सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय समितिमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : मधेस आन्दोलन ‘प्रायोजित’

शनिबार, २७ चैत २०७२, २३ : ४२
शनिबार, २७ चैत २०७२

काठमाडौँ - नेकपा (एमाले)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले पार्टीको आन्तरिक एकतालाई जोड दिएका छन् ।

उनले एमाले एकीकृत रुपमा उभिएकै कारण संविधान निर्माणदेखि सरकार गठनसम्ममा सफलता हासिल भएको बताउँदै फेरि पनि त्यो एकता आवश्यक रहेकामा जोड दिनुभएको केन्द्रीय सचिवालयका सचिव श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीले संविधान लागू गर्नका लागिसमेत एमालेको एकता अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै व्यक्तिगत तुस, गुटगत भावनाभन्दा माथि उठ्न आग्रह गरका थिए ।

बैठकमा उनले सत्तारुढ दलबीचमा कुनै ठूलो विवाद नरहे पनि सञ्चारमाध्यमले अनावश्यक विषय उछालेको जिकिर गरेका थिए। अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि १० समूह बनाएर छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको श्रेष्ठले बताए ।

दस समूहबाट १० जना टोली नेता छानेर उनीहरुले समूहको रिपोर्टिङ बैठकमा गर्ने छन् । बैठक भोलि ११ बजे पुनः बस्ने गरी टुङ्गिएको छ भने भोलि नै दिउँसो २ बजे पोलिटब्युरो बैठक बस्ने सचिवालयका सचिव श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा मधेसी दलले चलाएको आन्दोलनलाई ‘प्रायोजित’को सङ्ज्ञा दिइएको छ । उनले मधेस केन्द्रित दलको आन्दोलन मुलुकको राजनीतिको वास्तविक नभई ‘नक्कली समस्या’ भएको टिप्पणी पनि गरे ।

संविधान बन्नुअघि नै नेपालले अघोषित नाकाबन्दी भोग्नुपरेको र राष्ट्रिय स्वाधीनताको जगमा वर्तमान सरकार बनेको र राष्ट्रियताको भावनालाई कत्ति पनि विचलित हुन नदिनु सरकारको सफलता भएको १२ पृष्ठ प्रतिवेदनमा उल्लेख छ । छिमेकी भारत र चीनको भ्रमणबारे पनि प्रतिवेदनमा चर्चा गरिएको छ ।

प्रतिवेदनमा वर्तमानमा एमाले मुलुकको मियो र अगुवा दल भएकाले त्यस महत्वलाई बुझेर काम गर्न आग्रह गरिएको छ ।

श्रेष्ठका अनुसार बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायका प्रतिवेदन, विभागहरूमा मनोनयन, स्थायी कमिटीका निर्णय अनुमोदन, पार्टीको विधानको बाधा अड्काउ फुकाउ धारा प्रयोग गरी नयाँ संविधान अनुकूल सङ्गठन संरचनासम्बन्धी निर्णय, बल्खुमा पार्टीको भवन पुनःनिर्माण, समसामयिक प्रस्तावलगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप