बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्राविधिक कार्यालयले योजना विवरण लुकायो

सोमबार, २४ जेठ २०७३, १२ : २८
सोमबार, २४ जेठ २०७३

उदयपुर – जिल्ला प्राविधिक कार्यालय उदयपुरले स्थानीय शान्ति समितिले माग गरेको योजना विवरण लुकाएको छ । शान्ति तथा पुन निर्माण मन्त्रालय अन्तर्गतको शान्तिको लागी विकास कार्याक्रम र पुनर्निर्माण कार्याक्रमको योजना विवरण लुकाएको हो । स्थानीय शान्ति समिति उदयपुरले गएको जेठ ११ गते चलानी नम्वर ७० मार्फत जिल्ला प्राविधिक कार्यालयलाई समक्ष चालु आर्थिक वर्षमा संचालित योजनाको विवरण माग गरेको तर १३ दिन बितिसक्दा पनि उपलब्ध नगराएको स्थानीय शान्ति समितिका संयोजक एकबहादुर कार्कीले बताए । संयोजक कार्कीले प्रविधिक कार्यालयका हाकिम नविन कुमार सिहंसँग जेठ ५ गते मौखिक रुपमा योजनाको विवरण माग गर्दा पनि सुचना नदिए पछि बाध्य भएर लिखित रुपमा विवरण माग गरेको जानकारी दिए । उनले भने ‘शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पुर्नस्थापना कार्यक्रमका योजनाहरुको अनुगमन गरी प्रतिवेदन पठाउनको लागि विवरण माग गरेका हौं ।’ प्राविधिक कार्यालयबाट संचालित राधाकृष्ण मन्दिरको मर्मतको रकम दुरुपयोग गरेको भन्ने गुनासो आएपछि योजनाको विवरण माग गरेको संयोजक कार्कीको भनाई छ । स्थानीय शान्ति समितिको निर्देशिका २०६६ अनुसार शान्ति मन्त्रालयले संचालन गर्ने विभिन्न योजनाहरुको अनुगमन गर्ने जिम्मेवारी स्थानीय शान्ति समितिलाई दिएको छ । शान्ति समितिले प्राविधिक कार्यालय समक्ष योजनाको नाम, बजेट, सम्झौता मिति, सम्पन्न हुने मिति, उपभोक्ता समिति वा निर्माण व्यवसायीको नाम र सम्पर्क नम्बर माग गरिएको शान्ति समितिले जनाएको छ । यसरी अनुगमन गर्ने निकायलाई नै विवरण नदिनु प्राविधिक कार्यालयबाट संचालित योजनामा गडबढी भएको हुन सक्ने स्रोतको दावी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप