सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिस्केट जात्रामा ढुङ्गा हानाहान : चार घाइते, एक पक्राउ

शनिबार, २७ चैत २०७२, २३ : ३०
शनिबार, २७ चैत २०७२

भक्तपुर - नयाँवर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको भैरवको रथ आज राति ९ बजे गःहिटी ल्याइपु¥याइएको छ ।

जात्राको पहिलो दिन आज अपराह्न ५ बजेर १५ मिनेटमा तौमढी पाँचतले मन्दिर बाट तल र माथिका स्थानीयवासीले तान्न सुरु गरेको रथ माथिका बासिन्दाले तानेर गोल्मढीसम्म पु¥याएका थिए ।

विगतमा दत्तात्रयसम्म पु¥याउने रथ यसवर्ष भूकम्पले टेको लगाएको घर भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि रथ लैजान नदिन बारलगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पु¥याएका हुन् ।

गोल्मढीबाट रथलाई स्थानीयवासीले तानेर पुनः तौमढी ल्याएपछि रथलाई नासमनातर्फ लैजाने र गःहिटीमै रथलाई राख्ने भन्ने विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो ।

माथिका बासिन्दाले रथलाई गःहिटीमा ओरालेर राख्ने प्रयास गरेपछि नासमनातर्फका बासिन्दाले रथलाई नासमना लैजान नदिन खोजेको भन्दै विवाद भएपछि राति ९ बजे ढुङ्गा हानाहान भएको हो । केहीबेर ढुङ्गा हानाहान भए पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

रथलाई गःहिटी लगेर राखेपछि आजको रथ जात्रा सम्पन्न हुने परम्परा छ ।

रथ तान्ने क्रममा रथबाट खसेर र रथले किचेर चारजना घाइते भएका छन् । घाइते हुनेहरुमा सुरक्षार्थ खटिएका प्रहरी जवान विद्यानन्द पासवान, स्थानीय हेमप्रसाद न्हेमाफुकी, राजन भटुवा र लक्ष्मीप्रसाद त्यात घाइते भएका छन् ।

घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये त्यातको दुवै खुट्टाको कम्मरदेखि तल क्षति पुगेकाले थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ ।

तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे यो जात्रा नेपाल सम्वत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगत्ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतीन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएअनुसार नै अहिलेसम्म त्यही प्रचलन चल्दै आएको छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्केट जात्रामै चैत ३० गते भक्तपुरको भेलुखेलमा लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा गरी साँझ ढाल्ने गरिन्छ । यसैबीच जात्राकै क्रममा आएका सिन्धुपाल्चोक घर भई हाल सूर्यविनायक बस्दै आएका सागर मगरलाई प्रहरीले चक्कु बोकेर हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप