बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

आठ महिनादेखि अछाममा सामाजिक सुरक्षाभत्ता पाएनन्

आइतबार, १६ जेठ २०७३, १६ : ५४
आइतबार, १६ जेठ २०७३

अछाम– जिल्लामा सामाजिक सुरक्षाभत्ता बापतको रकम पाउने कुनै पनि नागरिकले केही महिनादेखि पाएका छैनन् ।

हरेक चौमासिकमा वितरण हुँदै आएको सामाजिक सुरक्षाभत्ता बापतको रकम अन्तिम अर्थात् तेस्रो चौमासिक आइसक्दासमेत जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला, दलित, बालबालिका लगायतले पाएका छैनन् । आठ महिनादेखि सामाजिक सुरक्षा बापतको रकम आफूहरुले नपाएको जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला र दलित बालबालिकाका अभिभावकले गुनासो गरेका छन् ।

तीनवटा नगरपालिका तथा ५५ गाविसमा रकम उपलब्ध गराइएको छैन । स्थानीय नागरिकले आफूहरुले गत वर्षको कात्तिक महिना पछिको सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो गरेका छन् । “कात्तिकदेखि हालसम्मको भत्ता पाएका छैनौँ,” मङ्गलसैन नगरपालिका–६ का कामनिराम भण्डारीले भने ।

यस्तै सामाजिक सुरक्षाभत्ता नपाउँदा आफ्नो छाक गुजारा चालाउन अफ्ठ्यारो भएको दुर्गम ढकारी गाविसकी स्थानीयवासी सुर्जा बढाले बताए । ज्येष्ठ नागरिकले आफूहरुका लागि सरकारले दिने भनेको औषधोपचार खर्च बापतको रकम नपाएको गुनासो गरेका छन् ।

जिल्लामा दलित ज्येष्ठ नागरिक ६ हजार ४२०, अन्य ज्येष्ठ नागरिक सात हजार ८३६, एकल महिला सात हजार ९४२, पूर्णअपाङ्ग ६५, आंशिक अपाङ्ग १७३, बालबालिका १४ हजार ९४१ र उपचार खर्च बापतको रकम पाउने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक ११ हजार ५३२ रहेका छन् ।

जिल्ला विकास समितिले दोस्रो चौमासिकमा सामाजिक सुरक्षाभत्ता बाँड्दा जिल्लालाई करिब रु आठ करोड ४६ लाख २२ हजार ९५० बराबरको रकम अपुग भएका कारण सामाजिक सुरक्षाभत्ताको रकम वितरण गर्न नसकिएको जनाएको छ । हाल जिल्लालाई रु १६ करोड ८९ लाख ७२ हजार रकम प्राप्त भएको जिविसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप