सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ला लिगाको त्रिपक्षीय उपाधि होडबाट एथ्लेटिको बाहिरियो, रियलको चुनौती यथावत

सोमबार, २७ वैशाख २०७३, ०० : १५
सोमबार, २७ वैशाख २०७३

काठमाडौं — एस्पानियोललाई ५—० ले पछ्याउँदै बार्सिलोना ला लिगाको उपाधिबाट अब मात्र एक जीत टाढा रहेको छ । लिग उपाधिका लागि त्रिपक्षीय होड चलिरहँदा बार्सिलोनाले अन्तिम खेलमा जीत निकाले उपाधिको रक्षा गर्ने छ ।

बार्सिलोनालाई जीत दिलाउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, राफिना र नेयमारले एक एक गोलको योगदान दिए । सुवारेजको पछिल्ला ४ खेलमा यो ११ औं गोल हो । यस सिजनले उनले ३४ खेलबाट ३७ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोभन्दा ४ गोलले अघि हो । लिगमा एक खेल मात्र बाँकी रहँदा उनी यस पटक लिगको सर्वाधिक गोलकर्ता बन्ने पक्कापक्की बनेको छ ।

क्याटालान डर्बीमा लुइस एनरिकेको टोली सन् २००७ को गल्ती दोहोराउने पक्षमा थिएन। त्यतिबेला एस्पानियोलसँग बराबरी खेल्दा फाबियो कापेलोको नेतृत्वमा रहेको रियल म्याड्रिडले उपाधिमाथि कब्जा जमाएको थियो ।

 

बार्सिलोनाले आफ्नो अन्तिम खेल ग्रानाडाविरुद्ध खेल्नेछ । त्यसखेलमा जीत हात पारे लिग उपाधिमाथि कब्जा जमाउने छ ।

एथ्लेटिको उपाधि होडबाट बाहिरियो

उता, खेलअघि बार्सिलोनासँग समान अंक रहेको एथ्लेटिको भने लिगको पुछारमा रहेको लेभान्तेसँग अप्रत्यासितरुपमा २—१ गोल अन्तरले पराजित भएको छ ।

एक खेल बाँकी छँदा बार्सिलोनासँग ३ अंकले पछि परेको छ । बाँकी खेलमा बार्सिलोना हारे र एथ्लेटिको जिते पनि समान अंक हुँदाहुँदै हेड टु हेडको आधारमा बार्सिलोना लिग च्याम्पियन बन्ने छ ।

खेलको शुरुवातमै फर्नान्डो टोरेसले एथ्लेटिकोलाई अग्रता दिलाए पनि रेलिगेसनमा परिसकेको लेभान्तेका लागि भिक्टर कासाडेसस र गुइसेपे रोस्सीले एक—एक गोल गर्दै जित दलाए ।

रियलको चुनौती कायमै

उता, रोनाल्डोको दुई गोलको मद्दतले भ्यालेन्सियालाई पराजित गर्दै रियलले भने अन्तिम खेलसम्म आफ्नो चुनौती कायम राखेको छ । आइतबार राती आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा रियल ३—२ गोल अन्तरले विजयी बन्यो ।

रियलका लागि अन्य गोल करिम बेन्जेमाले गरे । भ्यालेन्सियाका गोलकिपरले रियलका थुप्रै प्रयास विफल बनाएका थिए ।

उता, खेलको अन्तयतिर १० खेलाडीमा सिमित बनेको भ्यालेन्सियाका लागि रोड्रिगो र एन्ड्रे गोमेजले १—१ गोल गरे ।

रियलले अब आफ्नो अन्तिम खेल डेपोर्टिभोविरुद्ध खेल्नेछ ।

कसले जित्ला लिग ?

आजको खेलपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाको ८८ र दोस्रो स्थानमा रहेको रियलको ८७ अंक रहेको छ ।  लिग उपाधिबाट बाहिरिएको एथ्लेटिको ८५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अन्तिम खेलमा बार्सिलोनाले जीत हासिल गरे बार्सिलोना स्वतः लिग च्याम्पियन बन्नेछ । तर, बार्सिलोना हारेको र बराबरी खेलेको खण्डमा रियलले जित दर्ता गरे रियल लिग च्याम्पियन बन्नेछ । त्यस्तै रियल हारे बार्सिलोना हारे पनि जिते पनि लिग च्याम्पियन बन्नेछ ।

बार्सिलोना हारे र रियल बराबरी भए समान अंक हुदाहुँदै पनि हेड टु हेडको आधारमा बार्सिलोना नै च्याम्पियन बन्ने छ ।

बार्सिलोना र रियल दुवै हारे र एथ्लेटिको जित्यो भने एथ्लेटिको र बार्सिलोनाको समान अंक हुनेछ । तर, हेड टु हेडको आधारमा बार्सिलोना नै च्याम्पियन बन्नेछ ।

युरोपका बाँकी ठूला लिगमा लिग च्याम्पियन घोषणा भइसकेको बेला ला लिगामा भने यो भिडन्त अन्तिम खेलसम्म चल्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप