मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा
माओवादी केन्द्र केन्द्रीय सल्लाहकार झपट बोहोराको बैंकर्स बन्ने एउटै सपना थियो । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक विकास बैंक स्थापना गरेका रावलले मालिका विकास बैंकको सीईओ बनेर सपना पूरा गरे ।
२२ वर्ष भारतको बम्बई बसेका उनी सन् १९९७ मा नेपाल फर्के । बैंकर्स बन्ने सपना देखेका उनले जीवनमा राजनीतिमा लागौंला भनेर दस मनमा एक मनले पनि चिताएका थिएनन् । अछाम क्षेत्र नम्बर २ प्रदेशसभा सदस्य उनी ७ प्रदेश मुख्यमन्त्रीका दौडमा छन् । ७ नम्बर प्रदेश मुख्यमन्त्रीका दाबेदार झपट बोहोरासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सामान्यतः दाल, भात, मासको फाँडो, गहतको झोल र मौसमअनुसारका तरकारी असाध्यै मन पर्छ । माछा पनि स्वादिलो लाग्छ । मासु त्यति मन पर्दैन । चिल्लो, पिरो र स्वास्थ्यलाई फाइदा नगर्ने खानेकुराप्रति सचेत छु । खानामा सोखिन नभएकाले रेष्टुरेन्ट कमै पुग्छु । म दुई–तीन दिन भोकै बस्न सक्छु । रेष्टुरेन्ट पुगिहाल्दा जुस ‘अर्डर’ गर्न बिर्सन्न ।
बम्बई बस्दा धेरै पकाएको छु । त्यतिबेला १० देखि १२ जनासम्मलाई दैनिकजसो खाना पकाएर खुवाउँथें ।
मेरो पोसाक
सर्ट, पाइन्ट रोजाइका कपडा हुन् । कोट र स्पोटर््स सुज पनि लगाउँछु । सालिन्दा कम्तीमा ६० हजार रुपैयाँ कपडामा खर्चन्छु । सेतो र पीताम्बर रङका कपडा मन पर्छ । रेडिमेड कपडा बढी प्रयोग गर्छु । सुट सिलाउन परे पुतलीसडकमा रहेको सुटमान्डु जान्छु ।
कपडाको ब्रान्डभन्दा शरीरसुहाउँदो कपडा भए पुग्छ । तर, कपडाको रङचाहिँ छान्ने गर्छु । ४० वर्षको नभइन्जेलसम्म ‘काउक्याप’ लगाएको थिएँ ।
मेरो फिटनेस
दैनिकजसो मर्निङवाक र योगा गर्छु । डाइटिङ छैन । घरमात्रै होइन, क्लबतिर पनि ट्रेडमिलमा दौडन्छु । मर्निङवाक र योगा एक–एक घन्टा गर्छु ।
मेरो अध्ययन
किताबै नपढे पनि प्रदेशमा गएर गर्नुपर्ने, त्यसमा पनि आर्थिकसँग सम्बन्धित विषयवस्तु पढ्दै छु । मलाई डाइमन्डशमशेर राणाले लेखेको ‘सेतोबाघ’ ले अत्यन्तै प्रभाव पारेको थियो । प्रेमचन्द र म्याक्सिम गोर्कीद्वारा लिखित किताब पढ्न जाँगर चल्छ ।
मेरा झन्डै डेढ सय बढी लेख नेपालका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छन् । प्रदेशसभामा निर्वाचितपछि केही लेख्न पाइरहेको छैन । मेरो निजी पुस्तकालयमा दुई सय बढी किताब छन् । सालिन्दा एक लाख बढीको किताब किनेकै हुन्छु ।
मेरो घुमफिर
घुमफिरमा रुचि छ । मलाई डाँडाकाँडा, नदीकिनार घुम्न मन लाग्छ । भीडभाडमा घुम्न मन लाग्दैन । नेपालका ५० जिल्ला पुगेको छु । विदेश पनि घुमेको छु । घुमेकामध्ये नेपालजस्तो रमणीय कहीं लागेन ।
जीवनमा एकपटक मानसरोवर, राराताल, खप्तड र बडिमालिका पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
जीवनमा जोकोही कुनै न कुनै रूपमा व्यस्त हुन्छन् । समय निकाल्नुपर्दोरहेछ । समय व्यवस्थापन गर्ने मानिसमात्रै सफलताको सिँढी चढ्छन् । जति नै व्यस्त भए पनि मोबाइल स्वीचअफ गरेर आराम गरौंजस्तो कहिल्यै लाग्दैन । गरेको पनि छैन । फुर्सद पाइहालेमा अध्ययन गर्न रुचाउँछु ।
परिवारलाई समय दिन सकेको छैन । दुई छोरा, दुई छोरी हुर्किसकेका छन् । नेपाल फर्केपछि चलचित्र हेरेकै छैन तर परिवारसहित कहिलेकाहीं घुम्न, रेष्टुरेन्टमा खान पुग्छु ।
मेरो खेलकुद
क्रिकेट र ब्याडमिन्टन असाध्यै मन पर्छ । कलेज लाइफसम्म खेलेको हुँ । मैले फुटबल, भलिबल पनि खेलेको थिएँ । मार्सल आर्ट गरेको हुँ । स्वीमिङ गर्छु । कहिलेकाहीं साइक्लिङ गर्छु ।
मेरो मोबाइल
सामसुङका दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ एस एट प्लसको ८८ हजार र अर्को ३५ हजारमा किनेको हुँ । काम लागिन्जेल मोबाइल प्रयोग गर्छु । मोबाइलका एप्लिकेसन्समा फेसबुक, युट्युबलगायत प्रयोग गर्ने बानी छ ।
मेरो टेलिभिजन
टीभीमा समाचार र हास्यव्यंग्य हेर्छु । साँझ र बिहान टीभी हेर्ने गरेको छु । घरमा रहेको सामसुङ टीभीको साइज ४० हुनुपर्छ ।
मेरो चलचित्र
भारतमा रहँदा अन्तिमपटक चलचित्र ‘दिलवाले दुल्हनिया लेजाइङ्गे’ हेरेको थिएँ । हलसम्मै पुगेर फिल्म हेर्थें । टीभी र भिसिडीमा फिल्म कहिल्यै हेरिनँ । हेरेकामध्ये ‘आम्दानी अठनी, खर्च रुपैयाँ’ र ‘दिलवाले दुल्हनिया लेजाइङ्गे’ असाध्यै मन पर्यो । नेपाली सबै कलाकार आ–आफ्ना ठाउँमा ठीक छन् । भारतीयमा दिलिपकुमार, साहरूङ खान, काजोलको अभिनय मन पर्छ ।
मेरो रोग
स्वस्थ छु । दीर्घरोगले समातेको छैन । सालिन्दा दुईपटक ‘होलबडी चेकअप’ गराउँछु । रक्तचाप १२०/८० छ । स्वस्थ रहनुका कारण खानपानै हो ।
मेरो भाषणशैली
आफूले गरेको भाषणशैली आफैंले मूल्यांकन गर्दा सिक्नपर्ने पाटो धेरै छन् जस्तो लाग्छ । जीवन सिकाइको शृंखला हो । जुन दिन प्राण शरीरबाट अलग हुन्छ, त्यस दिनदेखि सिकाइ पनि सकिन्छ । भाषण गर्दा थेगो प्रयोग गरेको हेक्का छैन । म बौद्धिक भाषण गर्छु । भाषण गरेकै आधारमा अहिलेसम्म विवादमा तानिएको छैन । राजनीतिक भाषण गर्नअघि तयारी गर्दिनँ ।
मेरो मापसे
बम्बईमा रहँदा विद्यार्थी जीवनमा मात लाग्नेगरी बियर खाएको थिएँ । त्यसपछि अहिलेसम्म मादक पदार्थ खाएको छैन ।
मेरो संगीत
गीत–संगीत सुन्छु । दोहोरी, राइला र देउडा गाउँछु । गला र कला भएर होइन, रहरले थुप्रै कलाकारसँग मञ्चमा गाएको छु । गायक नारायणगोपालको आवाज कर्णप्रिय लाग्छ ।
मेरो भूल
मानिस हो, जानअन्जान गल्ती गरिन्छन् । मैले पनि गरेको छु । संवत् २०४४ को कुरा हो । म बम्बईमा १२ कक्षामा पढ्थें । मेरै जिल्ला अछामका नाताले भाइ पर्ने भारतमै बस्थे । परिवारको एक्लो छोरा ती भाइ भारतमा बिते । उनी बितेको खबर भन्दा सम्बन्धित परिवारलाई असहज हुने नै भयो । दुःखद खबर सिधै भन्न सकिएन । त्यसपछि भारतबाट एक मानिसलाई अछाम पठाइयो । उनी मृतकका आफन्त (नाताले मेरो मामा पर्ने) लिएर जहाजबाट भारत ओर्ले । म जहाज चढ्न खोज्दै थिएँ । मामासँग सन्चोबिसन्चोको सोधासोध भयो । भाइ बितेको खबर सुनाउनासाथ मामा बेहोश भए । केही समयपछि होशमा आए । बेस्सरी रोए । जसले उनलाई लिएर भारत पुगेका थिए, उसलाई गाली गर्दै पिट्दा ती भाइ आफैंले मारेजस्तो ग्लानि भएको थियो ।
मेरो घर
पुख्र्यौली घर अछाम भए पनि बसाइ धनगढी हो । धनगढीको घर ०६० मा बनाएको हुँ । वास्तुशास्त्र नहेराए पनि दुईतले घरको डिजाइन आफूलाई चित्तबुझ्दो छ । आफ्नै कमाइले घर बनाएको हुँ । त्यतिबेला घर बनाउन १०–१५ लाख खर्च भएको थियो । काठमाडौंको गौरीघाटको घरचाहिँ दुई करोडमा किनेको हुँ । ०६६ मा किनेको घरको ऋण तिर्दै छु ।
मेरो राशी
मेरो राशी वृश्चिक हो । ग्रहदशा ठीक छ । ग्रहशान्ति गराउँछु । हातमा मुगा लगाएको छु । ग्रह नक्षत्रको फलप्रति धेरथोर विश्वास गर्छु ।
मेरो सौन्दर्यचेत
कपालमा मेहेन्दी लगाउँछु । फेसियल गर्ने बानी छैन । अनुहारमा क्रिम लगाउँदिनँ । कहिलेकार्हीं पफ्र्युम प्रयोग गर्छु । कहिलेकाहीं स्टीम बाथ लिन्छु, स्पा जान्छु ।
मेरो प्रेम
मेलै मागीबिहे गरेको हुँ । १६ वर्षमै मेरो बिहे भएको हो ।
मेरो सपना
मुलक समृद्ध र शक्तिशाली हुनुपर्यो । नेपाली सुखी भए अरू केही चाहिँदैन । म यो वा त्यो हुनुपर्छ भन्ने मान्यता राख्दिनँ । म सधैं विधि र नीतिपूर्वक काम गरूँ भन्नेमा दृढ छु ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । मानिसले मृत्युलाई कति नजिकबाट नियालेको छ, मृत्युसँग डराउने नडराउने त्यसमा भर पर्छ । मलाई मृत्युसँग डर लाग्दैन । मृत्युको नजिकनजिक पुगेको थुप्रै घटना दुर्घटना छन् ।
चार कक्षासम्म अछाममै पढेको हुँ । त्यतिबेला गोठाला जान्थें । बाख्राहरू डरलाग्दा भीरपहरामा भएका घाँस चर्न जान्थे । एक दिन भीरपहरामा चर्न गएका बाख्रा फर्कन सकेन । भीर डरलाग्दो थियो । वरिपरिबाट देख्नेले मलाई बाख्रा लिन नजानू भन्दारहेछन् । मैले सुनिनँ । म बाख्रा लिन गएँ । बाख्रा लिन पुगेको म त्यहाँबाट फर्कन सकिनँ । मलाई गाउँलेले उद्धार गरेका थिए । मृत्यु यस्तै होस् भन्ने लोभ छैन । तर, मृत्यु अस्वाभाविक नहोस् ।