मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहसिक खेल क्यानोनिङमा युवा आकर्षित

आइतबार, २३ जेठ २०७३, १३ : ००
आइतबार, २३ जेठ २०७३

नुवाकोट  – साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ ।

राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

“क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो भन्ने सन्देश नेपालीमाझ पु¥याउन महोत्सव गरिएको हो । महोत्सवमा युवा र विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो,” अध्यक्ष लामाले भने । सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो ।

दक्ष क्यानोनिङ प्रशिक्षकले उनीहरुलाई सफलतापूर्वक छाँगावरोहणको प्राविधिक र व्यावहारिक ज्ञान दिएको प्रशिक्षक डवीन्द्र लामाले बताए । “अधिकांश सहभागी पहिलो पटक क्यानोनिङमा सहभागी थिए, साहसिक खेलका रुपमा आन्तरिक पर्यटकमाझ यो लोकप्रिय हुँदै गएको छ,” एसोसिएसनका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताए ।

संस्थाले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ । नेपालमा स्वदेशी तथा विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन् ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।

होटल व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत मुकेश शाहले पहिलो चोटि साहसिक खेलमा सहभागी हुन पाउँदा उत्सुकता र रोमाञ्चकता महसुस गर्न पाएको बताउँदै साहसिक पर्यटनका रुपमा यसको महत्व रहेको बताए ।

सो झरनामा दशदिने क्यानोनिङ प्रशिक्षक प्रशिक्षण पनि जारी छ । त्यसमा दश जनाको सहभागिता छ । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहण जस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादन तयार गर्ने उद्देश्य रहेको संस्थाका महासचिव राजेश लामा तामाङले बताए ।

जलयात्रा, पदयात्रा, पर्वतारोहरणसँगै नेपालमा पछिल्लो समयमा नयाँ पर्यटकीय गतिविधिका रुपमा डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेलप्रतिको आकर्षण बढ्दो छ ।

फाइल फोटो : सौजन्य लास्ट रिसोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप