाट्टा कार्यकारी सदस्य शीतल कुमारी शर्मा पौडेलको संयोजकत्वमा छुट्टै समिति नै गठन गरेको छ । उक्त कार्यक्रमको लागि नाट्टाको तर्फबाट ४ जनासहित २८ जना नेपाली पर्यटन व्यवसायीहरु सहभागि हुनेछन् । जसमध्ये संयोजकलगायत केही व्यवसायीहरु त्यसततर्फ प्रस्थान गरिसकेको जनाइएको छ ।

नाट्टाका महासचिव भीमप्रसाद पन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘एयर चाइनाबाट सहुलियत दरमा हवाई टिकटको व्यवस्था गरिएको छ भने चाइना टुर इन्टरनेशनल सर्भिस गोन्जाओलाई अन्य आवश्यक सेवा प्रदायकको रुपमा हायर गरिएको छ’ । कार्यक्रम अप्रिल ११ मा बेइजिङको होलिडे इन्टरनेशनलमा बेलुकी ४ बजेदेखि साढे छ बजेसम्म नेपाल प्रवद्र्धन कार्यक्रम गरिने छ । उक्त कार्यक्रमको लागि नेपाल राजदुतावासका राजदुत डा. महेश मास्के, पर्यटनका लागि नाट्टाका सदभावनादूत चिनिया रंगकर्मी जिआन मिङ याङलगायतको सहभागिता रहने छ ।

अप्रिल १४ को बेलुकी हाङजाउको वेस्ट वेस्टर्न हाङजाउ होटलमा पुन अर्को कार्यक्रम हुनेछ । त्यस्तै अप्रिल १५ मा चीनको औद्योगिक एवं व्यवसायिक शहर सांघाईको ग्राण्ड होटलमा हुनेछ र अन्तिम कार्यक्रम अप्रिल १८ मा चेङदुको टियनफु सनसाइन होटलमा सम्पन्न हुनेछ । यो वर्ष नाट्टाले आयोजना गरेको यो दोस्रो कार्यक्रम हो । नाट्टाले गत जनवरीमा स्पेनको म्याड्रिडमा फिटुर २०१६ सफलतापूर्वक सम्पन्न गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप