बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

१७ वर्षसम्म बेपत्ता परिवारको पीडा : भन्छन्– बलिदान केका लागि ?

आइतबार, १६ जेठ २०७३, १४ : २५
आइतबार, १६ जेठ २०७३

२०५६ जेठ ६ मा काठमाडौंको सुन्धारास्थित टेबहालबाट गिरफ्तारीमा परी १७ वर्षसम्म बेपत्ता पारिएका तत्कालीन नेकपा माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेकी श्रीमती शान्ता न्यौपाने र सँगै बेपत्ता पारिएका पत्रकार मिलन नेपालीकी श्रीमती सविता बस्नेत भन्छन्, ‘१७ वर्षदेखि श्रीमानको  बाटो कुरिरहेका छौं । रातोपाटीका लागि आस्था केसीको प्रस्तुति :

शान्ता न्यौपाने मेरो श्रीमान् २०५६ जेठ ७ गते काठमाडौंको सुन्धारास्थित टेबहालवाट गिरफ्तारीमा पर्नुभएको हो । उहाँलाई गिरफ्तार गरेको कुरा मैले भोलिपल्ट थाहा पाएँ र उहाँको खोजी तीव्र पारेँ । तर, उहाँलाई भेट्टाउन सकिनँ । चितवनको गीतानगर बस्थें । बच्चाहरू स–साना थिए । श्रीमान्को जीवनरक्षाका लागि काठमाडौं आएर अदालतमा मुद्दा दायर गरें । गिरफ्तारीमा परेपछि मैले उहाँलाई कहिल्यै देख्न पाइनँ । तर, उहाँलाई देखेँ भनेर एकजना प्रहरीकै मान्छेले खबर ल्याएको थियो । उहाँले लगाएको नीलो भेस्ट र हाफपाइन्टको कुरा गरेपछि मैले हो रहेछ भनेर पत्याएकी थिएँ । आँखामा पट्टी बाँधेर राखेको छ भनेर उसले सुनाएको थियो । एक हप्ताजति पछि उहाँलाई अन्तै सारियो भनेर उसैले खबर ल्याएको थियो । कहिले पोखरा, कहिले नुवाकोटको ककनी लगेको छ भनेर बेलाबेलामा खबर आउँथ्यो । पछि एकपटक उहाँलाई जन्डिस भएको रहेछ । उपचार गर्न भनेर पोखराबाट काठमाडौं ल्याएको रहेछ । मैले भेट्न नपाए पनि उहाँको खबर पाइरहन्थेँ । हाम्रा लागि त्यही सामान्य खबर पाउनु पनि लाख थियो । मारेकोचाहिँ रहेनछ । जीवित नै हुनुहुँदोरहेछ भन्ने लाग्थ्यो । उहाँ गिरफ्तारीमा परेको १७ वर्ष भइसक्यो । छोराछोरी हुर्किएर आफ्नो खुट्टामा उभिने भए । उहाँको कुनै खबर नपाएको वर्षौं बितिसकेको छ । तैपनि उहाँ जीवित हुनुहुन्छ, एक दिन फर्केर आउनुहुनेछ भन्ने आशामा बसेकी छु ।

सहिद र बेपत्ताको अपमान नेतालाई कठालोमा समात्न सकिँदोरहेनछ । उनीहरूले शान्तिप्रक्रियामा आएपछि बेपत्ता नागरिकको खोजीका लागि पर्याप्त पहल गरेनन् । पार्टीका नेताले जति गर्न सक्थे त्यति काम गरेनन् । राहतको पैसा बुझ्दा मेरो आत्मा जलेर आउँछ । हामीले आफ्ना मान्छे गुमाएको पैसाका लागि होइन तर सहिद र बेपत्ताको अपमान गरेजस्तो लाग्छ । जति पैसा दिने भनिएको थियो, त्यही पनि पूरा गर्न सकेनन् । केही नहुने गाउँका जनताका लागि १० लाख रुपैयाँ ठूलो रकम हो । यति पैसाले गाउँमा त एउटा घर नै पनि बनाउन सकिन्छ तर त्यो रकम एकैपटकमा नदिएर पटक–पटक कनिका छरेजस्तो गरेर दिइयो । त्यही पनि पूरै १० लाख दिएको छैन । त्यतिबेलाको सरकारले जनयुद्धका सहिद र बेपत्ता परिवारलाई असाध्यै क्षुद्र किसिमको व्यवहार गरेकोजस्तो मलाई लाग्यो । ठाउँ–ठाउँमा अन्य घटना पनि घटे, त्यहाँ एकैपटकमा १०÷१५ लाख पनि दिइयो तर त्यतिबेला हामीलाई दिनेवेलामा बजेट पुगेन भनेर जति भनेको त्यही पनि दिएन । बजेट अरू–अरू क्षेत्रमा कटौती गर्न पनि त सकिन्थ्यो तर गरिएन । जनयुद्धका घाइते, अपांग, सहिद बेपत्ताको भागबाट बजेट कटौती गर्दा हामीमाथि अन्याय भएको हो । सहिद, बेपत्ता हुनु पार्टी कामका लागि नै भएको हो । राजाको शासन फालेर गणतन्त्र ल्याउनका लागि हाम्रा आफन्त कोही सहिद भए । कोही बेपत्ता भए । कोही घाइते, अपांग भए । कसै न कसैले त यस्तो त्याग गर्नैपथ्र्याे । यसमा हाम्रो परिवारले पनि त्याग गर्नुपर्यो । यो गणतन्त्र प्राप्तिका लागि थियो । सबै नेपाली जनताका लागि थियो भन्ने सम्झेर ल्याउँदा पीडा होइन, गर्वबोध भएर आउँछ । तर, राज्यबाट जुन सम्मान हामीले पाउनुपथ्र्याे, त्यो पाउन सकेका छैनौँ । यहाँनेर पीडाबोध हुन्छ । सानीछोरी रोएको बेला जतिबेला पार्टी शान्तिप्रक्रियामा आएको थियो । सबै नेता आ–आफ्नो परिवारलाई भेट्न गएको देखेर मेरी सानीछोरी घोप्टो परेर रोएकी थिइन् । हाम्रो बुवा पनि बेपत्ता नभएको भए आज घर आउनुहुन्थ्यो है, आमा भनेर ऊ घुँक्कघुँक्क रोइन् । भूमिगत भएका सबै नेता खुला भएका थिए । आफ्ना परिवारसँग भेटघाट गर्नेबेला हामीलाई पनि सन्चो–बिसन्चो सोधिदिएको भए, खाएका छौ कि भोकै छौ भनेर सोधिदिएको भए बिग्रने के थियो र । यसरी छोरी रुँदा मलाई पनि रुन मन थियो तर म छोराछोरीका अघि रुन सकिनँ । बरु भैगो नरोऊ । हामीजस्ताका लागि पनि पछि केही गर्लान् नि भनेर सम्झाएकी थिएँ । तर, हामीले सोचेजस्तो केही हुन सकेन । अहिले गृहमन्त्री हाम्रै छन् । अरू के कुरा गर्नु ? सोधेको कुराको जवाफ पनि पाउन सकिएको छैन । नेताहरूले फलानो मेरो अंगरक्षक थियो । फलानो मेरो सुरक्षामा खटिएको थियो । त्यतिबेला हामी नेतालाई बचाउँदै गर्दा उसको शहादत भएको हो भनेर नेताले नभनिदिए हुन्थ्योजस्तो लाग्छ । ए तिमीलाई बचाउँदा पो मेरो छोरा, मेरो श्रीमान्को ज्यान गएको रहेछ हगि भनेर भन्दा रिस उठेर आउँछ । हाम्रो पार्टीका नेता पटक–पटक मन्त्री भए तर हामीलाई एउटा परिचयपत्र बनाइदिन सकेका छैनन् । सत्ताको घुमाउने कुर्सीमा गएपछि सबैले सबै कुरा बिर्सने रहेछन् । एक्लो जीवन बिताउन कति कठिन हुन्छ । कसलाई के सुनाउने के नसुनाउने पीडा भनेर साध्य छैन । कति दिन कति रात रोएर बिते यसको कुनै लेखाजोखा छैन । पार्टी फुट्ने बेला हामीलाई सबैभन्दा बढी पीडा भएको थियो । हाम्रा परिवारका सदस्यले के यसैगरी पार्टी फुटाउन बलिदान गरेका हुन् र ? सहिद, बेपत्ता, घाइते र अपांग बनाएर हामीलाई आज तानातान गर्ने, यस्तो अधिकार कसले दिएको हो, यी नेतालाई भनेर दिक्क लागेको थियो । बार्गेनिङ गरेर, कुर्सी, पदका लागि, भागबन्डाका लागि लडाभाँती गर्नका लागि हाम्रा घरका सदस्यले बलिदान गरेका हुन् र ? कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ गरेर पार्टी फुटेको थियो, त्यतिबेला हाम्रो आत्मा साह्रै रोएको थियो । तर, पार्टी एकता भएको छ । त्यसैमा खुसी लागेको छ । सविता बस्नेत मेरो श्रीमान् २०५६ जेठ ७ मा काठमाडौंको सुन्धारास्थित टेबहालबाट गिरफ्तारीमा पर्नुभएको हो । उहाँलाई गिरफ्तार गरेको कुरा मैले भोलिपल्ट थाहा पाएँ । उहाँको खोजी तीव्र पारेँ । तर, उहाँलाई भेट्टाउन सकिनँ । त्यसपछि आजसम्म मैले उहाँको बारेमा थाहा पाउन सकेकी छैन । उहाँ बेपत्ता भएको १७ वर्ष पुगिसक्यो । एक छोरा र एक छोरी छन् । त्यतिबेला म धापासी बस्थें । पछि म माइती इमाडोल ललितपुर बस्न थालेँ । अहिले पनि माइतीमै बस्छु । प्रहरीले नै उहाँलाई समातेर लगेको हो भन्ने मैले सुनेकी थिएँ । त्यसैले मैले आफन्तलाई लिएर सबैतिरका प्रहरी चौकी–चौकी चहार्न थालेँ । जहाँ गए पनि प्रहरीले उहाँलाई ल्याएको छैन भनेर भनेर टार्थे । मसँग बोल्नुपर्छ भनेर मुन्टो बटार्थे । तैपनि म उनीहरूकहाँ धाइरहेकी थिएँ । एक दिन बिहान म प्रहरी हेडक्वार्टर नक्साल गइरहेकी थिएँ । त्यो जेठ २७ गतेको दिन थियो । उहाँलाई हातमा हत्कडी लगाएर, आँखामा पट्टी बाँधेर ट्वाइलेट लगिरहेको परैबाट देखेँ । अनि हत्तपत्त गेटमा पुगेर मेरो श्रीमान्लाई यहाँ राखेको छ, भेट्न दिनुस् भनें तर गेटमा पहरा दिइरहेको प्रहरीले भेट्न दिने माथिको आदेश छैन । आज हाम्रो बैठक हुन्छ भोलि आउनू भनेर फर्काइदियो । म फेरि भोलिपल्ट पनि नक्साल प्रहरी हेडक्वार्टर गएँ । भोलिपल्ट पनि भेट्न दिएनन् । भोलि भोलि भन्दै तीन दिनसम्म झुलाइरह्यो । २९ गते तपाईंलाई भेट्न दिन मिल्दैन । के ल्याइदिनुभको छ, हामीलाई दिनुस्, हामी उहाँलाई दिन्छौं भन्यो । मिलन गिरफ्तारीमा परेको २२ दिनजति भएको थियो । मैले फेर्नका लागि लुगा लगिदिएकी थिएँ । त्यो प्रहरीलाई दिएँ । करिब आधा घन्टा जतिपछि उहाँले लगाएका मैला लुगा ल्याइदिए । पैसा माग्नुभएको छ भन्ने खबर पनि ल्याए । म सँग दुई सय रुपैयाँ थियो । त्यही दिएर पठाएँ । साबुन, लामखुट्टे भगाउने धुप माग्नुभएको रहेछ । त्यो पनि किनेर पठाइदिएँ । त्यही दिन बेलुकी त्यहाँबाट सारेर अन्तै लग्यो भन्ने खबर पाएकी थिएँ । कहिले पोखराको गणमा राखेको छ रे भन्नेखालका अपुष्ट खबर पत्रिकामा आउँथे । त्यसपछि न कहिल्यै भेट हुन सक्यो न त केही खबर नै पाउन सकेँ । कुनै दिन त फर्केर आउनुहुन्छजस्तो लाग्छ । यी १७ वर्ष मैले उहाँ आउने बाटो हेरेरै बिताएकी छु ।

कि सास देऊ, कि लास शान्तिप्रक्रिया शुरु भयो । पार्टी सरकारमा गयो । त्यतिबेला निकै खुसी लागेको थियो । अब मेरो श्रीमान्को बारेमा पार्टीले खोजिनिती गरिदेला भन्ने लागेको थियो । हामी बेपत्ताका परिवार यस्तै सोचेर खुसी भएका थियौं । हामीले कि सास देऊ, कि लास भनेर राज्यसँग वर्षौंदेखि आन्दोलन गरिरहेका थियौं । अब हाम्रो माग सुनुवाइ हुनेछ भनेर हामी खुसी भएका थियौं । मेरो श्रीमान् कुनै जेल या हिरासतमा हनुहुन्छ होला, अब उहाँको रिहा हुनेछ भन्ने लागेको थियो । राज्यले त्यसरी जनतालाई बेपत्ता बनाउन पाउँदैन भन्ने लागिरहेको थियो तर पार्टीले सोचेअनुरूप काम अगाडि बढाइदिएन । जुन पार्टीका लागि मेरो श्रीमान् बेपत्ता पारिनुभयो त्यही पार्टीले बेपत्ता नागरिकको खोजीका लागि कुनै पहल नथाल्दा निकै पीडाबोध हुने गर्छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा सहिद र बेपत्ता परिवारका लागि राज्यको तर्फबाट १० लाख दिने घोषणा भएको थियो । तर, त्यही १० लाख पनि पूरै पाउन सकिएन । पटक–पटक गरेर पाँच लाख दिएको छ । अरू पाँच लाख पाउन सकिएन । एकैपटक सबै दिएको भए राम्रो हुन्थ्यो । बाँकी रकम सेयरका रूपमा लगाउने कुरा भएको छ । त्यसलाई कहिले लागू गरिने हो थाहा छैन । बलिदान केका लागि पार्टी विभाजन हुँदा निकै दुःख लागेको थियो । के हाम्रा आफन्तको बलिदान पार्टी फुटाउनका लागि थियो र ? बीचमा पार्टीका नेताले हामीलाई तानातान पनि गरे । एउटाले मेरो पार्टीमा आऊ भन्छ, अर्कोले पनि त्यसै भन्छ, हामी कुनचाहिँलाइ नेता मानेर जाने अन्योलमा थियौं । अहिले पार्टी एकता हुँदा निकै खुसी लागेको छ । अब हाम्रा आफन्तले देखेको सपना पूरा हुन्छ कि भनेर आशावादी छौं । सहिद बेपत्ताका सपना पूरा भएका छैनन् । तिनका सपना पूरा गर्न पार्टी एकढिक्का भएर लागोस् । सहिद बेपत्ताका परिवारको आँसु आँखामै सुकेको छ । यसरी उनीहरू आउलान् कि भन्ने रित्तो आशामा हामी कतिन्जेल बसिरहने ? कमसेकम बेपत्ताको स्थिति के छ खोजी गरियोस् । हामीलाई कि सास चाहियो कि लास ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप