सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियललाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि

आइतबार, १६ जेठ २०७३, ०४ : ३४
आइतबार, १६ जेठ २०७३

मिलान — निकै तनावपूर्ण फाइनल खेलमा एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियल म्याड्रिड किर्तिमानी ११ औं पटक च्याम्पियन्स लिग विजेता बनेको छ ।

मिलानमा भएको फाइनलमा जुआनफ्रान पेनाल्टीमा चुकेपछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई तीन वर्षमा दोस्रो च्याम्पियन्स लिगको उपाधि दिलाए ।

सर्जियो रामोसको विवादास्पद गोलको मद्दतले रियलले खेलको १५ औं मिनेटमा नै अग्रता लिएको थियो । तर, खेल सकिन ११ मिनेट बाँकी छँदा अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका यानिक कारास्कोले गोल गर्दै खेललाई १—१ को बराबरीमा ल्याए ।

खेलको शुरुवातमा निकै राम्रो पकड बनाएको रियलमाथि पहिलो गोलपछि एथ्लेटिको हाबी देखिन्थ्यो । एथ्लेटिकोले रियलमाथि निरन्तर दबाब राखे पनि पहिलो हाफमा उल्लेख्य आक्रमण गर्न सकने । खेलको दोस्रो हाफमा भने एथ्लेटिकोले सुदृढ खेल प्रदर्शन गर्यो ।

तर, पेपेले फर्नान्डो टोरेसलाई लडाएपछि एथ्लेटिकोले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्नबाट एन्टोनी ग्रिजमान चुके । त्यसपछि पनि एथ्लेटिकोले निरन्तर रियलको पोष्टमा आक्रमण गरिराख्यो ।

उता, गेराथ बेलको प्रहार पनि गोललाइनबाट डिफेन्डरले जोगाए । त्यसको केही मिनेटमा नै एथ्लेटिकोले बराबरी गोल फर्कायो । थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो जसमा रियल भाग्यमानी ठहरियो ।

उपाधिसँगै रियलका प्रशिक्षक जिनेदिन जिदान खेलाडी र प्रशिक्षकका रुपमा च्याम्पियन्स लिग जित्नेहरुको सिमित सूचीमा थपिएका छन् । उनले सन् २००२ मा रियलबाटै खेल्दै च्याम्पिन्स लिग जितेका थिए । यता, कुनै समय ला लिगा र च्याम्पियन्स लिग जित्ने दुवै सम्भावना बोकेको डिएगो सिमिओनीको टोली भने उपाधिविहिन बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप