मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकको परखाइमा शितलगुफा

सोमबार, ०३ जेठ २०७३, १४ : ३३
सोमबार, ०३ जेठ २०७३

पर्वत–ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो शितलगुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा बर्राचौरमा अवस्थित शितलगुफा ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु गरिएको छ । जिल्लाको दक्षिणी गाविसमा पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित यसको विकास गर्न लागिएको हो । पर्यटन विकास मन्त्रालय अन्तर्गत पर्यटन बोर्ड पश्चिम डिभिजन कार्यालय पोखराले गुफाको भौतिक व्यवस्थापनको लागि १० लाख छुट्याएको थियो । स्थानीयको पाँच लाखको श्रमदानसहित अहिले गुफामा पुग्नको लागि सडक सञ्जालदेखि सात सय मिटरको रेलिङ्गसहितको पैदल सिँढी, ट्रष्ट, छानो, गुफा परिसरमा पर्खाल निर्माण गरिएको छ । गेट भने निर्माणाधीन अवस्थामा रहेको स्थानीय शिक्षक राजेन्द्र पौडेलले जानकारी दिए । हजारौँ वर्ष पुरानो यस गुफाको संरक्षणका लागि अन्य निकायले भने सहयोग गरेका छैनन् । गुफा संरक्षणको लागि गुफा संरक्षण समिति पनि गठन गरिएको छ । गुफामा शिवरात्रीमा विशेष मेला लाग्ने गर्दछ । गुफाभित्र प्राकृतिक रुपमा नै कुँदिएका शिवाकृति, देवाकृति, विभिन्न जीवजन्तु तथा विभिन्न सांस्कृतिक बाजागाजाको संगीत सुन्न सकिन्छ । साँघुरो मुखाकृति भएको गुफा भित्र भने एक हजार मानिस बस्न सक्ने गरि फैलिएको छ । गुफाको भित्री भागमा पसेर झन्डै पाँच सय मिटर माथिबाट बाहिर निस्कन सक्ने भएतापनि हाल भने सो ठाउँ पुरिएको छ । गुफाको बाहिरी परिसरबाट कालीगण्डकी नदी, गोर्लाङ्ग डाँडा, देउराली, कोट, तथा देवीथान जस्ता धार्मिकस्थल देख्न सकिन्छ भने दक्षिणी क्षेत्रकै सबैभन्दा ठुलो बर्राचौरको समथर फाँटको अवलोकन पनि गर्न सकिन्छ । गुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको गुफा संरक्षण समितिका अध्यक्ष मोहोलाल पराजुलीले जानकारी दिए । “ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वसमेत बोकेको क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनको काम थालिएको छ”, उनले भने – “यसलाई दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सफल बनाउन आवश्यक छ ।” जिल्लाको नयाँपुल देखि मिर्मि सम्मको ¥याफ्टिङ्ग पश्चात सेतीवेणी, शितलगुफा, लुङ्खुको महाशिला हुँदै नयाँ पर्यटकीय पदमार्गको पनि सम्भावना रहेको छ । गुफालाई कालीगण्डकी लोकमार्ग तथा वालिङ्ग–बर्राचौर सडकखण्डले जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप