बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुर्गाको दोहोरो दायित्व

बिहीबार, २० जेठ २०७३, १४ : २१
बिहीबार, २० जेठ २०७३

जन्म त दुर्गा नेम्बाङले पाँचथरको पौवा सारतापमा लिएका हुन् । तर, ब्रिटिस आर्मी बाजे हर्कवीर नेम्बाङले हालको धरमपुर झापामा झोडा फाँड्ने अख्तियारी पाएका थिए । त्यसैले बुवा डम्बरबहादुर पनि बाजेलाई सघाउन धरमपुरमै झरे । त्यसैले संवत् २०३१ मा दुर्गाको जन्म हुँदा दिदीमात्रै थिइन्, सुत्केरी आमा नाबालक भाइको स्याहारसुसारका निम्ति । जन्मेको दुई÷तीन वर्षपछि दुर्गासहित अन्य परिवारको बसाइँ सराइ धरमपुरमै भयो । उनले त्यहीँकै लक्ष्मीनारायण निमावि (हाल उच्चमावि) बाट प्रारम्भिक शिक्षा लिएका हुन् । तोपगाछीको महेन्द्र माविमा आठ कक्षामा भर्ना भएपछि उनमा फिल्मी लत लागेको हो । स्कुल जाने निहुँमा हिँड्दैहिँड्दै टाढाटाढासम्म फिल्म हल पुग्नु दिनचर्या नै बनेको थियो । एसएलसी गरेपछि दुर्गाले मेची बहुमुखी क्याम्पस भद्रपुर आईएल अध्ययन गर्न पुगेका थिए । आईएल पढ्नु त लहडबाजी थियो । त्योभन्दा बढी त उनलाई फिल्मी तथा मिडिया क्षेत्रमै काम गर्ने इच्छा थियो । तर, इच्छा एकातिर पढाइ अर्कोतिर हुनु त्यसबेलाको नियति नै थियो । त्यसबेला कपाल पालेका, बलिया पाखुरा भएका ‘हिरो’को बिगबिगी थियो । त्यसैले दुर्गाहरू पनि क्याम्पसे जीवनमा हिरोको नक्कल गरेर, साइकलमा कपाल फहराएर दौडने गर्थे । अनि केही समय कराँते सिकेर सानोतिनो झैभगडामा पनि एक्सन ताक्नु सामान्य नै हुन्थ्यो । कराँते खेलमा निरन्तरता दिएका उनी नेपाल सितोरियो कराते ब्ल्याक बेल्ट फस्र्ट डन २०५५ पनि हुन् । फिल्मी सपना पालेका दुर्गाको जीवनमा यी कुरा त सामान्य भए । साइकलबाटै चलचित्र हेर्न पूर्वी तराईका धेरै सहर चाहरेका छन् । दसैँ तथा नयाँ वर्षको उपलक्ष्यमा गाउँभरिका खाट जम्मा गरेर मञ्च बनाउँदै नाटक देखाउन काम पनि गरेका थिए । नाटककै सिलसिलामा पूर्वका सबै सहर र काठमाडौँसम्म पुगेका थिए । पहिलो भूमिका क्ल्यापसँगै २०४८ मा उनले पहिलोपटक अभिनय गर्न पाए– चलचित्र ‘आजको आतंक’मा । सुरज सुब्बाद्वारा निर्देशित चलचित्रमा सँगै अभिनय सिकेका साथीहरूको संगतमा पुगेका थिए । चर्चित मूर्तिकार विक्रमश्रीद्वारा खोलिएको पूर्वाञ्चलकै पहिलो अभिनय केन्द्र कलाश्री प्रतिष्ठानमा उनीहरूले कक्षा लिएका थिए । चलचित्र क्षेत्रका लागि जे पनि गर्ने मनसायले गर्दा नै सानो भूमिका गरे, क्ल्याप पनि पड्काए । त्यसपछि उनले देउमाईको किनारमा २०५०, धुन २०५०, तुम्दङ (लिम्बू) २०५१, नातेदार २०५७, खुकुरी २०५७, माया गर्छु म २०५७, नुमाफुङ २०५७, माझीदाइ २०५८, आमाको काख २०६१, लभ इन चाइना बोर्डर २०६९ आदिमा अभिनय गरे । निर्देशनतर्फ ज्यादा मन चलचित्र क्षेत्रमा अभिनयमात्र गर्छु भनेर उनी आएका थिएनन् । निर्देशक बन्ने उनको महत्वपूर्ण सपना थियो । त्यसैले उनी सहायक निर्देशनतर्फ पाइला चाले । २०५० मा बनेको देउमाईको किनारमा चलचित्रमा सहायक निर्देशनमा हात हाले । त्यो क्रम धुन २०५०, तुम्दङ (लिम्बू) २०५१, जय माँ सताक्षी २०५२, त्रिपासा २०५३, खुकुरी २०५७, नुमाफुङ २०५७, माया गर्छु म–२०५७, माझीदाइ २०५८, छालुम्मा (याक्खा भाषाको पहिलो चलचित्र) २०६०, आमाको काख २०६१, क्याबिन गर्ल २०६१, एउटै भूल २०६३, अरुणपूर्व लिम्बुवान २०६३, लिम्बुवान २०६७, लभ इन चाइना बोर्ड २०६९, रिफ्युजी २०७२ आदि चलचित्रका सहायक निर्देशन गरिसकेका छन् । उनको सोलो निर्देशनमा बनेको चलचित्रचाहिँ किराँत लिम्बू मिथकमा बनेको नेपाली फिल्म ‘खापुना मुरङना’ हो । त्यसपछि भर्खरै हिन्दी चलचित्र ‘ब्याक टु ड्याड’ संयुक्त निर्देशन गरेका छन् । त्यसो त असम्बन्धित २०६३, पानीघट्ट २०६९, कथा खोज्दै जाँदा २०७१ आदि लघुचलचित्रको निर्देशनसमेत गरिसकेका थिए । पूर्वी भारतीय चलचित्रमा पनि उनी पूर्वी भारतीय चलचित्रमा पनि राम्रै छाएका छन् । त्यो हुनका कारण त्यहाँका स्थापित निर्देशक बैजु सिंहको ठूलो सहयोग छ । उनकै सहयोगमा माँवेर आँचल (सादरी, भारत), आयोकर आशीर्वाद (बंगाली–भारत), मोर दिदीर त्याग (बंगाली–भारत), नङ्नी अन्नायो (आसामिस–आसाम), आशीर्वाद (सादरी–भारत) आदि चलचित्रमा सहायक निर्देशन गरेका छन् । यस वर्ष भारतीय निर्देशक प्रभात कुमारसँगै काम गर्ने मौका पाए, फिल्म ‘ब्याक टु ड्याड’ मा । उनी सुटिङ सकेर भर्खरै फर्किएका छन् । मुुम्बई, पुना, सिक्किम र सिलिगुडीमा फिल्मको सुटिङ भएको थियो । दुर्गाले सुनाए, ‘५२ दिनको सुटिङ भर्खरै सकियो, केही महिनापछि फिल्म रिलिज तयारी भइरहेको छ ।’ फिल्मले टिनएजर्सको आवेग र त्यसले निम्त्याउने गम्भीर दुर्घटनालाई फिल्मले बोलेको छ । फिल्ममा सिक्किमे चेली कल्पना भट्टराई मुख्य भूमिकामा छिन् । कल्पनाको अपोजिटमा चाहिँ मुम्बईका मासुम सिंहको अभिनय छ । भारतको युनिभर्सल कम्पनीसँग चिनजानका कारण दुर्गाले फिल्म निर्देशनको अवसर पाएको सुनाए । यसअघि सानो लगानीका साना भारतीय फिल्म निर्देशनको अनुभव दुर्गासँग थियो । ‘त्यही अनुभवले अर्को अवसर मिल्यो,’ उनले सुनाए । युनिभर्सलले सञ्जय दत्तलाई लिएर फिल्म बनाउने तयारी गरिरहेको छ । त्यसमा समेत अवसर पाएको दुर्गाले बताए । तालिमबाट खारिएका दुर्गा दुर्गा धेरै भन्दा धेरै तालिम तथा प्रशिक्षणमा सहभागी भएका व्यक्ति हुन् । कलाश्री प्रतिष्ठान, इटहरीबाट सुरु प्रशिक्षणयात्रा स्तानिलाभंस्की अभिनय प्रविधि (प्रज्ञाप्रतिष्ठान २०५२), सातदिने आदिवासी चलचित्र कार्यशाला २०६४, ग्रामर अफ फिल्म मेकिङ कार्यशाला २०६७, दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला सन् २०१२, नेसनल वर्कसप अन कपिराइट फर फिल्म इन्डस्ट्री प्रोफेसनल सन् २०१२, तेस्रो राष्ट्रिय चलचित्र कार्यशाला २०६९, कम्युनिटी बेस फिल्म मेकिङ वर्कसप २०१२, स्क्रिप्ट राइटिङ वर्कसप अन इन्डिजिनर्स नेसनालिटिज फिल्म वर्कसप २०१३, टेन डेज फिल्म मेकिङ वर्कसप २०१४, वर्कसप अन डिजिटल फिल्मिङ २०१४, एजुकेसनल रेड नेपाल २०१४, (स्रोत व्यक्ति– जस्टिन ओ, निल एन्ड इभान एजेर्टोन अथोराइज्ड, अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५ आदि छन् । पत्रकारिता र संघ–संस्था चलचित्र र मिडिया समानान्तर क्षेत्र हुन् । त्यसैले उनी पत्रकारिता क्षेत्रमा पनि केही समय काम गरे । २०४८ मा ‘नौलो मुस्कान’ मासिकको प्रकाशक अनि २०५२ मा ‘मधुशाला’ मासिकको सहसम्पादकको भूमिकासमेत निर्वाह गरेका छन् । उनी संघ–संस्थामा सक्रिय छन् । ती संघ–संस्थामा पनि चलचित्र क्षेत्रकै बढी छन् । जस्तो नेपाल चलचित्र निर्देशक समाजको दुई कार्यकाल कार्यसमितिमा रहिसकेका छन् । त्यसैगरी, चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्वन समिति सदस्यमा तीनपटक नियुक्त पाएका थिए । नेपाल चलचित्र युवा मञ्च २०६९ को संस्थापक उपाध्यक्ष, मनोहरा प्रगतिनगर सुधार समाज २०७१ को संस्थापक महासचिव, अल नेपाल सिनेवर्कस एसोसिएसन २०६९, २०७१ का सदस्य, लिम्बुवान राष्ट्रिय चलचित्रकर्मी संघ २०६८, २०७१ का संस्थापक उपाध्यक्ष र लिम्बू कलाकार समाज नेपाल २०७१ का संस्थापक महासचिव पनि हुन् । लहलहैमा विदेश पनि दुर्गा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । तर, त्यहाँ काम भने गरेनन् । कराँते सिकेका समूहलाई एउटा राम्रो सेक्युरिटी कम्पनीमा जागिर दिने सर्तमा मलेसिया पुर्याइएको उनीहरूलाई सर्तविपरीत काम लगाउने बुझेर उनीहरूले काम नगरेका हुन् । उनीहरूले तत्काल देश फर्काउन धर्ना कसे । उनीहरू फर्किए र सर्तविपरस्त काम लगाउन खोज्ने म्यानपावरलाई टेबल ठोकेरै पैसा असुल गरेका थिए । अबको योजना दुर्गा चाँडै चलचित्र निर्देशन गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि विभिन्न विषयका स्क्रिप्ट अध्ययन गरिरहेका छन् । निर्माण गर्नेहरू जुन विषयका चलचित्रमा लगानी गर्न इच्छुक हुन्छन्, त्यस्तै चलचित्र निर्देशन गर्न सक्ने निर्णयमा पुगेका छन् । यति लामो समयसम्म गरेको काम, सिकेको सीपलाई भरपूर प्रयोग गरेर राम्रा चलचित्र दिने उनको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप