बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारी जग्गामा निजी अस्पतालको कमाउ धन्दा

आइतबार, २३ जेठ २०७३, ११ : २३
आइतबार, २३ जेठ २०७३

चितवन –चितवनको भरतपुरमा रहेको नारायणी सामुदायीक अस्पतालले राज्यको सम्पत्ती प्रयोग गरेर लाखौं रुपमा कमाउने धन्दा गरेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको २३ कठ्ठा जमिन,तिनवटा ठुला गोदाम र १ कार्यालय भवन कब्जामा लिएर नारायणी सामुदायीक अस्पतालले प्रयोग गरिरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड भने लामो समय सम्म वाहिर भाडामा वस्न वाध्य भएको छ ।

माओबादी सरकारमा गएका बेला शक्ति र पैसाको दुरुपयोग गरी सरकारी सम्पती दुरुपयोग गरेको भन्दै जिल्लाका सरोकार राख्नेहरुले विरोध गर्दै आएका थिए । भरतपुरको मुटुमा रहेको महत्वपुर्ण संरचना मासिक २ लाख रुपैया मात्र बुझाउने गरी निजी अस्पतालले भोगचलन गरिरहेको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा रहेको केहि सटर,पुरानो गोदाम र कार्यालय भवन हालको प्रभु बैंकरहेको भवन भाडामा लगाएर अस्पतालले मासिक १० लाख बढि रकम भाडा उठाइरहेको छ । २०६५ सालमा माओवादी सरकारले नारायणी सामुदायिक अस्पताललाई २५ वर्षका लागि मासिक दुई लाख भाडा तिर्ने गरि जग्गा दिएको थियो ।

आफ्नो संरचना भाडामा गएपछि कृषि सामाग्री कम्पनी लिमिटेड चितवन ५ वर्षदेखि अकार्को घरमा भाडामा बस्नु परेको कृषि सामाग्री कम्पनी लिमिटेड भरतपुरका प्रमुख रबिन्द्र गौतमले बताए । कम्पनीले पछिल्लो एक वर्ष यता आफ्नै घर त निमार्ण गरेको छ । तर गोदाम भने मासिक ३३ हजार तिरेर भाडामा प्रयोग गर्दै आएको उनले जानकारी दिए ।

अस्पतालको जग्गा भोगचलनका बिषयमा बुझदा कृषि सामाग्री कम्पनी लिमिटेड काठमाण्डौका योजना प्रमुख बिष्णु पोख्रेलले भाडादर अहिलेको अवस्थामा सान्दर्भिक भएको स्वीकारे । तत्कालिन अवस्थामा ब्यापार नहँुदा तलबै खान नसकिने अवस्था भएकोले जमिन भाडामा दिएको तर अहिले मुल्य बृद्धि हेर्दा भाडादरमा केहि कमी देखिनु स्वाबिक भएको उनको भनाई छ । अस्पतालले अस्पताल परिसरमा निमार्ण गरेका भौतिक संरचना २५ वर्ष पछि पुर्ण रुपमै कम्पनीको हुने भन्ने सर्त भएकाले त्यसले पछिल्लो चरणमा कम्पनीलाई फाईदा पुग्ने उनको तर्क छ । कम्पनीले तत्कालिन अवस्थामा जमिन भाडामा लगाएर खर्च धान्नु पर्ने अवस्था सृजना भएकोले सस्तो मुल्यमा भाडामा लगाएर खर्च चलाउनु बाध्य हुनु परेको भन्दै उनले तत्कालिन अवस्थामा बागलुगं पोखरा, दमौलि ,लम्जुगं काठमाण्डौ लगायतका सहरमा कम्पनीले जमिन भाडामा लगाएको जानकारी दिए । अस्पतालका व्यवस्थापक पुष्प धितालले आफूहरुले प्रकृया पुरा गरेर समय सुहाउने गरि उचित मुल्यमा जमिन भाडामा लिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप