सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको किर्तिमानले रोक्न सकेन बार्सिलोनाको उपाधि

आइतबार, ०२ जेठ २०७३, ०० : १३
आइतबार, ०२ जेठ २०७३

काठमाडौं — स्पेनिस ला लिगको उपाधि ९० मिनेटको खेलमा अड्किएको थियो । अन्तिम खेलसम्म दुई स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाले उपाधि होडलाई रोमाञ्चक बनाइराखे ।

शनिबार राती एकै समयमा दुवै टोलीले उपाधि कब्जा गर्ने आशा सहित आ—आफ्नो खेल खेले । रियलका लागि क्रिस्टियानो रोनाल्डो नायक बन्दै जित दिलाए पनि दुर्भाग्यवस त्यो काफी हुन सकेन । उनले लगातार ६ सिजनमा ५० गोलको आँकडा पार गर्ने खेलाडी बने पनि आफ्नो टोलीलाई घरेलु लिगको उपाधि दिलाउन सकेनन् ।

उता, लुइस सुवारेजको ह्याट्रिकको मद्दतले ग्रानाडालाई पराजित गर्दै बार्सिलोनाले उपाधिमाथि कब्जा जमायो । मात्र १ अंकले चिर प्रतिद्वन्द्वीलाई बार्साले मात दियो ।

लगातार ५ औं खेलमा जित निकालेपछि बार्सिलोनाले २४ औं ला लिगा उपाधिमाथि कब्जा जमाएको हो ।

च्याम्पियन्स लिगबाट बाहिरिसकेको बार्साले अगामी आइतबार हुने कोपा डेल रेको खेलमा सेभियालाई हराए यस सिजन दुई उपाधिमाथि कब्जा जमाउनेछ ।

सँगै शुरु भएको खेलमा रोनाल्डोको गोलको मद्दतले रियलले शुरुमै अग्रता लिए पछि बार्सिलोनाले जसरी पनि आजको खेल जित्न पर्ने दबाब थियो । तर उरुग्वेका स्ट्राकर सुवारेजले बार्सिलोनालाई जित दिलाउन नायक बने । खेलको शुरुवातमा लियोनेल मेस्सी र जेरार्ड पिकेको प्रहारलाई ग्रानाडाको गोलकिपरले विफल बनाएका थिए ।

ह्याट्रिकसँगै सुवारेजले यस सिजनको गोल्डन बुट ट्रोफेयो पिचिचीको उपाधि पनि जितेका छन् । उनले यस सिजन ४० गोल गरे ।

यस सिजन बार्सिलोनालाई उपाधि दिलाउन चर्चित एमएसएनले टोलीको ११२ गोलमध्ये ९० गोल गरे । जसमा मेस्सीले २६ तथा नेयमारले २४ गोल गरे ।

मेस्सी र इनियेस्टा टोलीमा आएपछि बार्सिलोनाले सन् २००४—०५ सिजनपछि ८ लिग उपाधि जितेको छ ।

अप्रिल २ को एल क्लासिको अघि बार्सिलोना ३९ खेलमा अपराजित थियो । तर आफ्नै घरेलु मैदानमा २—१ ले रियलसँग पराजित भएपछि बार्सिलोनाको खराब फर्म शुरु भयो । टोली च्याम्पियन्स लिगबाट बाहिरियो भने लिगमा स्पष्ट अग्रता गुमायो । तर, अन्तिम ५ खेलमा २४ गोल गर्दै जित निकाले पछि बार्सिलोनाले संघर्षपूर्ण रुपमा उपाधि उचाल्न सफल रह्यो ।

उता रोनाल्डोको दुई गोलको मद्दतले डिर्पोटिभो ला कोरुनालाई पराजित गरे पनि रियल च्याम्पियन बन्न सकेन । रियललाई च्याम्पियन बन्न आजको खेल जित्न र सँगसँगै बार्सिलोनाले आफ्नो खेल हार्न वा बराबरी गर्न जरुरी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप