बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिरियाली संसदीय चुनावमा राष्ट्रपति असद पक्षधरको बहुमत

आइतबार, ०५ वैशाख २०७३, २१ : ३२
आइतबार, ०५ वैशाख २०७३

 

दमासकस (सिरिया), सिरियामा द्वन्द्वरत् सरकार पक्ष र विद्रोहीबीच नयाँ चरणको वार्ताका लागि दुवै पक्षका प्रतिनिधि जेनेभा पुगेकै बेला यता सरकारी पक्षबाट गएको हप्तामा गराएको निर्वाचनको परिणाम सार्वजनिक गरिएको छ ।

सरकारसँग सन् २०११ देखि निरन्तर युद्धरत विद्रोहीले संयुक्त राष्ट्रसङ्घले प्रस्ताव गरेको वर्तमान राष्ट्रपति असदको नेतृत्वमा तीन जना विद्रोही पक्षका उपराष्ट्रपति बनाउने विषयलाई विद्रोहीले शनिबार अस्वीकार गरे लगत्तै सिरियाली राष्ट्रिय निर्वाचन आयोगले आइतबार सिरियाको संसदीय निर्वाचनको परिणाम सार्वजनिक गरेको हो । शान्ति वार्तामा सरकार र प्रतिपक्षीलाई ल्याउने पहलस्वरूप संयुक्त राष्ट्रसङ्घका सिरिया मामिला प्रमुख स्टेफेन डे मिस्टुराले शुक्रबार असदसँग सङ्क्रमणकालीन सरकारको नेतृत्व असदलाई दिने र तीन उपराष्ट्रपति प्रतिपक्षबाट राख्न मिस्टुराले प्रस्ताव गर्नुभएको थियो । सिरियाली प्रतिपक्षीको पहिलो सर्त असद सत्ताबाट बाहिरिनु पर्नेछ । विपक्षी वार्ता टोलीले असद बाहिरिएमा सरकारी कूटनीतिज्ञ तथा व्यवसायीलाई वार्तामा सहयोग गर्ने बताएको छ । असद औपचारिक रूपमा राष्ट्र प्रमुख रहने प्रस्ताव हामीलाई कदापी स्वीकार्य हुन सक्दैन, सिरियाली प्रतिपक्षीको उच्चस्तरीय वार्ता टोलीका प्रवक्ता सालेम अल मेसलेटले शनिबार भन्नुभयो । दुई लाख ७० हजार मानिसको मृत्यु भएको गृहयुद्ध समयमा असद र असदलाई सघाउन मुख्य भूमिका खेल्ने कोही पनि सङ्क्रमणकालीन सरकारको राष्ट्रपति हुने कुरा आफूहरूलाई स्वीकार्य नहुने द्वन्द्वरत विद्रोहीको अडान छ । सरकारद्वारा सार्वजनिक परिणामअनुसार सिरियाको सत्तासिन बाथ पार्टी र यसका सहयोगी दलले २५० सिटमध्ये २०० सिट प्राप्त गरेको छ । अप्रिल १३ मा भएको निर्वाचनको नतिजा सार्वजनिक गर्दै आयोगले निर्वाचित प्रतिनिधिको नाम आइतबार आयोगको कार्यालयमा प्रकाशित गरेको, सिरियाको राज्य सञ्चालित समाचार संस्था सानाले जनाएको छ । अप्रिल १३ को मतदानका लागि योग्यता पुगेका ८८ लाख ३४ हजार ९९४ मतदातामा ५० लाखभन्दा बढी मतदाताले मतदान गरेको निर्वाचन आयोगका प्रमुख हिसाम अलसारको शब्दलाई उद्धृत गर्दै सानाले बताएको छ । सुरुमा ११ हजार ३४१ उम्मेदवारले निर्वाचनमा भाग लिने तयारी गरे पनि ३ हजार ५०० उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धाका लागि उभिएका थिए । सिरियामा वर्तमान राष्ट्रपति असदको बाथ पार्टीले करिब आधा शताब्दीदेखि यहाँको सत्ता सम्हाल्दै आएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएपछि संयुक्त राष्ट्रसङ्घले सिरियाली निर्वाचनमा सबै समूहको सहभागिता नभएको बताउँदै यसलाई मान्यता नदिने बताएको छ । सिरियामा सन् २०११ पछि पहिलो पटक निर्वाचन भएको भए पनि युद्धरत् अधिकांश विद्रोही पक्षले निर्वाचनमा सहभागिता जनाएका थिएनन् । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप