बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राजनीति डर्टी गेम होइन: नायिका  रूष्मा राई

बुधबार, १९ जेठ २०७३, १३ : १३
बुधबार, १९ जेठ २०७३

‘‘राजनीति भनेको मानव शरीर जस्तै हो, संसारमा ईश्‍वरका सुन्दर संरचनाहरूमा मानव शरीरलाई सबैभन्दा श्रेष्ठ अनि सुन्दर मानिन्छ| तर जब मानव शरीरभित्र शैतानी आत्माले प्रवेश गर्दछ त्यतिबेला त्यही सुन्दर मानव सबैभन्दा घृणित बन्दछ| त्यस्तै आज राजनीतिमा शैतानी आत्माहरूको प्रवेशले गर्दा राजनीतिलाई घृणित डर्टी गेम बनाएको छ|’’

सन् २००७  साल २१ दिसम्बरको  दिन नेपालको चोभारमा  सिक्किमेली छोरी रूष्मा राईले स्टन्टको किर्तिमान बनाएर नेपाली चलचित्रको इतिहासमा एउटा नयॉं अध्याय लेख्न सफल भइन्| ‘मिशन लभ् इन् सिक्किम’ -को सुटिङमा उनले १२० फीटमाथि उड्दै गरेको हेलिकम्टरबाट बिना सुरक्षा हाम फालेर नेपाली चलचित्रमा स्टन्टको किर्तिमान बनाएर स्टन्टलाई नै बृहत चर्चामा ल्याएकी थिइन्| नेपालबाट राजन राईको निर्देशनमा बनिएको उनको अर्को चलचित्र ‘दृष्टि’ अहिले प्रिमियरको लागि विश्‍वव्यापी उड़ानमा लागेको छ|

विशेष गरि समाज विकासमा कालकारहरूको भूमिबारेका उनीसित कुरा गर्दा केही चर्चा साथै निक्कै तर्क-विर्तक पनि भएको थियो| त्यही तर्क-विर्तकमा कुरा निस्कियो अहिले उनी आफ्नै एउटा पुस्तक लेख्दै रहिछन्| उनीसित भएका कुराकानीको केही अंश यहॉं प्रस्तुत छ:

प्रश्‍नः  समाज विकासमा चलचित्रका कलाकारहरूको भूमिका कतिको आवश्यक छ?

रूष्माः समाज विकासमा चलचित्रका कलाकारहरूको भूमिका अति नै आवश्यक छ अनि महत्वपूर्ण भूमिका निर्वाह पनि गरिरहेका छन्|

प्रश्‍नः कसरी?

रूष्माः हेर्नुहोस्! अहिलेको युगमा चलचित्र भनेको जनचेतनाको सशक्त माध्यम हो| तर कतिपक्षले यसलाई यस्तो सशक्त माध्यमलाई फ्यातुलो बनाएको छ| यसैले यसलाई हेर्ने आँखा र मानसिकतामाथि पनि धेरै कुरा निर्भर रहँदछ| सामाजिक साथैै राजनैतिक क्षेत्रमा भएका विकृति, विसङ्गति, शोषण, भ्रष्टाचारहरू नै चलचित्रका लागि प्रायः मूल विषय वस्तु हुन्छन्| जनचेतनाको सशक्त माध्यम कसरी भन्दा साधारण रूपमा नै हेर्नुहोस् एचआईभी/एडस्, महिला उत्पीडन, दाइजो, देह व्यापारको स्रोत र यसको रोकथाम, राजनैतिक हिंसा-भ्रष्टाचारका कुराहरूलाई चलचित्रबाट कलाकारहरूले सामाजिक जनचेतना फैलाउने काम गरिरहेका छन्|

कुरा गर्दै उनी रोक्किँन्दैन र अझ भन्छिन्, ‘‘अझ कलाकारहरूले आफ्नो ठाउँलाई प्रचार गर्नमा ठूलो भूमिका निर्वाह गर्छन्| चलचित्रमा आफ्नो ठाउँको कला, संस्कृति, सामाजिक जनजीवनलाई देश-विदेशमा प्रचार गर्छन्| यस्तो प्रचार पर्यटनको क्षेत्रमा प्रभावकारी साबित भएको छ| बाहिरतिर अर्न्तवार्ता लिँदा गर्वसहित आफ्नो ठाउँको नाम लिन्छन्| उदाहरणको  रूपमा कुरा गर्ने हो भने मलाई बाहिरतिर कहिँ पनि अर्न्तवार्ता लिँदा सबैभन्दा पहिला सिक्किमको भन्न गर्व लाग्छ| कलाकारहरूले चलचित्रको माध्यमबाट सधैं समाजलाई राम्रो  सन्देश दिँदै आइरहेका छन्|’’

प्रश्‍न : नेपालमा तपाईंलाई साहसी नायिका भनिन्छ| एकजना साहसी नायिकाको हैसियतमा तपाईलाई सामाजिक विकासका लागि कुन कुन माध्यमबाट काम गर्न राम्रो लाग्छ?

रूष्मा : सामाजिक विकासका लागि काम गर्ने थुप्रै माध्यमहरू छन्| तर सबैभन्दा बलियो र प्रभावकारी माध्यम भनेको राजनीति हो|  समाज र राजनीतिको सम्बन्ध हाड़ र मासुको जस्तै हो| सामाजिक विकासका धेरै कुराहरू राजनीतिबाट नै समाधान हुनसक्छ| समाजमा भइरहेका विभिन्न जटिल समस्याहरूलाई समाधान गर्न राजनीतिकै मञ्चबाट नै उठाउन सकिन्छ| त्यस्ता समस्याहरू राजनीतिदेखि बाहिरबाट उठाउन सकिँदैन र यसैले राजनीति नै उपयुक्त माध्यम हो| सामाजिक क्षेत्रमा पनि काम गर्ने धेरै माध्यमहरू छन्, तर कयौं समस्याहरूले जकडिएको समाजलाई हेर्दाखेरि नै मलाई राजनीतिको क्षेत्रबाट काम गर्न मनपर्छ|

प्रश्‍न ः हिजोआज चलचित्रका धेरै कलाकारहरू राजनीतिमा आउँदै जॉंदै गर्छन् अनि धेरै कलाकारहरू साथै प्रायः सबैले राजनीतिलाई घृणित खेल अर्थात डर्टी गेम भन्छन्| यस्तो खेल तपाईलाई कसरी मनपर्छ?

रूष्मा ः राजनीति डर्टी गेम होइन| राजनीति भनेको सत्ता संचालन गर्ने देश अनि समाजका लागि पोलिसी बनाउने एउटा सिस्टम अर्थात व्यवस्था हो| सिस्टम छैन भने कुनै कुराको अस्तित्व रहन्छ? राजनीतिलाई सकारात्मक  रूपमा लिनुपर्छ| राजनीति बिनाको समाज कस्तो हुन्छ तपाईं कल्पना गर्नुहोस्| यो कुरा मैले तपाईंलाई पहिला पनि भनेकी हो| मैले लेख्दै गरेको मेरो पुस्तकमा यसबारेमा केही छोएकी छु| राजनीतिसित त हामी सबै जोडिएका  छौं| अब कुरै कुरामा भन्ने हो भने मेरो विचारमा सिङ्गो मानव शरीर र राजनीतिलाई तुलना गर्न सकिन्छ| राजनीति भनेको मानव  शरीर जस्तै हो, संसारमा ईश्‍वरका सुन्दर संरचनाहरूमा मानव शरीरलाई सबैभन्दा श्रेष्ठ अनि सुन्दर मानिन्छ| तर जब मानव शरीरभित्र शैतानी आत्माले प्रवेश गर्दछ त्यतिबेला त्यही सुन्दर मानव सबैभन्दा घृणित बन्दछ| त्यस्तै आज राजनीतिमा शैतानी आत्माहरूको प्रवेशले गर्दा राजनीतिलाई घृणित, डर्टी गेम बनाएको छ| राजनीतिमा टीम वर्क हुनुपर्छ| जस्तै क्रिकेटमा एकजना खेलाड़ीले म्याच फिक्सिङ गरे सम्पूर्ण टीमलाई दाग लाग्छ| त्यस्तै राजनीतिमा पनि एउटाले भ्रष्टाचार गरे सबै नै मुछिन्छन्|’’

प्रश्‍न : तपाई कस्तो पुस्तकहरू पढ्नुहुन्छ?

रूष्मा : मलाई जीवन संघर्षले भरिएका अटोबायोग्राफीहरू पढ़्नु मनपर्छ अनि प्रायः यस्तै नै पढ़्छु| यसबाट जीवनमा संघर्ष गर्ने प्रेरणाहरू मलाई धेरै मिलेको छ| म सानोमा कमिक्स्हरू पढ्दा पनि यस्तै खालको पढ्थे|’’

प्रश्‍न ः राजनीति मनपर्छ भन्नुहुन्छ| अब भन्नु होस् कलाकारको नजरबाट सिक्किममा कस्तो कस्तो समस्या देख्नु भएको छ?

रूष्मा : समस्याकै कुरा गर्नु हो भने सिक्किममा आर्थिक समस्या भने त्यस्तो गम्भीर देखिएको छैन| सिक्किममा विकास  भएको छ| यसैले सिक्किमेली जनता सेल्फ रिलायन्स अर्थात आत्मनिर्भर बन्दैछन्| सिक्किमको पर्यटन व्यवसाय बढ्दै गइरहेको छ| जसको कारण सिक्किममा दुर्गम क्षेत्रहरूका  गाउँ-बस्तीतिर पनि होम स्टे, भिलेज टुरिजमहरूको संख्यामा वृद्धि भइरहेको छ| यसले आर्थिक विकास भइरहेको छ| अन्य ठाउँहरूतिर जस्तो यहॉं दुःख गर्नु परेको छैन| तर सामाजिक समस्याहरू बढ्दै गइरहेको छ| महिला उत्पी़ड़न, ड्रग्स जस्ता समस्याहरूले  दिनदिनै घेरिरहेको छ| यसका साथै  बेला बेलामा यहॉं देहव्यापार समेत बढ्दैछ  भन्ने  समाचार मिडियाहरूबाट सुन्छौ| यस्ता समस्याहरू सिक्किमेली समाजलाई गम्भीर चुनौती हुन्| सिक्किममा विकास भयो  पैसा पनि भयो अनि यसका साथै मानसिक विकास पनि हुन आवश्यक छ| लिभिङ स्ट्यार्ण्डड (जीवन स्तर) अमेरिकनको जस्तै भएपछि मानसिकता पनि विकास हुनुपर्छ| बिना कारण मान्छेलाई बदनाम गर्ने, हिलो छेप्ने मानसिकता त्याग्नु पर्छ|

प्रश्‍न : राजनीतिमा प्रवेश गर्न इच्छुक हुनुहुन्छ?

रूष्मा : राजनीतिसित त हामी सबैनै जोड़िएका छौं| अहिले  हामी सामाजिक राजनीतिमा छौं| मैले अघि नै भने नी समाजमा विकास गर्नु र समस्याहरूलाई निवारण गर्नु हो भने पावर पोलिटिक्समा संलग्न हुनैपर्छ| विकासको सहि जरिया भनेको यही नै हो| म आफू कलाकार साथै साधारण नागरिक भएको हुनाले समाज विकासको  काममा सहभागी बन्नु मेरो कर्त्तव्य हो| कलाकारको आँखाले हेर्छु गर्न पर्ने कामहरू धेरै बॉंकी छन्| यसैले समाजको लागि काम  गर्न सधैं उत्सुक रहन्छु| सामाजिक काम गर्नलाई हल्ला गर्नु पर्दैन, तर काम चाहिँ गर्नुपर्छ| मलाई राजनीति मनपर्छ भन्छु, म साथै म जस्ता युवाहरू क्रिएटिभ, पोजिटिभ, थिङ्क ट्याङ्क भएर राजनीतिमा सहभागी हुनु अहिले समयको माग हो|

प्रस्तुति : दार्जलिङबाट  सञ्जय प्रधान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप