बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खाडीमा पैसा कमाउन सजिलो रहेनछ: मनोज गजुरेल

शनिबार, २२ जेठ २०७३, १२ : २०
शनिबार, २२ जेठ २०७३

हाँस्यब्यङ्य कलाकार मनोज गजुरेल युएईका नेपाली श्रमिकहरु बस्ने बिभिन्न क्याम्पहरुमा 'दुई थोपा हाँसो' नामक हास्यब्यङ्य कार्यक्रम प्रस्तुत गरेर नेपाल फिर्ता भएका छन् । उनी यो कार्यक्रम लिएर दोश्रो पटक युएई आएका हुन । यही सेरोफेरोमा रातोपाटीका लागि बिनोद श्रेष्ठ र मेघराज सापकोटाले युएईमा गरेको कुराकानी:

प्रश्न: “दुई थोपा हाँसो” कस्तो कार्यक्रम हो ? - यो कार्यक्रम स्वास्थ्य र हाँस्यब्यङ्य म्रिश्रित श्रमशील नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि समर्पित कार्यक्रम हो । अन्तरराष्ट्रिय श्रम संगठनको सहयोगमा हामीले खाडी तथा मलेसियामा कार्यरत श्रमिकहरुको लागि निशुल्क रुपमा यो कार्यक्रम आयोजना गरेका हौ । हामीसँग योग गुरु डा. राजु अधिकारी र हाँस्यब्यङ्य कबि टंक आचार्य पनि हुनुहुन्छ । हामी अघिल्लो पटक जनवरी महिनामा कतार र मलिसिया पनि पुग्यौ । हाँस्यब्यङ्य, प्रहसनसहित योग शिक्षा, सकारात्मक सोच र अभ्यासलाई प्रोत्साहन गर्ने उत्प्रेरणात्मक प्रस्तुति लिएर हामी दोश्रो पटक युएई आएका हौ ।

प्रश्न: खाडी र मलेसियामा नै किन ? - हेर्नुस्, देश धानेको नै रेमिटेन्सले हो । कुल ग्राहस्थ उत्पादनको झण्डै ३० प्रतिशत रेमिटेन्सले थामेको छ । यी खाडीमा पसिना बगाउने श्रमिकहरु त अब हाम्रो अन्नदाता नै हुन भने पनि फरक नपर्ला । तपाईं गाउँघरमा हेर्नुस् त, प्रत्येक घरमा कोही न कोही सदस्य बिदेश गएकै छन । घरको खर्च, स्कुल कलेजको फी तथा अन्य खर्च सबै खाडी र मलेसियामा पसिना बगाएर कमाएको पैसाले नै धानेको छ । तिनै जनता हुन जो दैनिक ३ वटा बाकसमा कोचिएर नेपाल फर्किन्छन । उनिहरुको खुशी र स्वास्थ्यको ख्याल राख्नु हाम्रो पनि कर्तब्य हो ।

प्रश्न: युएईको भ्रमण कस्तो रहयो ? - हाम्रो यो दोस्रो भ्रमण अबिस्मरणिय रहयो । हामीले कुनै खुला रङमन्चमा र होटलमा कार्यक्रम गरेनौ । वास्तविक श्रमिकहरु बस्ने र काम गर्ने ठाउँमा हामी उपस्थित भएर कार्यक्रम देखाउन पाउनु खुशीको कुरा हो । युएईको दुर्गम जस्तो लाग्ने अल घैलमा त हामी श्रमिकहरु बस्ने क्याम्पमै गयौ । दुबईको जब अल अली, अलखोज र अज्मान भन्ने ठाउँहरुमा जहाँ उनीहरु बस्छन त्यही पुगेर दुई थोपा हाँसो बाड्यौ ।

प्रश्न: मनोज गजुरेलको कार्यक्रममा श्रमिकहरुको उपस्थिती कम थियो भन्ने पनि सुनियो । के उपस्थिती कम भएकै हो त ? - हामीले कुनै रङशालामा कार्यक्रम गरेका हैनौ । जहाँ जती कामदार बस्छन त्यही गएर हामीले आफ्नो प्रस्तुती दियौ । धेर थोर भन्ने प्रश्नै आउँदैन । अल घैलको श्रमिक क्याम्पमा १०० जना जती हुनुहुन्थ्यो भने जब अल अली र अल खोजमा ५०० को हाराहरीमा । हाम्रो सन्देश एक जना श्रमिकलाई बाड्न पायौ भने पनि हामी त खुशी हुन्छौं ।

प्रश्न: तपाईं त नेपाली श्रमिकहरु बस्ने क्याम्प पनि पुग्नु भयो, वास्तविक श्रमिकहरुलाई पनि भेट्नु भयो । कस्तो लाग्यो ? - ४५ /५० डिग्रीको घामको तातोमा काम गर्न पक्कै पनि सजिलो छैन । उनिहरुले काम गरेको ठाउँ देख्दा मेरो आफ्नो देशको स्वाभिमान निहुरेको अनुभब गर्थे । नेपालमा श्रीमती र बालबच्चा छोडेर पैसा कमाउन सजिलो रहेनछ भन्ने आफ्नै आँखाले देख्न पाएँ । त्यसैले पनि म जस जसको श्रीमान वा अन्य आफन्त नातागोता बिदेशमा हुनुहुन्छ, उहाँहरुले पसिना बगाएर कमाएको पैसाको नेपालमा सदुपयोग होस् भन्न चाहन्छु । फुर्मासी नगरौ भन्न चाहन्छु किन कि खाडीमा पैसा कमाउन सजिलो रहेनछ । मैले ८ बर्ष अगाडि देखेको सपना जस्तै हाम्रो देशमा पनि युएईका कामदार ल्याएर काम लगाउने दिन कहिले आउछ होला जस्तो सोचाइ आउथ्यो ।

प्रश्न: त्यस्तो दिन आउँछ त ? - त्यस्तो दिन आउँदै आउँदैन भनेर त भन्दिन । गरे के हुन्न र? तर अहिलेको नेपालको राजनिती हेर्दा भने आशा गर्ने ठाउँ पनि छैन ।

प्रश्न: तपाईं राष्ट्रबादी कि भारतबादी ? - (लामो हाँसो) हेर्नुस्, भारतसँग हाम्रो पुरानो सम्बन्ध छ । साँस्कृतिक र पारिवारिक सम्बन्धले पनि हामी भारतसँग नजिक छौ । भारतको बिरोध गर्दैमा राष्ट्रभक्ती वा राष्ट्रबादी भईने हैन । तर पनि नेपालको ट्रेन्ड त्यस्तै त्यस्तै छ । हामीले छिमेकी राष्ट्रहरु भारत र चीनसँग सन्तुलित भएर सम्बन्ध कायम राख्नु पर्दछ । भारतले पनि हाम्रो चाहना बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।

प्रश्न: अन्त्यमा युएईबासी श्रमिकहरुलाई के भन्न चाहनु हुन्छ ? - बिशेषगरी हामीलाई माया गर्नुहुने सबै श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई म र सिस्नोपानीको तर्फबाट धन्यवाद भन्न चाहन्छु । एनआरएन युएईले कार्यक्रमको संयोजन गरेर हामीलाई नेपाली श्रमिकहरु बस्ने क्याम्पहरुमा पुर्याएको छ । उहाँहरु पनि धन्यवादको पात्र हुनुहुन्छ । त्यसैगरी एनआरएन युएईलाई सहयोग गर्ने झापाली समाज युएई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई पनि धन्यवाद भन्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप