सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वार्नर नायक बनेपछि हैदराबाद आइपीएल फाइनलमा

शनिबार, १५ जेठ २०७३, ०० : १४
शनिबार, १५ जेठ २०७३

नयाँ दिल्ली — कप्तान डेभिड वार्नरले अविजित रहँदै ९३ रन बनाएपछि सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा नवप्रवेशी गुजरात लायन्सलाई हैदरावादले ४ विकेटले पराजित गरेको हो ।

निकै रोमाञ्चक खेलमा १ सय ६३ रनको लक्ष्य पाएको हैदराबादले ४ बल बाँकी छँदा लक्ष्यलाई सफलतापूर्वक पछ्यायो । नायक बनेका वार्नरले मात्र ५८ बलमा ९३ रन बनाए । यसक्रममा उनले ११ चौका र ३ छक्का प्रहार गरे ।

म्यान अफ द म्याच घोषित वार्नरले योसँगै एउटा आइपीएल सिजनमा लक्ष्य पछ्याउँदा सबैभन्दा धेरै रन बनाउने किर्तिमान समेत बनाए । उनले यस सिजन ४६८ रन बनाएका छन् भने यसअघि रबिन उथप्पाले सन् २०१४ को सिजनमा ४५७ रन बनाएका थिए ।

हैदराबादका अन्य खेलाडी जम्न नसकेपनि अन्त्यमा आएका विपुल शर्माले वार्नरलाई राम्रो साथ दिए । उनले मात्र ११ बलमा २७ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भए ।

गुजरातका लागि शिभिल कौशिक र ड्वेन ब्राभोले २—२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । एरोन फिन्चले सर्वाधिक ५० रनको योगदान दिए भने ब्राण्डन म्याकुलमले ३२ तथा दिनेश कार्तिकले २६ रनको योगदान दिए । अन्त्यतिर आएका ड्वेन ब्राभे र रविन्द्र जडेजाले क्रमशः २० तथा १९ रन बनाए ।

हैदरावादका लागि विनय कुमार र बेन कटिङले २—२ विकेट लिए ।

अब हैदराबादले आइबार फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप