मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकको पर्खाइमा छहरे झरना (हेर्नुहोस् १२ तस्बिर)

सोमबार, २४ जेठ २०७३, १० : ०८
सोमबार, २४ जेठ २०७३

काठमाडौं– पहाडका अग्ला डाँडाबाट झर्ने झरना (क्यानोनिङ) को नेपालमा पनि विस्तारै विकास हुन थालेको छ । जलयात्रा, पदयात्रा र पर्वतारोहण जस्तै साहसिक पर्यटनका रुपमा विकास हुन थालेको क्यानोनिङप्रति आन्तरिक पर्यटक झनै आकर्षित भएका छन् ।

प्राकृतिक झरनामा डोरीको सहायतामा झुन्डिएर खेलिने यो साहसिक खेल नुवाकोटको छहरेमा रहेको झरनाप्रति पर्यटकहरु आकर्षित भएका हुन् ।

जसमध्ये एक हो नुवाकोट थानापती गाविसमा रहेको छहरे झरना । काठमाडौंबाट ३५ किलोमिटर टाढा नुवाकोट थानापाती गाविसको छहरे झरनामा यतिबेला दिनहुँ मानिसहरुको भीड लाग्ने गरेको छ । एक दिनमै पुगेर क्यानोनिङ गरेर बेलुका फुर्सदसँग काठमाडौं नै फर्कन सक्ने उक्त ठाउँ अहिले पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदैछ ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना बोकेका दर्जनौं  प्राकृतिक सुन्दरतायुक्त झरना प्रचारप्रसार र पूर्वाधारको कमीले गर्दा ओझेलमा परेका हुन् । अग्ला पहाडबाट छङछङ गर्दै झर्ने झरना पर्यटकको पखाईमा छन् ।

नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र बहादुर लामाले भने, ‘हिमाल आरोहण, पदयात्रा, जलयात्रा, बन्जीजम्प, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिप्रति पर्यटकको आकर्षण बढिरहेका बेला साहसिक खेलका रुपमा चिनिएको क्यानोनिङप्रति पनि स्वदेशी तथा विदेशीको आकर्षण बढ्दै गएको छ ।’

‘अग्ला पहराबाट खस्ने छहराको चिसो पानीसँगै गर्मीयाममा खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई व्यवस्थित बनाउन नेपाल क्यानोनिङ संघ लागिपरेको छ । संघले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर क्यानोनिङको व्यवस्था मिलाएको छ’ उनले भने ।

संघले एसियामा नै पहिलो पटक सन् २०११ मा अन्तर्राष्ट्रिय क्यानोनिङ महोत्सव गरेर विश्वको साहसिक पर्यटनतर्फ रुचि राख्ने विदेशीलाई नेपाल भित्र्याएको थियो । पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा कार्यक्रम गरिरहेको सघंले सन् २०१३ मा राष्ट्रिय क्यानोनिङ महोत्सव आयोजना गर्दा ३ सय बढी स्वदेशी तथा विदेशी सहभागि थिए ।

काठमाडौँसहितका विभिन्न जिल्लाका झरना क्यानोनिङका लागि बढी प्रचलित छन् । पाँच हजार २ सय मिटर उचाइमा अवस्थित मनाङ फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप