बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

केडिया अपहरण काण्डपछि सीमा क्षेत्रका व्यावसायी त्रसित

मङ्गलबार, १८ जेठ २०७३, १२ : २२
मङ्गलबार, १८ जेठ २०७३

इटहरी –गत बिहीवार बाराको बरियारपुरबाट अपहरणमा परी भारत पुर्याइएका केडिया अर्गनाइजेसनका सदस्य सुरेश केडिया १० करोड रुपैयाँ फिरौती बुझाएर अपहरणमुक्त भएको खबरले भारत तथा नेपालमा तहल्का मच्चायो । नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उनलाई अपहरणमुक्त गरिएको भनिएपनि उनले १० करोड फिरौती बुझाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । जसरी भएपनि केडिया ज्यान जोगाउन सफल भएका छन् । तर भारतीय सीमा क्षेत्रका व्यावसायी यो प्रकरणपछि त्रसित बनेका छन् । बिशेष गरी पूर्वको मोरङ्ग सुनसरीमा सञ्चालित उद्योगका सञ्चालकहरु केडिया अपहरण काण्डबाट त्रसित बनेका हुन् । सुनसरी र मोरङ्गका बिभिन्न स्थानका उद्योगका संञ्चालकहरु बस्ने आवास भारतीय सीमा जोगबनीदेखि केही किलोमिटर नजिक पर्छ । बिशेष गरी मोरङ्गमा सञ्चालित बिभिन्न उद्योगका सञ्चालक जोगबनी नाकाबाट १० किलोमिटर आसपासका क्षेत्रमा बस्ने गर्छन् । कतिपय व्यवसायीको काम सीमा क्षेत्रमा पर्ने भएका कारण पनि उनीहरु असुरक्षित छन । सुनसरी मोरङ्गमा कस्ता छन् व्यवसायी ? बिशेष गरि सुनसरी मोरङ्ग औद्योगिक करिडोरमा जुट, खाद्य पदार्थ, चाउचाउ, जस्तापाता रडलगायत उत्पादन हुने पाँच सय बढी उद्योगहरु यहाँ छन् । नेपालमा नै प्रतिष्ठित व्यवसायीहरु बिराटनगर बस्ने गर्छन् । नेपालमा नाम चलेका एशियन थाई फुडका संञ्चालक महेश जाजु, बिशाल ग्रुपका जगदिश अग्रबाल, रिलायन्सका बाशु गोल्यान, चम्पालाल राठी, गोल्छा अर्गनाइजेशनका दिनेश गोल्छा, अबिनाश बोहोरा, काबरा ग्रुपका नवल किशोर काबरा, मुरारका ग्रुपका प्रदिप मुरारका आदी बिराटनगर क्षेत्रमा वसोबास गर्ने गरेका छन् । यी व्यवसायीहरुले औसतमा अर्बौको कारोबार गर्ने गर्छन् ।

के भन्छन् व्यवसायी ? केडिया अपहरण काण्डले पूर्वका व्यवसायी सँगसगैै समग्र सबै क्षेत्रका व्यवसायीमा मानसिक तानाव बढ्नु स्वभाबिक पनि हो । नेपालमै पनि व्यवसायीहरु चन्दा आतंक, बाल्कमेलिङ, बन्द हडतालका कारण उनिहरुमा पछिल्लो समयमा तानव बढेको देखिन्छ । निर्बाध रुपमा व्यवसाय गर्न वातावरण अझै नबनेको व्यवसायीको गुनासो छ । गोल्छा अर्गनाइजेसनका दिनेश गोल्छाले केडिया अपहरण काण्डले देशैभरका व्यवसायीमा त्रास उत्पन्न भएको बताए । सीमा क्षेत्रका व्यवसायीमा सुरक्षा चुनौती देखिएको बताउदै गोल्छाले सरकार सचेत हुनु पर्नेमा जोड दिए । ‘जोगवनी नाका बिहारसँग जोडिएको कारण पनि हामी त्रसित छौ, हामी व्यवसाय गर्ने मान्छेको सुरक्षामा सरकारले सोच्नु परयो’, उनले उनले थपे, ‘बिहारमा फेरिपनि हत्या, अपहरण तथा फिरौतीको घटना बढन थालेका छन् । उघोग संगठन मोरङका अध्यक्ष शिव शंकर अग्रबालले खुल्ला सिमाको प्रमुख कारण असुरक्षित महसुस हुन थालेको बताए । भारतीय सबारीको चाप सीमामा बढेको बताउँदै अग्रबालले त्यस्ता सबारीमा पनि कडाई गर्नु पर्ने बताए । ‘बिहारमा कानुनी व्यवस्था कमजोर भएको कारण पनि सीमा क्षेत्रमा रहेर व्यवसाय गर्नेहरुलाई डर पैदा भएको छ’, उनले भने, ‘सरकारले सिमाको सुरक्षा अबस्था मजबुद बनाउन सक्नु पर्छ ।’ केडिया अपहरण काण्डपछि उद्योग संगठन मोरङले सीमाको अबस्था र व्यवसायीको सुरक्षाको सबालमा प्रजिअ, शसस्त्र र जनपद प्रहरीका प्रमुखलाई भेटेर जानकारी गराईसकेको पनि अग्रबालले जानकारी दिए । ‘देशको सबै नागरिकको सुरक्षा सरकारले गर्ने हो तर, व्यवसायीले पनि आफु सचेत भएर हिडनु पर्छ’, आग्रबालले भने । मोरङ व्यापार संघका अध्यक्ष एवम सभाषद पवन कुमार सारडाले पनि व्यवसायीमा डर त्रासको माहोल बनेको बताउदै तराई क्षेत्रका खुल्ला सिमाका कारण असुरक्षित महसुस भएको बताए । केडिया अपहरण काण्डमा नेपाली अपराधीको पनि संलग्नता देखिएको बताउँदै सारडाले आफूहरु नेपालमै पनि सुरक्षित नभएको बताए । संसदमा पनि व्यवसायीको सुरक्षाको विषयमा आवाज आफूले उठाउने उनको भनाई छ । अध्यक्ष एवम सभाषद सारदाले प्रहरीको सहकार्यमा (रुट टाइमिङ) को व्यवस्था गरिएको बताउदै उद्योगबाट निवास आउने जाने समयमा प्रहरीले सुरक्षा व्यवस्था मिलाएको बताए । कति सुरक्षित छन ? दैनिक करोडौँको कारोबार गर्ने व्यवासायीहरु सिमा देखि नजिक रहेर व्यवसाय गर्दा उनिहरु कति सुरक्षित छन् भन्ने प्रश्न अब उठ्न थालेको छ । उनीहरुले आफ्नो निजी निवास देखि लिएर निजी कार्यालय प्रायः बिराटनगरमा राख्ने गरेका छन् । कतिपय व्यवसायीलाई भारतीय क्षेत्रबाट रकम असुलीको धम्की पनि आउने गरेको छ । सीमाको हिसाबले हेर्ने हो भने अति धेरै असुरक्षित छन् व्यवसायीहरु । जोगबनी नाका बाहेक अन्य धेरै खुला सीमाका कारण पनि अपराधिक सोच भएको व्यक्तिहरु खुलेरै नेपाल प्रबेश गर्न सक्छन् । सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई पनि यो बिषय चुनौतिपूर्ण बन्ने गरेको छ । खुल्ला सिमाको चुनौति मोरङ्ग र सुनसरीका खुला सीमाका कारण यहाँ अपराधिक क्रियाकलाप बढी हुने गर्छ । अबैध साना हतियारको ओसारपसार देखि नेपालमा अपराध गरेर भारतीय भुमी प्रबेश गरेका घटना धेरै छन् । ३ बर्ष अघि सुनसरीको भोक्राहाका एक ७ बर्षिय बालकको अपहरण गरेर भारत पुर्याइयो । जसमा फिरौती रकम बुझाउन नसक्दा बालकको हत्या गरिएको शव भारतीय भूमिमा फेला परेको थियो । यस्तै एक व्यवसायीलाई बिराटनगरमा भारतीय मोटरसाइकलमा आएका दुइजनाको समुहले गोली प्रहार गरी गम्भीर घाइते बनायो । पछि गोली प्रहार गर्ने समुह भारतीय सिमाबाट फरार भए । एक व्यवसायी बिराटनगरबाट अपहरण पछि प्रहरीको सहयोगमा अपहरणमुक्त भए । यस्तै सनसरी र मोरङ्ग प्रहरीले भारतबाट ल्याइएको अबैध साना हतियार कारोबारी गर्ने धेरैलाई पक्राउ गरिसकेको छ । भारतीय क्षेत्रबाट आएकाहरुले नेपालमा लुटपाट गर्ने घटना पनि छन् । सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुलाई पनि भारतीय व्यक्तिको जानकार नहँुदा कयौ सबारी साधन नेपाल आउने जाने गर्छन् । के उहेश्यले नेपाल प्रबेश गरे भन्ने कुरा अनुहारबाट यकिन हुन्न । सिमामै कडा चेक जाँच नहुँदा पनि नेपालमा अपराध गरेर लुक्ने नेपाली सीमावर्ती भारतीय भुमि आश्रय स्थलको रुपमा विकास हुँदै गएको देखिन्छ । के भन्छ प्रहरी ? प्रहरीले पनि केडिया अपहरण काण्ड पछि सिमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रमुख एवम् डिआईजी केशरीराज घिमिरे बिरगञ्जको अपहरण काण्ड पछि पूर्वको सिमा क्षेत्रमा अर्लट जारी गरिएको बताए । ‘प्रहरी सचेत छ, व्यवासयीको सुरक्षामा हाम्रो नयाँ रणनिति लागू भइसकेको छ’ घिमिरेले भने । सीमा क्षेत्रमा शसस्त्र र जनपद प्रहरीले शंकास्पद व्यक्तिको निगरानी बढाएको बताउदै व्यवसायीको सुरक्षामा प्रहरी सचेत रहेको डिआईजी घिमिरेले बताए । खुल्ला सिमामा पनि सादा प्रहरी परिचालन गरिएको बताउँदै अपराध गरेर कुनै पनि अपराधी अब भारतीय भूमि भाग्न नसक्ने घिमिरेले दाबी गरे । सिमा क्षेत्रमा शसस्त्र र जनपद प्रहरीको संख्या पनि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप