बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुर्ख्यौली गाउँ पुगेर नाचे, गाए र हँसाए मनोजले

शनिबार, २२ जेठ २०७३, १८ : ०२
शनिबार, २२ जेठ २०७३

नुवाकोट– बिना कुनै तयारी र योजनाबिनै अकस्मात् कलाकार मनोज गजुरेल आउने चर्चा एका बिहानैदेखि गाउँभरी फैलिसकेको थियो । बुढापाका, तन्नेरी पुस्तादेखि बालबालिकासम्म औधी रमाउँदै उनको ब्यग्र प्रतिक्षामा थिए । अझ विषेश त आफ्नै थरका अनि एउटै वंशका सन्तान त्यसमाथी देशकै चर्चित हाँस्यव्यंग कलाकार जसको आगमनको खबरले एक वर्षअघिदेखिको भूकम्पको त्रासले तङ्रिन नसकेको नलगाउँमा एकाएक बेग्लै खुसीयाली, उत्साह र उमंग छाइसकेको थियो । एक्कासी गाउँका घरघरमा डुल्दै हिँडेका मनोजलाई देख्दा नलगाउँवासी दङ्ग परे । कहाँ, किन र कसरी आए भन्ने कुतुहलता बढ्न थाल्यो र कतिपयस्थानीयवासी एकापसमा कानेखुसी गर्न थाले । नुवाकोटमा गजुरेलहरुको आफ्नो पुख्र्यौली थलो खोज्दै जिलिङको नलगाउँ टेक्ने रहरले पुगेका मनोजलाई हजारौँ बन्धु दाजुभाइ दिदीबहिनीहरुले आत्मियतापूर्वक आतिथ्य सत्कारले स्वागत गरे । दुई÷दुई वर्षको अवधिमा हुने कुल देवता पुजाको दिन देशभरबाट गजुरेल दाजुभाईहरु जम्मा हुने मौकामा भेटघाटका लागि मात्र उनी यहाँ आइपुगेका थिए । तर, गाउँलेहरु भने उनको व्यंङ्ग्यरस प्रस्तुती सुन्न र हेर्न आतुर थिए । व्यंग्य लेखन र क्यारिकेचरमा प्रसिद्धि कमाएका मनोजलाई सधैँ टेलिभिजनका पर्दामा मात्रै देखेका गाउँलेहरुले आफ्नै सामु साक्षात् भगवानझैँ भेट्न पाउँदाको यो मौका गुमाउँन चाहेनन् । मनोजले पनि आफ्ना बन्धु र वंशको रोचक प्रस्तुती हेर्ने चाहना अनि अनुरोधलाई पुरा नगरी धरै पाएनन् । देशका चर्चित पात्र र व्यक्तिहरुको दुरुस्त नक्कल गर्नदेखि सामाजीक विकृति, विसंगतिविरुद्ध व्यंङ्ग्य प्रहारमा ज्यादै सिपालु हास्य कलाकार मनोज गजुरेलले सामाजीक विकृति र विसंगतिका विभिन्न प्रसंग बनाएर दर्शकलाई पेट मिचिमिची हँसाए । यता नजिकै कुलदेवता मन्दिरमा बलिस्वरुप चढाएका बोकाहरु ढलिरहेका थिए, उता मनोजको बेजोड गजुरियल प्रस्तुतीले काउकुती लागेर बन्धु दाजुभाईहरु हाँस्दाहाँस्दै मुर्छा परिरहेका थिए । उनले आफ्नो बाबुबाजेले आफ्नो उत्पती थलो काठमाण्डौं नजिककमा पर्ने नलगाउँ हो भनेपछि पुग्ने ईच्छा बोकेर खोज्दै आएको कथा सुनाए । गणतन्त्रपछि देशमा संघियताको नाममा राजनीतिमा विकृति भित्रिएकोमा लिम्बुवान, खुम्बुवान, ताम्सालिङजस्ता प्रदेशको उदाहरण पस्किँदै ‘नलगाउँलाई पनि गजुरेल स्वायक्त प्रदेश घोषणा गर्न म पुख्र्यौली गाउँ खोज्दै आएको हुँ,’ उनले यसो भन्नसमेत भ्याइहाले । तर, त्यसो गर्न नियमले आफूलाई हस्तक्षेप गरेको सुनाए । आफ्नो भाषा, संस्कृति जेसुकै भएपनि नेपालका सबै भाषा, संस्कृति र भेषभुषा नेपालीको साझा सम्पतिको रुपमा सम्मान गर्न आग्रह गर्दै त्यसलाई गजुरियल ढंगबाट विष्लेशण गरेका गजुरेलले भाषा र संस्कृतिको माध्यामबाट समाज अनि देशलाई जोड्ने प्रयास गरे । ठाउँ र भूगोलको विषेशतामा हुने भाषाको महत्वलाई बुझाउन उनले नेपाली भाषा पनि एक ठाउँको अर्कोमा अश्लिल र अनर्थ लाग्ने उदाहरण देशका चर्चित नेताहरुको हुबहु नक्कल गरी देखाए । उनको हाँस्यव्यंग्य प्रस्तुती जति धेरै चोटिलो र रमाइलो बन्दै जान्थ्यो, बारीका पाटा अनि काँन्लाभरी भरिभराउ दर्शकहरुको उति धेरै हाँसोको फोहोरा र तालीको गडगडाहट आवाजबाट झनै माहौल तताउँदै उनलाई अझ हौस्याउँथे । ‘पश्चिमका शेरबहादुर पुर्वमा र पुर्वका केपी ओली पश्चिममा चुनाव उठ्दा जतिसुकै जनाधार होस्, जित्दैनन् बरु उठ्नै नसक्नेगरी हार्छन् । जनताले भोट होइन, भाटाले हानेर लखेट्छन् ।’ आफ्नो ठाउँको भाषाको लवज अर्को ठाउँमा बोल्दा मानिसले पचाउँदैनन्, यो हाम्रो नेपाली समाजको आफ्नै विषेशता हो ।’ यसो भन्दा उनले दर्शकलाई गम्भिरता र मनोरञ्जन दुवै प्रदान गरे । आफ्नै कुलको मनोजको प्रस्तुतीले गजुरेल दर्शकहरु छाती चौडा बनाएर गर्व गर्दै थिए । साथै नतमस्तक थिए, उनको अभुतपूर्व प्रतिभा देखेर । सबैको अनुभूति र अनुहारको भावलाई यो भव्य माहोलमा सजिलै छाम्न सकिन्थ्यो । अर्को प्रशंगमा गजुरेलले दिनानुदिन विदेश पलायन नेपालीहरुको बढ्दो यो चलन राकिनुपर्ने भन्दै विदेशमा जतिसुकै विलासी र सुखको जीन्दगी पाएपनि आफ्नै देशमा मात्रै स्वाभिमानी भएर आत्मसम्मानसहित बाँच्न सकिने कुरा गितमार्फत् प्रस्ट्याए । अनि उनी गुञ्जिए

‘मेरै मदरल्याण्ड’ गितमा । दमक बजार डेनमार्क मेरो, सुर्खेत सिंगापुर, काठमाण्डौं नि क्यानडा हो, टोकियो टिकापुर । हेटौंडा नि हङकङ मलाई बुटबल मेरो बर्लिन, मुग्लिन छाडी मुग्लान पसे, आमा रुँदै मर्लिन । आइते गयो आयरल्याण्ड, गोरे ग्रिनल्याण्ड, मै मोरोलाई प्यारो लाग्छ, मेरै मदरल्याण्ड ।

डिल्लेलाई डिभी प¥यो, भ्याट्टै भासियो, भोको पेट बोकी हामी देशमै हाँसियो । ग्रिनकार्ड पायो गोविन्देले डाइना बिहे ग¥यो, डाइना भन्दा मलाई गाउँकी डल्ली मन प¥यो । इन्द्रे इङल्याण्ड, पुर्ने पोल्याण्ड, मै छोरोलाई प्यारो लाग्छ, मेरै मदरल्याण्ड । उनीपछि उनका जेठा दाजु केशव गजुरेल, कान्छा भाई धिरेन्द्र र रामेछापका साहित्यकार अनुप गजुरेलले कविता, गजल र मुक्तकहरु सुनाएर सबैलाई मोहित र आनन्दित तुल्याए । गायक राजेन्द्र ढकालले भेट र बिछोडको प्रशंगलाई जोडेर मिठो गित गाए । गजुरेल दाजुभाई दिदीबहिनीहरुलाई छमछमी नचाएका उनको उक्त गितको लयमा सँगै मनोजले पनि धित मर्नेगरी नाचेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप