मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

डेढ करोडका योजनामा पर्यटन पूर्वाधार

शुक्रबार, १० वैशाख २०७३, ०८ : ३८
शुक्रबार, १० वैशाख २०७३

म्याग्दी – जिल्ला विकास समितिको कार्यालय म्याग्दीलाई प्राप्त भएको पर्यटन रोयल्टी शीर्षकको बजेट बिहीबार विभिन्न योजनाहरुका लागि वितरण गरिएको छ ।

स्थानीय विकास अधिकारी चिरन्जिवी पौडेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दलका प्रतिनिधिहरुको सुझाव र जिल्ला परिषद्ले पारित गरेको योजनाहरुलाई प्राथमिकता दिएर बजेट बाँडफाँड गरेको हो ।

पर्यटन मन्त्रालयले उपलब्ध गराएको १७ लाख ३४ हजार रुपैयाँ बजेट विभिन्न नौ वटा योजनाहरुका लागि बाँडफाँड भएको जिविसको योजना शाखाले जनाएको छ । धौलागिरी आईसफल पदमार्गको रुइसे भेडीओडार, शिखको खयरबाराहीमा पूर्वाधार निर्माण र धौलागिरी बेसक्याम्पमा जलवायू परिवर्तन सम्बन्धि गोष्ठी गर्न ३/३ लाख रुपैयाँ छुट्याइएको योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले बताए ।

यसैगरी नारच्याङको अन्नपूर्ण बेसक्याम्प पदमार्ग र घारदेखि शिख सडक मर्मतका लागि २/२ लाख, भकिम्ली स्वर्गाश्रम, ताकमकोट पदमार्ग निर्माणका लागि १÷१ लाख रुपैयाँ बाँडफाँड गरिएको छ । झाँक्रीपानी बरंजा पदमार्ग निर्माणका लागि एक लाख ४४ हजार र बेनपा ८ मा शिवालय मन्दिर निर्माणका लागि २० हजार रुपैयाँ छुट्याइएको छ ।

बजेट विनियोजन भएका योजनाको प्रभावित क्षेत्रका उपभोक्ताहरुको भेला गरि सम्झौता गर्न आउन जिविसले अनुरोध गरेको छ । ति योजनाहरु चालु आर्थिक वर्षभित्रमै सम्पन्न गरिसक्नुपर्ने छ । यसवर्ष पर्यटन सम्बन्धी अन्य शीर्षकमा बजेट बढेकाले रोयल्टी शीर्षकमा कम बजेट आएको जिविसले बताएको छ ।

यसवर्ष मुदी बगर हुँदै धौलागिरी बेसक्याम्प जाने पदमार्ग निर्माणका लागि २५ लाख रुपैयाँ बराबरको काम भैरहेको छ । यसैगरी, पर्यटन कार्यालय पोखराले पर्यटन पूर्वाधार निर्माणका ९५ लाख रुपैयाँ बराबरको योजना सञ्चालन गरेको छ । यसैगरी पर्यटन मन्त्रालयले धार्मिक स्थलहरुका लागि छुट्टै १७ लाख रुपैयाँको योजना पनि सञ्चालन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप