बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वाग्मती सफाइको १६०औँ हप्तामा उपत्यकाको पानी मुहान सफाइ

शनिबार, २२ जेठ २०७३, १७ : २७
शनिबार, २२ जेठ २०७३
काठमाडौँ– वाग्मती सफाइ महाअभियानको १६०औँ हप्ता पुग्दा काठमाडौँ उपत्यकामा पानी ल्याइएको सुन्दरीजलस्थित मुहानमा सरसफाइ सुरु गरिएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज आयोजना गरेको मुहान सरसफाइमा बोक्सी दहस्थित मुहान परिसरबाट एक गाडी फोहर निकाली व्यवस्थापन गरिएको छ । उपत्यकामा यही मुहानबाट ६० प्रतिशत पानी वितरण गरिन्छ । उपत्यकावासीलाई स्वच्छ पानी पठाउन मुहान सफाइ गरिएको आयोजक समितिका सभापति श्रीकृष्ण ज्योतिले बताउनुभयो । कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने दिवास्वप्न बाँड्ने सरकारले जनतालाई स्वच्छ पानीसमेत वितरण गर्न नसकेको बताउनुभयो । दुई करोड ६४ लाख जनतालाई स्वच्छ पानी वितरण गर्ने कार्यक्रम सरकारले बनाउन नसकेको उहाँको भनाइ थियो । “एक वर्षमा विद्युत्भार कटौती अन्त्य गर्ने दिवास्वप्न बाँडेको सरकारले मुलुकको दोस्रो जलविद्युत् केन्द्र सुन्दरीजलका तीनवटा टर्बाइनमध्ये दुईवटा बिग्रिँदा पनि बनाउन सकेको रहेनछ, काम गर्नुको सट्टा पूरा हुन नसक्ने सपना बाँडेर सरकारले मनोरञ्जन गराइरहेको छ” – उहाँले भन्नुभयो । कार्यक्रममा काँग्रेस ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसेले मुहान सफा गर्ने अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिइने बताउनुभयो । मुहान सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, गोकर्णेश्वर नगरपालिका, स्थानीय विद्यालयका शिक्षक विद्यार्थीलगायत स्थानीयवासीको सहभागिता थियो । आजै गुह्येश्वरीदेखि जोरपाटीसम्मको वाग्मती सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको आयोजक पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । वाग्मती सफाइ महाअभियान ३९औँ हप्तामा पुगेपछि बौद्ध जोरपाटी क्षेत्रका स्थानीय सङ्गठित भई गुह्येश्वरीमाथिको वाग्मतीमा हामीले फोहर गरेकाले हामी नै सफाइ गर्छौं भन्दै सफाइ सुरु गरेका थिए । यस क्षेत्रमा आज १२१औँ हप्ताको सफाइ गरिएको छ । मूल सफाइ महाअभियानले आज १६०औँ हप्ताको सफाइ बुद्धनगर पुल आसपास वाग्मतीमा गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइमा पूर्वसचिव किशोर थापालगायत ५०० स्वयम्सेवकको सहभागिता थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती समिति, उप्रेती समाज, हुमागाइँ समाजलगायत संस्थाको सहभागिता रहेको समितिकी समाजशास्त्री माला खरेलले राससलाई बताउनुभयो । आगामी शनिबार १६१औँ हप्ताको सफाइ बुद्धनगर पुलमुनि धोबीखोला र वाग्मती नदीको सङ्गमस्थलमा गरिने पनि उहाँले बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप