बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बजेटको कार्यान्वयन पक्ष चुनौतिपूर्ण

आइतबार, १६ जेठ २०७३, १५ : ५३
आइतबार, १६ जेठ २०७३
चितवन–यहाँका उद्योगी व्यवसायी र राजनीतिक दलका जिल्लास्थित नेताले सरकारले हिजो प्रस्तुत गरेको बजेट समग्रमा राम्रो रहेपनि कार्यान्वयन पक्ष चुनौतिपूर्ण रहेको बताएका छन् । जिल्लाका कतिपय व्यवसायीले बजेटले तल्लो तहका जनतालाई छुन नसकेको तथा बजेटले प्रभाव पार्ने किसिमको खासै कुनै कार्यक्रम पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बजेटले धेरै कुरा सम्बोधन गरे पनि औद्योगिक कोरिडोर र पर्यटन क्षेत्रलाई सम्बोधन गर्न नसकेको उनीहरुको भनाइ छ । उद्योग वाणिज्य सङघ चितवनका अध्यक्ष राजन गौतमले कृषि क्षेत्र र पोल्ट्री क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु उपलब्धिपूर्ण भएको बताए । बजेट आफैंमा लोकिप्रय रहेको तर कार्यान्वयन चुनौतिपूर्ण रहेको उनको भनाइ छ । आफूहरुले चितवनलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग अन्तिम समयसम्म पनि सरोकारवाला निकायसमक्ष राखेको तर त्यसको सुनुवाइ नभएको बताए । चितवन उद्योग सङ्घका अध्यक्ष भीमबहादुर पाण्डेले औद्योगिक एक्सपो सेन्टर स्थापनाका लागि सरकारले बजेटमार्फत सम्बोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उद्योग सङ्घकै पहलमा भरतपुरमा एक्सपो सेन्टर निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले बजेट सरसर्ती हेर्दा सकारात्मक देखिए पनि सार पक्ष हेर्दा वितरणमुखी देखिएको बताए । पुँजिगत खर्च नबढ्ने र चालु खर्च मात्रै बढ्ने हुँदा समस्या आउनसक्ने उनको बझाइ छ । राजस्व लक्ष्य भन्दा बढी लिइएको भन्दै उनले भूकम्प र नाकाबन्दीका कारण उद्योग व्यवसाय प्रभावित भएकाले सम्भावना कम रहेको बताए । उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले सरकारले जलविद्युत्, सडक, सरसफाइ जस्ता पूर्वाधार विकासमा लिएको लक्ष्य राम्रो रहेको भए पनि तल्लो तहका जनताले लाभ पाउनेमा शङ्का व्यक्त गरे । बजेटले ग्रामीण र गरिब जनतालाई छुन नसक्ने हो कि भन्ने उनको चिन्ता छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडीले बजेट राम्रो भएको भन्दै कार्यान्वयन गर्न नसके प्रभावित हुने बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले बजेटले पर्यटन क्षेत्रलाई छुन नसकेको बताए । “पर्यटन क्षेत्रको विकास हुन नसके राजस्व कसरी बढ्छ,” उनले प्रश्न गरे । सरकारले बजेटमा चितवनको पोल्ट्रिलाई प्राथामिकतामा राखेकोमा व्यवसायीले खुसी व्यक्त गरेका छन् । यो कसरी अघि बढ्छ हेर्न बाँकी रहेको भन्दै कार्यान्वयनमा जोड दिन उनिहरुले माग गरेका छन् । पोल्ट्रि व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले कार्यान्वयन पक्षमा सरकारले कति प्राथमिकतामा राखेर काम गर्छ हेर्न बाँकी रहेको बताउनुभयो । यता राजनीतिक दलले पनि बजेटका सम्बन्धमा मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बजेट प्रचारमुखी भएको भन्दै जनतालाई राहत भन्दा आहात बढाउने खालको बजेट सरकारले ल्याएको बताए । महँगी बढ्ने र यसको मार तल्लो तहका जनतालाई प्रत्यक्ष रुपमा पर्ने उनको भनाइ छ । नेकपा एमाले चितवनका अध्यक्ष जगनाथ थपलियाले बजेट सामाजिक तथा आर्थिक रुपान्तरणमा कोसेढुङ्गाको रुपमा उभिएको भन्दै यसले सामाजिक सुरक्षा, दीर्घकालीन उद्योग व्यापार र अन्य विविध पक्षमा प्रभाव पार्ने हिसाबले सकारात्मक बजेट भएको बताए । कार्यान्वयन पक्षमा जोड दिनुपर्ने उनको सुझाव छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियारले आफ्नो पार्टी सरकारमा रहेकाले सकारात्मक भन्नुपर्ने अवस्था रहे पनि अब महंगी बढ्ने र त्यसको प्रभाव तल्लो तहका जनतालाई पर्ने बताए । “तल्लो वर्गलाई समेट्न बजेट चुकेको छ” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप