मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धौलागिरी चक्रिय पदमार्गको सम्भाव्यता अध्ययन

बिहीबार, २० जेठ २०७३, ०८ : ४४
बिहीबार, २० जेठ २०७३

म्याग्दी  – म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी चक्रिय पदमार्गको पर्यटकीय सम्भावनाको बारेमा सम्भाव्यता अध्ययन गरिएको छ ।

धौलागिरी पर्यटन विकास परिषद्को नेतृत्वमा बेनीदेखि आधार शिविरसम्म पुग्ने पदमार्गको अवस्था र सम्भावनाको विषयमा स्थलगत अध्ययन गर्न गएको टोली बुधबार सदरमुकाम फर्किएको छ ।

जेठ ११ गते बेनीबाट गएको टोलीले धौलागिरी आधार शिवीर सम्म पुगेर त्यहाँको सम्भावना, पुर्वाधारको अवस्था र चुनौतीको विषयमा अध्ययन र स्थानीय बासीन्दासँग अन्तरक्रिया गरेको हो ।

५५ वर्षअघि सफल आरोहरण भएको धौलागिरी हिमाल र त्यस क्षेत्रको पर्यटन सम्भावनाको बारेमा पहिलो पटक अध्ययन गरिएको हो । टोलीमा राजनितिक दल, सरकारी कार्यालय, गैरसरकारी संस्था, पत्रकार र पर्यद्धनसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो । धौलागिरी आधार शिवीर पुग्ने पदमार्ग, आवास लगायत पुर्वाधारको अवस्था, पर्यापर्यटन, त्यसको विकासका लागि गर्न सकिने पहल, फोहोर र वातावरणीय असरको बारेमा अध्ययन गरिएको परिषद्का सचिव घनश्याम खड्काले बताए ।

जिविसको तिन लाख र गैरसरकारी संस्था लिवर्डको ५० हजार रुपैया सहयोगमा अध्ययनमा गएको टोलीले जिविसलाई प्रतिवेदन बुझाउने जनाएको छ । अध्ययनका क्रममा धौलागिरी हिमाल र पदमार्गको प्रचुर पर्यटन सम्भावना देखिएको धौलागिरी पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाले बताए ।

धौलागिरी हिमाल आरोहरण, लामो पदयात्रा अवधि, सडकले असर नगर्ने, प्राकृतिक सौन्दर्यता, पर्वतीय दृश्य अवलोकन, झरना, प्राकृतीक तातोपानी कुण्ड, साहशीक यात्रा पदमार्गको आकर्षण रहेको बानियाको भनाई छ ।

भौगोलिक विकटता, पुर्वाधार र प्रचारप्रसारको कमीका कारण धौलागिरी पदमार्ग ओझेलमा परेको टोलीमा सहभागि गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । धौलागिरी क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग, झोलुङ्गे पुलको निर्माण, संकेत चिन्हको ब्यवस्था, आधार शिवीरमा आश्रय स्थल, होटल तथा लज सञ्चालन, सञ्चार सुविधा विस्तार, फोहोर ब्यवस्थापनमा प्राथमिकता दिनुपर्ने टोलीमा सहभागिहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप