बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धुम्बा तालमा पानी सुकेपछि जलचर, वन्यजन्तु र पर्यटन ब्यवसाय संकटमा

बुधबार, २६ जेठ २०७३, ११ : १७
बुधबार, २६ जेठ २०७३

मुस्ताङ–मुस्ताङमा रहेको ढुम्बाताल पनि सुक्दै जान थालेपछि वातावरण मात्र नभएर पर्यटन ब्यवसायमा पनि असर परेको छ । मुस्ताङको सदरमुकाम अवस्थित जोमसोम गाविसको ९ नम्बर वडामा पर्ने धुम्बा तालमा पानीको सतह घट्दै गएको हो ।

करिब चार सय मिटर लम्बाई र एक सय मिटर चौडाई भएको तालमा पानीको मात्रा आधाले घटेको छ । करिब दश मिटर गहिरो भएको अनुमान गरिएको तालमा संकलन हुने पानीको मुहान सुकेपछि सतह घटेको हो । बर्षौदेखि समान मात्रामा पानीको सतह रहदै आएको तालमा पछिल्लो एक वर्षयता अस्वभावीक रुपमा पानी घटेको स्थानीयबासी ल्याक्या गुरुङले बताए ।

२०७२ बैशाख १२ गते गएको भुकम्पपछि पानीको मुहान सुकेपछि त्यसको असर तालमा परेको स्थानीय बासिन्दाहरु बताउँछन् । धुम्बा ताल संरक्षण तथा ब्यवस्थापन समितिले नजिकैको खोल्साबाट पाईपमा पानी ल्याएर तालको सौन्दर्यता कायम राख्ने प्रयास गरिरहेका छन् ।

जोमसोम बजार नजिकै रहेको धुम्बाताल पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकका लागि गन्तब्य स्थलको रुपमा विकास हुदै गएको थियो । केही चलचित्रको छायांकन पनि भएकाले तालको प्रचारप्रसारसंगै पर्यटक आगमन बढेको थियो । तर पानीको सतह घटेर तालको सौन्दर्यतामा हस आएपछि पर्यटन ब्यवसाय प्रभावित हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) जोमसोमकी रेञ्जर धनु गुरुङले बताए ।

तालको सौन्दर्यतामा रमाउदै तस्विर खिच्ने पर्यटनहरु मात्र नभएर त्यहाँ रहेका माछा, हाँस लगायत जलचर संकटमा परेका छन् । तालमा पानी खान आउने वन्यजन्तुहरु पनि असर परेको रेञ्जर गुरुङको भनाई छ । निलगिरी हिमालको छायाँ देखिने निलो रंगको तालको छेउछाउ बगरमा परिणत भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा कार्यरत व्यक्तिहरुले बढ्दो तापक्रम, जलवायु परिवर्तन, भुकम्पका कारण तालमा पानीको सतह घटेको अनुमान गरेपनि अध्ययन अनुसन्धान हुन सकेको छैन् । एयाप जोमसोमकी संरक्षण अधिकृत निरु थापाले भुकम्प र जलवायु परिवर्तनको असरका कारण धुम्बा तालको पानीको मुहान सुकेको हुन सक्ने बताइन् ।

धुम्बातालको अस्तित्व बचाउनका लागि पानीका मुहानको संरक्षण, वृक्षारोपण र वातावरण असर न्युनीकरणका लागि पहल गर्नुपर्ने जोमसोम पर्यटन ब्यवस्थापन उपसमितिका सबी थकालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप