बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साना उद्योगी बजेटप्रति असन्तुष्ट

बिहीबार, २० जेठ २०७३, १४ : ५९
बिहीबार, २० जेठ २०७३

काठमाडौं – साना उद्यमीले नयाँ वजेटप्रति असन्तुष्टी व्यक्त गरेका छन् । राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड घरेलु तथा साना उद्योग र झण्डै पाँच लाख परिवार आश्रित भएको लघु उद्यमको बारेमा स्पष्ट कार्यक्रम बिना नै बजेट आएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीमा आयोजित कार्यक्रममा व्यवसायीले साना तथा लघु उद्यम क्षेत्रलाई वेवास्ता गरेर ल्याइएको वजेटले ६ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न सम्भव नभएको वताए । महासंघका अध्यक्ष सुरेश प्रधानले उद्योग मन्त्रालय अन्तरगत विनियोजित ७ अरब ५ करोड मध्ये ठुलो हिस्सा औद्योगिक क्षेत्र र पूर्वाधार विकासमा खर्चहुने र बजेटको अत्यन्तै सानो अंश मात्रै घरेलु तथा साना उद्योग विभाग र विकास समिति मार्फत खर्चहुने परम्परागत प्रणालीभन्दा माथि बजेट उठ्न नसकेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले बजेट वक्तव्यमा पटक पटक निर्यात प्रवद्र्घन गर्ने वाक्य प्रयोग भएतापनि निर्यातमुखि उत्पादन बृद्धिमा जोड दिने व्यवस्था र निर्यातलाई प्रोत्साहन गर्न निर्यात प्रोत्साहन सूविधालाई यथावत राखिएको गुनासो गरे । उनले भूकम्प र त्यसपछिको नाकाबन्दीको मारमा परेका लघु घरेलु तथा साना उद्यमीहरूको पुनःउत्थान विषेश कार्यक्रम बिना सम्भव नहुने भन्दै यस क्षेत्रका लागि विषेश कार्यक्रम ल्याउन महासंघले आग्रह गरेपनि बजेटले बेवास्ता गरेको बताए । यस्तै, ‘लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार, दिगो, आत्मनिर्भर र समृद्ध अर्थतन्त्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशन तथा २०औं केन्द्रिय महिला उद्यमी सम्मेलन जेठ २४ र २५ गते राजधानीमा सम्पन्न हुने सो कार्यक्रममा जानकारी दिइयो । महाधिवेशनमा ६७ जिल्लाका ३८७ केन्द्रिय प्रतिनिधिहरु र महिला उद्यमी सम्मेलनका २५४ प्रतिनिधिहरु सहभागि हुदैछन । महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीनवर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप