बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अधिकांश होटल अवैधानिकरुपमा सञ्चालित

आइतबार, २३ जेठ २०७३, १६ : २०
आइतबार, २३ जेठ २०७३

ताप्लेजुुङ – ताप्लेजुङको सुकेटार बजारका अधिकांश होटलहरु अवैधानिक रुपमा सञ्चालन भइरहेको पाइएको छ । जिल्लाको एक पर्यटकीय नगरीको रुपमा रहेको सुकेटार बजारभित्र वैधानिक भन्दा अवैधानिक रुपमा सञ्चालित होटलहरुको संख्या बढी रहेको पाइएको हो ।

विगत लामो समयदेखि सुकेटार बजार क्षेत्रमा होटलहरु सञ्चालन हुँदै आएका भएपनि अधिकांशले कुनै पनि प्रकारको कानूनी प्रक्रिया पूरा नगरेको पाइएको छ । शनिबार कोष तथा लेखा नियन्त्रकको कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा गरेको अनुगमन तथा निरीक्षणका क्रममा यस्तो अवस्था पाइएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिराजन्य वस्तु र जिल्ला स्वास्थ्य कार्यालयले सूर्तीजन्य पदार्थको अनुगमन तथा निरीक्षण गरेको हो ।

सूर्तीजन्य पदार्थहरुको जिल्ला नियमन/नियन्त्रण समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईको नेतृत्वमा गरिएको अनुगमनमा सुकेटार बजारका आधाभन्दा बढी होटल अवैधानिक अर्थात कुनैपनि निकायमा दर्ता नभई सञ्चालित छन् । त्यस्तै दर्ता भएकाहरुमध्ये केहीले दुई वर्ष अघिदेखि नै नवीकरण नगरेको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार सुकेटार बजारमा करिव तीन दर्जनको हाराहारीमा होटलहरु सञ्चालित रहेका र उक्त संख्यामध्ये १८ वटा होटल मात्र दर्ता भएका छन् । दर्ता भएका होटलहरुले पनि मदिराजन्य तथा पेय पदार्थ र सूर्तीजन्य पदार्थको अनुमति नलिई विक्री वितरण गर्दै आएका पाइएको कोष तथा लेखा नियन्त्रक बीरबहादुर श्रेष्ठले बताए ।

यस पटकको अनुगमनका क्रममा दर्ता नभई सञ्चालन भइरहेका होटललाई निश्चित समयभित्र दर्ता प्रक्रियामा आउन र नवीकरण नगर्नेलाई कानुनबमोजिम जरिवाना शूल्क बुझाई नवीकरण गर्नका लागि सुझाव दिइएको श्रेष्ठले बताए । उनले पुनः अर्को पटकको अनुगमनमा अवैधानिक पाइएमा त्यस्ता होटल वा होटल सञ्चालकलाई कानुनबमोजिम कारबाही गरिने बताए ।

यस्तै प्रायः सबैजसो होटल नगरपालिका कार्यालयमा पनि दर्ता भएका छैनन् । ताप्लेजुङ नगरपालिका स्थापना भएको दुई वर्ष वित्दासमेत नगरपालिकाभित्रका अधिकांश होटलहरु कार्यालयमा दर्ता प्रक्रियामा नआएका कार्यकारी अधिकृत डिल्लीरमण पौडेलले बताए । कानुनी प्रक्रिया पु¥याएर मात्र होटल तथा अन्य व्यापार व्यवसाय सञ्चालन गर्न नगरभित्रका व्यवसायीलाई सुरुदेखि नै आह्वान गरिएको र अब पनि बेवास्ता गरेमा सम्बन्धित व्यवसायीले कानुनबमोजिम कारबाहीको भागीदार हुनुपर्ने पौडेलले बताए ।

यता सानो लगानीबाट सञ्चालित केही होटलका सञ्चालकहरुलाई भने कानुनी प्रक्रियाको बारेमा थाहा नै नभएको पनि बताएका छन् । कानुनी प्रक्रिया बुझेपछि सो प्रक्रियामा आपूmहरु जाने उनीहरुको भनाइ छ ।

यस्तै सुरुदेखि नै सबै इजाजत लिएर बैधानिक रुपमा सञ्चालन हुँदै आएका होटलका सञ्चालकले भने आपूmहरुले कानुन बिपरित कुनै व्यवसाय नगरेको बताएका छन् । तर लामो समयदेखि कानुनी दायरा बाहिर सञ्चालित होटल तथा व्यवसायलाई पनि अहिलेसम्म कुनै कारबाही नभएको उनीहरुको भनाइ छ । सरकारी नियम कानुन सबैमा लागू हुनुपर्ने पनि उनीहरुको माग छ ।

उता होटल तथा अन्य व्यापार व्यवसाय सञ्चालन गर्दा व्यवसायको प्रकृतिअनुसार सरकारी निकाय घरेलु तथा उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, आन्तरिक राजश्व कार्यालय, नगरपालिकाभित्र भए सम्बन्धित नगरपािलका कार्यालयमा दर्ता वा अनुमति लिनुपर्ने कानुनी प्रावधान छ । त्यस्तै उद्योग वाणिज्य संघ, होटल व्यवसाय संघ लगायतबाट पनि व्यवसायीले अनुमति लिनुपर्ने हुन्छ । दर्तापछि पनि रहेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप