बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सम्मानका साथ अम्बरको अन्त्येष्टि (फोटोफिचर)

मङ्गलबार, २५ जेठ २०७३, १७ : २२
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं– वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिएको हो ।उनको अन्तिम बिदाईका लागि सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीदेखि हजारौं सर्वसाधारण आर्यघाट पुगेका थिए ।

मंगलबार बिहान धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएका ७९ वर्षीय गुरुङको पार्थिव शरीरमा रक्षामन्त्री भीम रावलले सरकारको तर्फबाट सम्मानस्वरुप राष्ट्रिय झण्डा ओढाए । यस्तै नेपाली सेनाको एक टुकुडीले पशुपति आर्यघाटमा अन्तिम सलामी समेत अर्पण गरेको थियो ।

यसअघि बिहान अम्बरको शब अस्पतालबाट कमलादीस्थित एकेडेमीमा लगिएको थियो । त्यहाँ तीन बजेसम्म श्रद्धाञ्जलीको लागि राखेर शवयात्रासहित पशुपति आर्यघाट लगिएको थियो । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरे । उनले पहिलो गीत ‘नौलाख तारा उदाए।।।’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए ।

उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भए। ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उनले सङ्गीत भरेका थिए ।

त्यसैगरी उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए।।।, ‘म अम्बर हुँ, तिमी धर्ती।।।’ लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति समेत रहेका गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका थिए भने छ–सात सय गीत उनकै शब्द र स्वरमा रहेका छन् । अलबिदा अम्बर !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप