सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोना उपाधिको हकदार : जिदान

आइतबार, ०२ जेठ २०७३, १५ : २०
आइतबार, ०२ जेठ २०७३

म्याड्रिड — रियालका म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलेस्पेनिस ला–लिगा फुटबलको उपाधीका लागि बार्सीलोना नै हकदार रहेको बताएका छन् ।

अन्तिम खेलमा डिर्पोटिभोलाई २–० ले हराएपनि रियाल म्याड्रिड बार्सीलोनासँग एक अंकले पछि पर्दै स्पेनिस ला–लिगको दोस्रो स्थानमै सिमित भयो ।

रियलले पछिल्ला १२ लिग खेल जितेको छ । यता, बार्सीलोनाले पछिल्ला ५ खेल लगातार जित्यो । बार्सीलोना गत अप्रिलसम्म रियालभन्दा १० अंकले अघि थियो । तर लगातार तीन म्याच हारेपछि बार्साले लिग जित्न अन्तिम खेलसम्म कुर्नुपर्यो ।

‘हामी सबै स्तब्ध छौँ । तर हामीले अब केही परिवर्तन गर्न सक्नेछैनौँ ।’– जिदानले भनेका छन् । उनले राफाल बेनिटेजको सट्टामा रियालको टोली सम्हालेका थिए । जिदानको प्रशिक्षणमा रियालले खेलेका २६ खेलमध्ये २१ खेल जितेको छ ।

बार्सीलोनाका प्रशिक्षक लुईस एनरिक्यू पनि आफ्ना विपक्षी टोलीको प्रशिक्षककै भनाईमा सहमत छन् । उनी भन्छन्–‘हामी उपाधीका हकदार हौँ । हामीले खराब फर्मबाट गुज्रिएर पनि कसरी राम्रो खेल्दै उपाधी जित्न सकिन्छ भन्ने देखाएका छौ । हामीले सिजनभर उत्कृष्ट खेल्यो र धेरै हप्ता शीर्ष स्थानमै रह्यौ । लिग उपाधी स्थिर टोलीले नै जित्ने हो ।’

बार्सीलोनाका कप्तान आन्द्रेस इनिस्टाका लागि यो आठौ ला–लिगा उपाधी हो । बार्सीलोनाले पछिल्ला ८ वर्षमा ६ वटा लिग उपाधी जितेको छ । इनिस्टा भन्छन्–‘लालिगा निकै ठूलो उपाधी हो । यो स्थिरताको प्रतिस्पर्धा हो । जब लिग जितिन्छ तब त्यो सिजन साँच्चै अद्भूत रहन्छ ।’ डिफेन्डर जेरार्ड पिकेले अहिलेको समय क्लबका लागि ऐतिहासिक रहेको बताएका छन् । ‘यो फरक पुस्ताका फुटबलरहरुको टोली हो र यहाँ थुप्रै क्षमतावान् खेलाडी छन् । हामीले अहिले कहिल्यै हात पारेका सफलताहरु एकपछि अर्को गर्दै हासिल गरेका छौ । हामीले केही समय खराब नतिजा व्यर्होर्यौ । तर अन्त्यमा उत्कृष्ट खेल्दै लिग जित्यौँ ।’

बार्सीलोना र रियाल दुबैले नकआउट प्रतियोगिताको फाइनल खेल्न भने बाँकी नै छ । बार्सीलोनाले आगामी आइतबार कोपा डेल रेइको फाइनलमा सेभियासँग प्रतिस्पर्धा गर्दैछ । कोपा डेल रेइ स्पेनको सबैभन्दा ठूलो नकआउट प्रतियोगिता हो । रियाल म्याड्रिडले युरोपकै सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा २८ मेमा आफ्नै शहरी प्रतिद्वन्द्वी एथलेटिको म्याड्रिडको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप