मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धौलागिरी हिमालको पर्यटन सम्भावनको अध्ययन

बुधबार, १९ जेठ २०७३, १८ : ५१
बुधबार, १९ जेठ २०७३

म्याग्दी-म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा पहिलोपटक जिल्लाको सर्वपक्षीय टोली पुगेको छ ।

जिल्ला विकास समितिको सहयोग र धौलागिरी पर्यटन परिषद् म्याग्दीको संयोजनमा धौलागिरी आधार शिविर क्षेत्रमा ‘पर्यटनको सम्भावना, समस्या र चुनौती’का बारेमा स्थलगत अध्ययनका लागि सर्वपक्षीय टोली आधार शिविर पुगेको हो ।

जेठ ११ गते सदरमुकाम बेनीबाट आधार शिविर हिँडेको टोली पाँच दिनमा चार हजार ७०० मिटर उचाइमा रहेको धौलागिरी हिमालको आधार शिविर पुगेर मङ्गलबार फर्किएको छ । टोलीले तिन दिनसम्म धौलागिरी हिमालको आधार शिविरमै बसेर त्यसक्षेत्रका बारेमा अध्ययन गरेको थियो ।

आठ दिनको यात्राका क्रममा टोलीले आधार शिविरसम्म पुग्न पदमार्गको अवस्था, खान र बसोबासको स्थिति, आधार शिविर क्षेत्रमा थुप्रिएको फोहर व्यवस्थापनलगायत विषयमा अध्ययन अनुसन्धान गरेको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । बेनीबाट १७ जना मुदीबाट चार जना, बगर र दोभानबाट एक÷एक जनासहित दुई जना भरिया गरी कुल २५ जनाको टोली आधार शिविरको यात्रामा निस्किए पनि जम्मा नौ जनामात्रै आधार शिविर पुगेका थिए । प्रतिकूल मौसम र शारीरिक अस्वस्थताका कारण टोलीमा सहभागी अन्य भने आधार शिविर नपुगीकनै फर्किएका थिए ।

पाँच दिन लामो पदयात्रामार्फत धौलागिरी आधार शिविर पुगेका एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठले यस क्षेत्रमा पर्याप्त पर्यटन सम्भावना देखिए पनि पदमार्ग, पुल, आकस्मिक उद्धारका लागि सेल्टरलगायतका पूर्वाधार बनाउन आवश्यक रहेको बताए । अध्ययन अवलोकनका क्रममा बेनीदेखि चौथो दिनको पदयात्राका क्रममा पुगिने इटाली बेस क्याम्पदेखि स्वीस क्याम्पसम्मको बाटो निकै जोखिमपूर्ण रहेको पाइएको थियो ।

त्यसभन्दा माथि जापानिज क्याम्प हुँदै धौलागिरी आधार शिविरसम्म नै हिउँको चट्टानमाथि हिँड्नुपर्ने भएकाले त्यस क्षेत्रमा पक्की पदमार्ग बनाउन सम्भव नभएकाले बर्सेनि पदमार्ग मर्मत गरिरहनुपर्ने स्थानीय पर्यटन व्यवसायी एवम् टोलीका पथप्रदर्शक हरिप्रसाद तिलिजाले बताए ।

तिलिजाले भने, “अहिले बर्सेनि एक हजार ५०० को हाराहारीमा पर्यटक यस क्षेत्रमा आउँछन्, पदमार्गलगायतका पूर्वाधार नहुँदा धेरैजसो पर्यटक हेलिकप्टरमार्फत सिधै आधार शिविर पुग्न बाध्य छन् ।” टोलीले यस क्षेत्रको पर्यटन विकासका लागि आवश्यक प्रचारप्रसारसँगै पर्यटन पूर्वाधार निर्माणलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

धौलागिरी हिमालको आधार शिविरमा पुग्ने पर्यटकले जथाभावी फोहर फ्याँक्ने प्रचलनले यस क्षेत्रमा बढेको प्रदूषणको समेत टोलीले अध्ययन गरेको गैसस महासङ्घका अध्यक्ष हरिप्रसाद पौडेलले बताए। टोलीमा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप