बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

भारतको हात्ती र नेपालको बाढीले त्रसित बनाएको टोल

आइतबार, १६ जेठ २०७३, १४ : १४
आइतबार, १६ जेठ २०७३

कञ्चनपुर– महाकाली नदीपारिको दोधारा–चाँदनी नगरपालिकाको शिवनगर टोल भारतीय हात्ती र जोगबुडाको बाढीले बर्सेनि सताइएको छ ।

शिवनगरमा रात परेपछि गाउँसँगै जोडिएको भारतीय जङ्गल नखाताल जङ्गलबाट कुन बेला हात्तीको लस्कर आउने पत्तो नै हुँदैन । स्थानीयवासी चन्द्र लोहार भन्छन्, “रात परेपछि भोलिसम्म बाँचिने हो कि होइन भन्ने चिन्ताले सताउँछ, रात परेपछि हात्तीको समूह भारतीय जङ्गलबाट गाउँमा आउँछ, कहिलेकाहीँ त बाघ, भालु, अर्ना समेत आउँछ ।”

एक वर्षअघि हात्तीको समूहले आक्रमण गर्दा स्थानीयवासी बलबहादुर थापाको मृत्यु भएपछि गाउँले थप आतङ्कित भएका हुन् । त्यसबेला हात्तीले आक्रमण गरी २६ घरसमेत भत्काइदिएका थियो । एकातर्फ हात्तीबाट आतङ्कित भएका टोलवासी वर्षामा जोगबुढा नदीको बाढीबाट थप पीडित हुन्छन् । प्रत्येक वर्ष जस्तो वर्षायाममा बाढी यो टोलमा पस्छ । टोलको पारिपट्टिको भागमा जोगबुडामा जालीतार बाँधिए पनि गाउँतर्फका भागमा त्यो सुरु नगरिएको गाउँलेको गुनासो छ ।

स्थानीयवासी बुद्धिदेवी सुनार भन्छिन्, “यताबाट हात्तीले सताउँछ, उताबाट जोगबुढाको बाढीले सताउँछ, हामी गाउँले सधैँभरि रोएरै बस्नुपर्ने भो ।” बडुवाल टोल समेत भनेर चिनिने यो गाउँमा १५० घरमा ६६९ जनाको बसोबास छ । विद्युत्को पहुँच नभएको टोलमा अधिकांश दलित समुदायको बस्ती छ । न्यून आय भएका गाउँलेको मुख्य आयस्रोत भारतमा गएर मजदुरी गर्ने र गाउँमा खेतीकिसानी गर्ने हो । गाउँलेको कच्ची घर भएका कारण हात्ती आएर घर भत्काइदिन्छ, लगाएका अन्नबाली खाइदिन्छ, कुल्चिदिन्छ । यो टोलबाट प्रवेशिका उत्तीर्ण गर्ने कोही नहुनाले पनि गाउँ आर्थिक र सामाजिक रुपमा पिछडिएको पुष्टि गर्छ ।

हात्तीले हानेर चालिस वर्षीय प्रेम क्षेत्रीको छ करङ भाँचिदियो । भारतको पिलिभित लगेर उपचार गरिए पनि पूर्ण रुपमा निको नभएपछि अहिले उनी अपाङ्ग जीवन जिउँदै पसल चलाएर गुजारा चलाइरहेका छन् । एउटा हात्ती आउँदासम्म त गाउँलेले केही मान्दैनन्, मिलेर लखेट्छन् तर कहिलेकाहीँ ५०÷६० को सङ्ख्यामा हुलका हुल हात्ती आउँदा उनीहरुसँग ज्यान जोगाउन भाग्नाको विकल्प हुँदैन ।

एकातर्फ लगाइएका गहुँ, मकै, धानजस्ता सबै अन्नबाली हात्तीले कुल्चने र खाएर नष्ट गरिदिने, अर्कातर्फ बाढीले बगाइदिने समस्याले गाउँलेको वर्षभरिको मिहिनेत खेर जाने र खाद्यान्न किनेर खानुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । केही समयअघि किसन थापाको घर पनि हात्तीले भत्काइदियो । अहिले भारत गई कमाएर ल्याएका पैसाले फेरि घर बनाउँदै गरेका थापा फेरि कुन दिन आएर भत्काइदिने हो भन्ने चिन्ताले पिरोलिरहेको छ । बुद्धि सुनार र सीता सुनारको घर भत्काइदिएपछि कमाएर फेरि भत्काएको घर बनाउने भन्दै भारततर्फ रोजगारीका लागि गएका छन् ।

सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाले हात्तीबाट बचाउन भन्दै केही महिनाअघि तीन साइरन गाउँलेलाई वितरण ग¥यो । अहिले हात्ती आउँदा सोलारबाट चल्ने सो साइरन गाउँलेले बजाउँछन् । यसले सबैलाई सतर्क बनाउँछ र क्षति हुनबाट बचाएको छ । परियोजनाका सहजकर्ता अमिर तिरुवा भन्छन्, “हामीले सुरुमा साइरन बजेपछि गाउँले सुरक्षित होऊन् र भाग्न सकून् भनेर जोडेका थियौँ तर पछि हात्ती आउँदा साइरन बजाएपछि त्यसको आवाजले हात्ती भाग्न थालेपछि दोहोरो काम भयो ।” पहिलेको तुलनामा अहिले हात्ती आउन कमी भएको छ तर दाँत भाँचिएको एउटा हात्ती अहिले पनि नियमित रुपमा गाउँमा प्रवेश गर्ने गरेको गाउँले बताउँछन् ।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रवीर विकले आफू यस क्षेत्रमा आयपछि सुरुआती केही महिना प्रत्येक दिन रातभर शिवनगर गाउँमा प्रहरी टोली गस्तीका लागि पठाउनुपर्ने बाध्यता रहेकामा अहिले केही घटेको बताए । उनले भने, “रात परेपछि हात्ती आयो आयो भनेर गाउँलेको फोन आइहाल्थ्यो, प्रत्येक दिनजसो एउटा टोली छुट्टै यही गाउँका लागि खटाउनुपर्ने बाध्यता थियो ।” कञ्चनपुरका प्रजिअ मोहनप्रसाद खनालले शिवनगर टोलमा हात्तीको आतङ्कबारे आफूलाई पनि जानकारी आएको भन्दै शुक्लाफाँटा आरक्ष र ताल नामक संस्थाको सहयोगमा भारततर्फबाट हात्ती आउने बाटामा तारबार गर्ने योजना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप