मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग सञ्चालन

शुक्रबार, २४ वैशाख २०७३, १६ : १०
शुक्रबार, २४ वैशाख २०७३
म्याग्दी–म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको रु ४० लाखको लगानीमा नारच्याङ–अन्नपूर्ण पदमार्ग सञ्चालनमा ल्याइएको हो । चार वर्षको अवधिमा प्रत्येक वर्ष रु १० लाख बजेटबाट नारच्याङ हुँदै आधार शिविरसम्मको पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए । नारच्याङ गाउँदेखि छेलुङ जङ्गल हुँदै नीलगिरि खोलाको किनारैकिनार व्यवस्थित पदमार्ग निर्माण गरिएको उनले बताए । ‘‘यसअघि अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने पर्यटक हेलिकप्टरमार्फत आउने गरेका थिए, अब नारच्याङ हुँदै पदमार्गमार्फतसमेत सजिलै पर्यटक र आरोहीहरु आधार शिविर पुग्न सक्छन्” – अध्यक्ष गुरुङले भने । नेपाली पर्यटकलाई एक दिन र विदेशी पर्यटकलाई दुई दिन लाग्ने यो पदमार्ग हुँदै आधार शिविर पुग्ने पर्यटकलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि सेल्टरसहित क्याम्पिङ साइटलगायतका थप पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ । सहज पदमार्ग नहुँदा यसअघि आरोही र पर्यटक हेलिकप्टर चार्टर र मुस्ताङको कुञ्जो गाविस हुँदै घुमाउरो बाटो हुँदै आधार शिविर पुग्ने गरेका थिए । पदमार्ग सञ्चालनमा आएसँगै नारच्याङको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव हुमबहादुर पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप