बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युवा कवि : जसलाई राज्यले बहिस्कार गर्यो, परिवारले ‘पागल’को डर देखायो

शनिबार, २२ जेठ २०७३, १२ : ३५
शनिबार, २२ जेठ २०७३

म पोर्टरलाई पनि

एकपल्ट तेन्जिङहरुको उचाई टेक्ने रहर त छ एकपल्ट हिलारीहरुको उचाई टेक्ने रहर त छ बनेर साधन कसैको बोकेर एक मानव अस्तित्व पराजित योद्धा झैँ फेदीबाटै फर्किने मन छैनपोर्टर बा, छम गुरुङ तपाईँलाई लाग्ला यो कविता कुनै ‘पोर्टर’ले लेखेको हो । तर होइन । एउटा त्यस्तो कविले लेख्यो जसका पिता ४५ वर्षदेखि निरन्तर हिमाल पारी मनाङका बस्ती तिर पर्यटकका भारी बोक्दैछन् । त्यस्तो कविले लेख्यो जो आफ्नो बाल्यकालभरी आफ्नै राष्ट्रिय भाषासँग डरायो । जसको जिब्रोले राष्ट्रिय भाषा उच्चारण गर्नै जान्दैनथ्यो । गोरखाको उत्तरी र अति बिकट क्षेत्र सिङ्लामा जन्मिएका कवि छम गुरुङले आफ्ना पिताको सम्मानमा लेखेको कविता हो यो । गुरुङ त्यस्तो ठाउँमा जन्मिए जहाँ २०७२–बैशाख १२ को भुकम्पपछि महिनौँसम्म राहत पुगेन । राहत बाँड्न जाने नेपालीहरुले समेत दोभाषे प्रयोग गरे । काठमाडौंबाट जाने राहत बितरक त्यहाँको गुरुङ भाषा जान्दैनथे । त्यहाँका गुरुङहरु नेपाली भाषा बुझ्दैनथे । हो, त्यही पहराको कापबाट निस्केको जबर्जस्त कवि हो छम गुरुङ ।

‘पैतालामुनी भएर पनि काठमाडौं नकुल्ची उतै गाउँ जाँदैछु आँखैमा बसेर पनि नहेरी लुकाएर काठमाडौं छोपी लैजाँदैछु डेराको ताल्चा नाइटोमै छोडी काठमाडौं चाबी चैँ लिई गाउँ पस्दैछु’

०० भलै उनलाई फ्यानका फोन आउँदैनन् । सामाजिक सन्जालमा उनी हिट छैनन् । काठमाडौंका रुमानी गोष्ठीमा कविता कण्ठस्त सुनाउन सक्दैनन् । ताली किन्न सक्दैनन् । तर यति हो, कवितामा उनी इमान बेच्दैनन् । बेचेका छैनन् अहिलेसम्म । जे भोग्यो त्यही विषयमाथि कविता लेख्छन् छम । ‘कम्तिमा देखेको त हुनैपर्छ ।’ उनी भन्छन् ‘पहिले बिम्बहरुमा चित्र खोज्थें । पछि पंक्तिमा खोज्न थालें । अहिले लाग्दैछ, सिंगो एउटा कवितामा बिम्ब खोज्न सकियोस् ।’ छम गुरुङ एक गम्भीर र जबर्जस्त कवि हुन् भन्नुमा कुनै सन्देह छैन । उनी एउटा जिम्मेवारीसहित कविता लेख्छन् । तालीको लोभमा नक्कली कविता लेख्नुछैन उनलाई । त्यसो त, उनले बाँचेको जीवन नक्कली थिएन । र छैन । गत वर्ष बैशाख–१२ मा भुकम्प जाँदा छमको गाउँमा ठूलो क्षति भयो । केही हप्तापछि काठमाडौंदेखि कवि चन्द्रवीर तुम्बापोको नेतृत्वमा एउटा टोली केही राहतको भारी बोकेर सिङ्ला पुग्यो । सिङ्लाको दुख देखेर पहिलो साँझ अबेर चन्द्रबीर एक्लै मकै बारीमा बसेर धरधर्ती रोएछन् । कवि चन्द्रबीर त्यहाँ पुगेर रोएको कुरा काठमाडौंमा पनि बारम्बार सुनाउँछन् । भुकम्प गएको बेला छम आफ्नै गाउँमा थिए । स्थानीय एक विद्यालयमा शिक्षक थिए उनी । गोरखाको लाप्राकबाट ५ घण्टा ठाडै उकालो हिँडेपछि उनको गाउँ पुगिन्छ । गाउँलेको विशेष निम्तो टार्न नसकेर आफ्नो पढाई थाती राखी २ वर्षअघि गाउँको स्कुलमा पढाउन गएका थिए । बदलामा एक थान कविता संग्रह छोडेका थिए, ‘पोर्टर बा’ । त्यो उनको पहिलो कविता कृति थियो । ‘पैतालामुनी भएर पनि काठमाडौं नकुल्ची उतै गाउँ जाँदैछु आँखैमा बसेर पनि नहेरी लुकाएर काठमाडौं छोपी लैजाँदैछु डेराको ताल्चा नाइटोमै छोडी काठमाडौं चाबी चैँ लिई गाउँ पस्दैछु’ –काठमाडौं छोड्दै छोड्दै छम कवितामा दुख, पीडा र संघर्ष समेट्छन् । भोक र शोकलाई कवितामा उन्छन् उनी । सहर बिरुद्ध कलात्मक आक्रोश पोख्छन् । केन्द्रबाट टाढा पारिएकोमा आक्रोश हुन्छ उनका कवितामा । भोक, शोक र संघर्षसँगै अचेल पहिचानको मुद्धा बलियो बनाउँदैछन् कवितामा । तिनै कविताले काठमाडौंलाई बिदाई गरेका कवि २ वर्षपछि काठमाडौं फर्किनुपर्यो । कारण, उनको स्वास्थ्य समस्या । गाउँमै छँदा उनलाई स्वास्थ्य समस्या देखियो । शरिर अत्याधिक चिलाउने, ‘ब्लड एलर्जी’ । जन्मथलोको सेवा गर्न लेक उक्लिएको एक शिक्षित कवि शारिरिक समस्याले गर्दा ‘अपृय’ सहर फर्कनुपर्यो । छाला र शरिरका अन्य अंग अत्याधि चिलाउने समस्या भएपछि उपचारका लागि उनले देशका धेरै ठाउँ भौँतारिए । उपचारार्थ उनी कहिले काठमाडौं, कहिले पोखरा कहिले चितवन पुग्ने । उनी स्थानीय स्कुलमा उढाउँथे । कक्षामै बसिरहँदा समस्या बल्झिन्थ्यो । ‘बिध्यार्थीको अगाडि मलाई समस्या छैन भनेर लुकाउन निकै कठिन थियो ।’ भन्छन्, ‘गाउँमा कैयौँ बोरा नून सकियो ।’ नून दलेपछि केही बेरसम्म चिलाएको ठाउँमा सन्चो भए झैँ हुन्थ्यो । पछि फेरि उस्तै । अन्ततः छम काठमाडौंको शिक्षण अस्पतालमा आएर देखाए । डाक्टरको सल्लाह अनुसार एउटा औषधि सेवन गर्दैआएका छन् । र त्यो जीवनभर सेवन गर्नुपर्छ ।

भाषाबाट बहिस्कृत  गोरखामा जन्मिएका गुरुङ सानै छँदा नवलपरासी बसाईँ सरेर गएका थिए । त्यहाँ पुगेर उनले ३ कक्षामा पढ्नुपर्ने भयो । नवलपरासीको भूपू सैनिक बस्तीमा उनका बाले सानो घर उठाएका थिए । आमा, दाई, भाई र बहिनीसहित त्यहाँ बस्थे । घरमा दाईले पढेर प्रथम हुनुपर्छ भन्दै दवाव दिन्थे । स्कुलमा बोलिने र लेखिने नेपाली भाषा छमलाई नौलो लाग्थ्यो । नौलो मात्रै होइन लगभग डर नै लाग्थ्यो । सोच्थे, ‘कसरी बुझ्ने हो यस्तो भाषा । कसरी बोल्ने होला ।’ थप्छन्, ‘केही महिनापछि नेपाली बल्ल बल्ल बुझ्नसक्ने भएको थिएँ, फेरि अंग्रेजी पनि पढ्नुपर्ने भयो । के आपत आइलाग्यो जस्तो हुन्थ्यो ।’ स्कुलमा पढाइ हुने भाषाले उनी पूरै अलमलिए । नेपाली बोल्न र लेख्न नजान्दा उनलाई स्कुलका अरु विद्यार्थीले जिस्क्याउँथे । छमको जिब्रोले वाल्यकालभरी ‘ज’ उच्चारण गर्न सकेन । उनको एउटा मिल्ने साथी थियो, ‘जीतमान’ । उसलाई छमले सधैँ ‘चितमान’ भनेर बोलाउँथे । स्कुलका साथीहरु छमलाई गिज्याउन पर्यो भने ‘जितमान’को नाम उच्चारण गर्न लगाउँथे र गलल्ल हाँस्थे । परिक्षामा कसरी उत्तर लेख्ने, प्रश्न किन दिइएको हो भन्ने जस्ता कुराहरु उनका समस्या बनिरहे । भन्छन्, ‘हाम्रो शिक्षा प्रणाली बेकार छ ।’ ‘आगो’ शब्दको पर्याववाचीको रुपमा ‘अग्नी’, ‘ज्वाला’ जस्ता शब्दको रुपमा लेखाइन्थ्यो । उनलाई यस्तै शब्दसँग डर लाग्थ्यो । ‘जब आगो भनेकै बुझेको छैन । त्यसैमाथि अग्नी, ज्वाला भनेको को हो ? झन अलमलिन्थेँ म । आगोको पर्यायवाची मैले मेरै मात्री भाषामा बुझ्न पाए सजिलो हुन्थ्यो ।’ गोरखाको उत्तरी भेग भन्दा पक्कै नवलपरासी केही विकसित थियो । तर छमको लागि त्यहाँको भाषा तगारो बन्यो । भाषाकै कारण कक्षाको सबभन्दा कमजोर विद्यार्थी थिए उनी । त्यही हिनतावोधले पनि उनलाई मेहनत गर्न बाध्य बनायो । कठिन मेहनतसँगै बिस्तारै साथीसरह बने । नेपाली अक्षर चिन्ने भएपछि पूर्ण पाठ कन्ठस्थ बनाउ थाले । प्राथमिक तहको अन्त्यतिर आइपुग्दा उनले लगभग सबै किताव कण्ठस्थ बनाइसकेका थिए । ०० पुस्तक छिचोल्न सक्ने भएपछि पत्रिका हुँदै साहित्यमा उनको रहर तानियो । काठमाडौंबाट छापिने साहित्यिक पत्रिका पढ्न थाले । बिस्तारै तिनमा आफ्ना सृजना पठाउन थाले । छिमेकी बजारमा एउटा भित्ते पत्रिका थियो । त्यहाँको चिठी बाकसभित्र उनी छद्म नाममा कविता खसाथ्ले । तर ठेगाना उही राख्थे : भूपू बस्ती, नयाँ बेलानी गाविस, नवलपरासी । संयोगवश आफ्नै स्कुलका शिक्षक पनि त्यो भित्ते पत्रिकामा कविता छपाउँथे । छम यस्ता कविता लेख्थे की उनका कविताले गाउँ, स्कुल र बजारमा सनसनी मच्चाउँथ्यो । कविता भन्दा पनि उनको छद्म नाम ‘हली’ स्थानीय बजारमा लोकप्रीय थियो । ‘हली’ नामबाटै कविता धमाधम भित्ते पत्रिकामा छापिन थाले । स्कुलका शिक्षक, साथीहरु र बजारका शिक्षित मान्छेलाई छमको छद्मनाम भयानक लाग्थ्यो । भन्थे रे, ‘यो हली भनेको को हो । हाम्रै ठाउँको ठेगाना छ ।’ छम आफ्नो नाम लुकाउन चाहन्थे । किनकी उनलाई गरिबीको ग्लानी थियो । भूपू बस्तीमा फूसले छाएको सानो घर थियो । मनाङमा भारी बोकेर बाले जम्मा गरेको रकमबाट परिवार खर्च चल्थ्यो ।

घर जलेपछि  एक साँझ छम बनमा काठ चिरेर फर्कँदै थिए । बहिनीले बत्ती बाहिर ल्याउन खोजिन् । आमा भाँडा माझ्न आँगनको डिलमा गएको बेला उनकी बहिनीले दियो उचाल्दै बाहिर ल्याइन् । त्यही दियोले फूसको छानो टिप्यो । आगलागीले गुरुङको सानो घर ध्वस्त भयो । किताव, पैशा, छमले पाएका पुरस्कार केही पनि निकाल्न पाएनन् । गुरुङको ठूलो परिवार २ वर्षसम्म पालमुनी बास भयो । पैशा जोहो गर्न नजिकको बजार आरुङ खोलामा उनीहरु टपरी बेच्न जान्थे ।

काठमाडौं आएपछि  बाले भारी बोकेर जम्मा गरेको पैशाले कविता कर्ममा लाग्नु छमलाई दुखको कुरो थियो । स्कुलको उत्तरार्धसम्म उनको पढाई राम्रो भइसकेको थियो । ०६३ सालमा प्लस टू (म्यानेजमेन्ट) पढ्न काठमाडौं आएर बसे । स्कुलदेखि नै कविताको लत लागेको थियो । हरेक बिहान गोरखापत्र हेर्थे । सुरुमै ‘काठमाडौँमा आज’ स्तम्भमा उनका आँखा पुग्थे । साहित्यिक कार्यक्रम कहाँ छ भन्ने उनको मुख्य चासो हुन्थ्यो । कार्यक्रममा जान्थे र श्रष्टाहरुसँग चिनजान गर्थे । फोन नम्बर वा ठेगाना माग्थे । बेला–बेला भेटघाट गर्थे । म्हेपीको एउटा साँघुरो र अँध्यारो कोठामा उनको बास थियो । दिनभर श्रष्टाहरुसँग भेट्ने र साहित्यिक कार्यक्रममा जाने । रातभर अध्ययन गर्ने । नेपाली साहित्यका लगभग सबै पुस्तक गम्भीर रुपमा अध्ययन गरिसकेका छन् उनले । दर्शन, इतिहास र संस्कृति प्रति उनको गहिरो अध्ययन छ । कोठामा चारखुट्टे खाट थियो । त्यो खाटमुन्तिर टम्मै किताव हुन्थे । घरबाट बा–आमा भेट्न आएको थाहा पाएपछि पुस्तक सबै लुकाउँथे । ‘गुरुङको छोरो पढ्नु हुँदैन भन्ने भ्रम थियो बाआमालाई ।’ भन्छन्, ‘धेरै पढ्यो भने पागल हुन्छ भनेर गाली गर्नुहुन्थ्यो ।’ छोरो लाहुरे बनोस् भन्ने चाहना उनका बाआमाको थियो । छमलाई लाहुरे बन्न मन थिएन । भिसी गोर्खा राईफलम्यान थमन गुरुङ र छम जन्मिएको एउटै थलो हो । उत्तरी गोरखाका हजारौं युवा बेलायती सेनामा भर्ती भएका छन् । वर्षौंदेखिको यो शिलशिला टुटेको पनि छैन । तर छम त्यस्ता युवा हुन् जो आफ्नो भेगका सम्भवतः एक्लो कविको रुपमा चिनिएका छन् । सिङ्लाको वस्तुस्थिति यही गतिमा हेर्दा अझै ५० वर्षसम्म त्यहाँ क्याम्पस पढ्न जाने अपेक्षा गर्न नसकिने छमको बुझाई छ, ‘यतिसम्म की, कवि भनेको कुन चराको नाम हो भनेर सोध्छन् ।’ यसैले पनि कवि छम सिङलाबासीका आदर्श बनेका छन् । एउटै कविता संग्रह प्रकाशन भए पनि छमले केही गहकिला पुरस्कार र सम्मान पाएका छन् । हरेक वर्ष अमेरिकाबाट प्रदान गरिने ‘अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव उत्तर अमेरिका–२०११’ मा तेस्रो भएर २ सय डलर पुरस्कार पाएका थिएन उनले । हालै प्रज्ञा प्रतिष्ठानबाट तमु मिथक संकलनको जिम्मा पाएका छन् । नेपाल सरकारसँगको सम्झौता अनुसार अनुसन्धानमा आधारित उनको आलेख प्रज्ञा प्रतिष्ठानको कार्यपत्रमा प्रकाशित हुनेछ । कविता सँगै उनले आदिवासी (तमु–गुरुङ) जाती, भाषा, संस्कृतिमा गम्भीर अध्ययन गर्दैआएका छन् । ०० जागिर छैन उनको । काठमाडौंमा अचेल बहिनीको साथमा बस्दैआएका छन् । तै पनि अनुसन्धान र साहित्यको लय समातिरहेका छन् । उनी आफ्नो सांस्कृतिक र जातीय पहिचान साहित्यको आँखीझ्यालबाट हेर्न चाहन्छन् । र यसलाई आफ्नो जिम्मेवारी पनि ठान्छन् । पहिले–पहिले गोर्खाली बेलायतका लागि युद्ध गर्न गए । पैशा कमाएर सहर पसे । त्यसैले त, मूलधारको संयन्त्रमा चियाउन नसकेका तमूहरुको जातीय÷भाषिक पहिचान खोज्ने जिम्मा आफ्नै भएको ठान्छन् छम । ‘गोरखाबाट नवलपरासी छिरेपछि मैले जे भोग्नुपर्यो हाम्रो समुदायको नयाँ पुस्ता त्यसबाट मुक्त बनोस् भन्ने चाहन्छु म ।’ भन्छन्, ‘हामी सधैँ युद्ध गर्न जानुपर्छ भन्ने छैन । राष्ट्रिय समृद्धिमा हाम्रो पनि मुख्य भुमिका हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप