बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बागलुङमा स्वास्थ्य बिमाको तयारी

बिहीबार, २० जेठ २०७३, १५ : २४
बिहीबार, २० जेठ २०७३

बागलुङ– नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्न बागलुङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुन लागेको छ । आव २०७०÷७१ मा सरकारले बागलुङसहित तीन जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको घोषणा गरे पनि लागू हुन ढिलो भएको हो । बिमा कार्यक्रम लागू हुने बागलुङ दोस्रो जिल्ला हो । यसअघि कैलालीमा सुरु भई सर्वसाधारणले उपचार सेवासमेत लिन थालेका छन् । नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले कैलालीपछि दोस्रो चरणमा बागलुङमा कार्यक्रम सुरु गर्न लागेको हो । आगामी असार १५ गतेबाट बिमाको सदस्यता वितरण गरिने र भदौ १ गतेबाट सदस्यहरुलाई सेवा प्रवाह गरिने समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिनुभयो । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँच बढाउने लक्ष्य लिइएको निर्देशक लोहनीको भनाइ छ । जिल्लामा अहिले स्वास्थ्य बिमाको अवधारणाबारे जनसाधारणलाई जानकारी गराउन प्रचारात्मक कार्यक्रम भइरहेका छन् । समितिले सरोकार भएका पक्षहरुसँग छलफल, अन्तक्र्रिया सञ्चालन गरिरहेको छ । जिल्लास्थित सरकारी स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिइएको छ । बिमा लागू भएपछि पाँच जनासम्मको परिवारले वर्षको रु दुई हजार ५०० तिर्नुपर्नेछ भने वर्षमा रु ५० हजारसम्मको सेवा निःशुल्क लिन पाइने व्यवस्था छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने बताइएको छ । “बर्सेनि रु दुई ५०० तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकम पछि फिर्ता हुँदैन”, लोहनीले भन्नुभयो – “सरकारले निःशुल्क दिने औषधिबाहेक कार्यक्रमले तोकेका औषधि खरिद गर्दा १५ प्रतिशत रकम सदस्य स्वयम्ले तिर्नुपर्ने व्यवस्था छ ।” सदस्यले नजिकको प्राथमिक स्वास्थ्य केन्द्र र त्यहाँ सम्भव नभए अन्य सरकारी अस्पतालबाट उपचार सेवा पाउनेछन् । उपल्लो स्तरको अस्पतालमा जान प्राथमिक स्वास्थ्य केन्द्र वा सेवा लिएको स्वास्थ्य संस्थाले ‘रिफर’ गर्नुपर्नेछ । अति विपन्न परिवारलाई योगदान रकममा छुटको समेत व्यवस्था गरिएको छ । रकम तिर्नै नसक्ने अति विपन्न परिवारले सरकारले दिएको गरिब परिचयपत्र ल्याए निःशुल्क रुपमा सदस्यता दिइने प्रावधान छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नै सदस्य बनेका परिवारका ४० वर्षभन्दा माथिका व्यक्तिलाई वर्षमा एक पटक स्वास्थ्य जोखिम परीक्षण सेवा पनि उपलब्ध गराइने भएको छ । यस कार्यक्रमबाट प्रायः सबै खाले स्वास्थ्य समस्याको उपचार हुनेछ । ‘कस्मेटिक सर्जरी’, कृत्रिम अङ्ग राख्ने, तोकिए बाहेकका दाँच उपचार, कृत्रिम गर्भाधान, गर्भपतन जस्ता सेवा उपलब्ध नहुने बताइएको छ । बिमाले नागरिकलाई बिरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्ने पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेलले बताउनुभयो । सबै नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच पु¥याउन सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको उहाँको भनाइ छ । सबै जिल्लामा बिमा कार्यक्रमलाई विस्तार गर्ने सरकारी योजना छ । स्वास्थ्य बिमाबाट गरिब, विपन्न परिवारका नागरिकले लाभ लिने सक्नेछन् । बागलुङपछि इलाममा बिमा कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप