सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किन बढ्दैछ युरोपियन प्रतियोगितामा ला लिगाको दबदबा ?

बिहीबार, ०६ जेठ २०७३, २१ : ०७
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं — युरोपा लिगमा सेभियाको विजयसँगै लगातार तेस्रो वर्ष युरोपका दुई ठूला प्रतियोगितामा स्पेनिस क्लबले कब्जा जमाउने पक्का भएको छ । तथ्याङ्क नियाल्ने हो भने पछिल्ला १५ वर्ष स्पेनिस क्लबले च्याम्पियन्स लिग र युरोपा लिगमा दबदबा कायम गरेको छर्लङग हुन्छ । यस सिजन च्याम्पियन्स लिगको उपाधि विजेताको छिनोफानो हुन बाँकी छ । तर दुबै स्पेनिस क्लब र त्यसमा पनि एउटै शहरका रियाल म्याड्रिड र एथलेटिको म्याड्रिड फाइनलमा पुगेका कारण जसले जिते पनि ला–लिगाको प्रभूत्व कायम रहनेछ ।

स्पेनिस ला–लिगाका टिमले उपाधीसँगै युरोपेली प्रतियोगितामा सबैभन्दा धेरै जीत हात पार्ने रेकर्ड समेत पछिल्लो १५ वर्षमा बनाएका छन् । सेभियाले बुधबार राती दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै एक शुन्यले पछि रहेको स्थिती उल्ट्याएर लिभरपुलमाथि ३–१ को जीत निकाल्यो । युनाई इमेरीको प्रशिक्षणमा रहेको टोलीले लगातार तेस्रो पटक यो गौरबपूर्ण सफलता हासिल गरेको हो ।

अब च्याम्पियन्स लिगको फाइनलमा एथलेटिको र रियालबीच २८ मेइमा हुने प्रतिस्पर्धापछि लगातार तीन सिजन युरोपका ठूला दुबै प्रतियोगिताका उपाधी स्पेन भित्र्नेछन् । यस सिजन भएको १६ वटा नकआउट खेलमध्ये स्पेनिस क्लबहरुले १५ खेल जिते । लिभरपुलले एकमात्रै खेलमा युरोपा लिगको सेमिफाइनलमा भिल्लारियालमाथि ३–१ को जीत निकालेको थियो । यसबाहेक नकआउट चरणमा स्पेनिस क्लब अन्य कोही क्लबसँग पराजित भए भने त्यो स्पेनकै टोली थियो । बार्सीलोना यसपटक नकआउट चरणमा पराजित भयो । तर अन्य देशका टोलीसँग नभएर स्पेनकै एथलेटिको म्याड्रिडसँग ।

एएस रोमा, आर्सनल, पेरिस सेन्ट जर्माइन, उल्फ्सवर्ग, बार्यन म्युनिख र म्यानचेस्टर सिटीसामू स्पेनिस क्लबहरुलाई लगातार तेस्रो सिजन च्याम्पियन्स लिग जित्ने मौकाबाट विमुख गर्ने अवसर थियो । तर उनीहरु चुके ।

यता युरोपा लिगमा पनि अन्तिम आठभित्र पुगेका रापिड विइन, मार्सेली, नेपोली, मोल्डे, बासेल, लिभरकुसेन, स्पार्टा प्राग र साख्तर डोनेटस्कले पनि स्पेनिस क्लबहरुलाई हराउन सकेनन् । लिभरपुलले भिल्लारियालमाथि त जीत निकाल्यो । तर फाइनलमा सेभियासँग चुकेपछि उपाधी स्पेनमै पुग्यो । युरोपा लिग वा च्याम्पियन्स लिगका फाइनलमा सन् २००१ पछि स्पेनिस टोलीले हार व्यहोर्नुपरेको छैन् । सन् २००१ मा भ्यालेन्सियालाई हराउँदै बार्यन म्युनिखले उपाधी जितेको थियो । त्यसपछि युरोपा लिग र च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस टोलीहरु १३ पटक पुगे र उपाधी जिते ।

किन स्पेनको वचश्र्व

कारण १ : शीर्ष दुई क्लब

बार्सीलोना र रियाल म्याड्रिडको सफलता कोट्याउनका लागि कारण खोज्न पर्दैन किनकी यि दुई क्लब विश्वकै धनी क्लब हुन् । उनीहरु विश्वकै उत्कृष्ट खेलाडीमा लगानी गर्छन् । यि दुई क्लबले राम्रो खेलाडीमा लगानी गर्दा अन्य क्लबले पनि त्यसको अप्रत्यक्ष फाइदा उठाउँछन् । कम्तिमा पनि वर्षमा दुईदेखी चारपटकसम्म उनीहरुले विश्वकै उत्कृष्ट टिम विरुद्ध खेल्न पाउँछन् । इटली, जर्मनी वा इङल्याण्डका उत्कृष्ट टोलीसँग सामना गर्नेले क्याम्प नोउ वा सान्टियागो बेर्नाबाउ रंगशालामा भिड्दाको मज्जा चाख्न कहाँ पाउँछन् र ? यसबाहेक बार्सीलोना र रियाल म्याड्रिडको एकेडेमीबाट उत्पादन भएका सबै खेलाडीहरुले ति टोलीबाट खेल्न पाउने ग्यारेन्टी छैन् । त्यसैले टोलीमा नपरेपछि उनीहरु स्पेनकै अन्यत्र क्लबमा जान्छन् । तर, उनीहरुले एकेडेमी हुदैँ २–४ अवसरमा क्लबबाट खेल्दा पनि ठूला स्टारसँग धेरै सिकिसकेका हुन्छन् ।

फरक प्रशिक्षण सन् २००८ देखी २०१२ सम्म स्पेनले प्रमुख तीन उपाधी जित्यो । युरो–२००८, विश्वकप फुटबल र युरो–२०१२ को उपाधी जित्नेक्रममा स्पेनले ‘टिकी–टाका’ शैलीमा खेलेको थियो । छोटो तर छरितो पास खेल्ने यो शैली बार्सीलोनाबाट विकसित भएको हो । ‘स्पेनमा फुटबल निकै प्राविधिक हुन्छ । यहाँ उत्कृष्ट फुटबल खेलिन्छ ।’– रियाल म्याड्रिडसँग पराजित हुदँै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरिएपछि सिटी प्रशिक्षक म्यानूयल पिल्लिग्रिनीले भनेका थिए । स्पेनिस टोलीलाई प्रशिक्षण गराउने प्रशिक्षकहरु रणनीतिमा ठूलै जोड दिन्छन् । उनीहरुका रणनीति अलग अलग छन् । जस्तो डिएगो सिमोनीले एथलेटिको म्याड्रिडमा गराउने प्रशिक्षण र बार्सीलोना मोडलबीच आकाश जमिनको फरक छ । जहाँ बार्सीलोना आक्रमणका कारण विश्वमा चर्चित छ । त्यही देशको एथलेटिको म्याड्रिडको रक्षापंक्ती विश्वकै उत्कृष्ट मानिन्छ । रियाल म्याड्रिड, सेभिया र भिल्लारियला काउन्टर एट्याकमा खतरनाक मानिन्छन् भने एथलेटिको बिल्बाओ सेट–पासमा उत्कृष्ट मानिन्छ । प्रशिक्षणको यस्तो विविधताका कारण स्पेनिस टोली अन्य युरोपेली प्रतिस्पर्धीको अनुमान विपरित उत्रन्छन् । टोली निर्माण बार्सीलोना र रियाल म्याड्रिडले करोडौँ बजेट खेलाडीका लागि खर्च गर्छन् । यता बाँकी रहेका क्लबहरुले निरन्तर रुपमा यी दुई क्लबलाई या विकल्पमा इङल्याण्डका धनी क्लबलाई खेलाडी बेच्छन् । यस क्लबका निर्देशकहरुले प्रशिक्षक परिवर्तन भएपनि कसरी क्लबलाई उत्कृष्ट बनाउने भनेर ध्यान दिइरहेका हुन्छ । परिणाम स्वरुप एथलेटिको बिल्बाओ र सेभिया अहिले पनि बलिया छन् । सेभियाका फुटबल निर्देशक मोन्सीलाई यसअघि नै लिभरपुल र बार्सीलोनाले भित्र्याउन चाहेका थिए । उनी युरोपमा चर्चामा नरहेका फ्रान्स, पोर्चुगल, युक्रेन र स्पेनकै साना क्लबबाट सस्तो मूल्यमा राम्रा खेलाडी चिनेर क्लबमा भित्र्याउँछन् । त्यस्तै एथलेटिको बिल्बाओले पनि पोर्चुगल र दक्षिण अमेरिकाबाट खेलाडीहरु किनेर ल्याउने गरेको छ । खेलाडी उत्पादन इंलिस प्रिमियर लिगका क्लबहरु खेलाडी किन्नमा पैसा खर्चन्छन् । तर स्पेनिस क्लबहरुको ध्यान खेलाडी उत्पादनमा हुन्छ । अहिले स्पेनमा एकेडेमीबाट आएका थुप्रै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ‘एकेडेमीबाट खेलाडी उत्पादन गर्न स्पेनिस टोलीहरुले निकै मेहिनत गरेका छन् ।’ स्पेनका प्रशिक्षक भिसेन्टी डेल बोस्क भन्छन् – ‘त्यहाँ प्रशिक्षणमा पनि सुधार गरिन्छ । यसका कारण स्पेनिस क्लबहरुले अन्तर्राष्ट्रिय जगत्मा राम्रो गरिरहेका छन् ।’

युरोपेली अनुभव स्पेनले युरोपा लिगमा पछिल्ला १० वर्षमा ६ पटक उपाधी जित्यो । बाँकी ३ पटक फाइनल खेलेर पराजित भयो । यस तथ्यले के बताउँछ भने स्पेनिस ला–लिगाका क्लबहरुले अन्य क्लबको तुलनामा धेरै युरोपेली प्रतियोगिता खेलेका छन् । स्पेनको एथलेटिको म्याड्रिडले पछिल्ला ५

वर्षमा सर्वाधिक ६३ वटा युरोपेली खेल खेल्यो । त्यस्तै रियाल म्याड्रिडले ६२, बार्सीलोनाले ५७, सेभियाले ५३, एथलेटिको बिल्बाओले ५२ र भ्यालेन्सियाले ४८ खेल खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप