बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेउतीमा ब्रमलुट, स्काभेटर प्रयोग गरी सम्झौतामा बिपरीत उत्खनन्

बुधबार, २६ जेठ २०७३, १४ : ४८
बुधबार, २६ जेठ २०७३

इटहरी– जिल्ला बिकास समिति सुनसरी र ठेकेदारबीच भएको सम्झौतामा बिपरीत सेउती खोलाबाट स्काभेटर नै प्रयोग गरी दोब्बर गहिरो उत्खनन भएको भेटिएको छ । मंगलबार जिल्ला बिकास समिति र वन कार्यालयको टोलीले सेउती खोलाको स्थलगत निरीक्षण गर्ने क्रममा ठेक्का सम्झौतामा उल्लेख मापदण्ड भन्दा दोब्बर गहिरो खालड बनाएर मिसगिट्टी झिकीरहेको भेटिएको हो । जिबिसका वातावरण अधिकृत पुष्पनारायण चौधरी, उत्तम प्रसाद खतिवडा र जिल्ला बन कार्यालयका बन अधिकृत राजेन्द्र निरौला सहितको टोली सेउती खोलाको अवलोकन गर्न पुगेका थिए । इटहरीको जय श्री पाथिभरा ट्रेड एण्ड सप्लार्यसले सेउती खोलाबाट मिसगिट्टी निकाल्ने काम गरिरहेको छ । टोलीले उत्खनन् गरिरहेको स्थानमा नापजाँच गर्दा सम्झौतामा उल्लेख मापदण्डभन्दा दोब्बर गहिरो खालड बनाएर मिसगिट्टी झिकीरहेको भेटिए पछि तत्काल स्काभेटर प्रयोग रोक्न निर्देशन दिएका थिए । ठेक्का सम्झौतामा गहिराई औषत ०.७५ मिटरभन्दा बढी नहुने गरी उत्खनन् कार्य गर्नुपर्ने छ । तर, नापचाँज गर्दा स्काभेटरले डेढ मिटर गहिरो खाडल बनाएको भेटिएको थियो । जसमा स्वीकृति पाएकोभन्दा बढी डेढ मिटर गहिरोसम्म खनिएको भेटिएको छ । सम्झौतामा मेशिनरी(स्काभेटर) प्रयोग गर्नुपरे अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहबरमा मात्र प्रयोग गर्न पाउने उल्लेख छ । जिविसले यसको पालना गरेर नियमित अनुगमन नगर्दा पनि ठेकेदारले खोलामा मनपरी उत्खनन् गर्ने मौका पाएको हो । जिबिसद्धारा ठेकेदारको बचाउ सम्झौता उल्लंघन गर्दै खोला उत्खनन् गर्दा कारबाही गर्नुको सट्टा जिबिस भने ठेकेदारको बचाउ गर्न थालेको छ । सम्झौतामा प्रष्ट ०.७५ मिटर भन्दा बढी गहिराई हुन नहुने उल्लेख भएपनि जिविस भने डेढ मिटर गहिराईसम्म खन्न पाउने भन्दै ठेकेदारको बचाउमा लागेको हो । मंगलबार वातावरण अधिकृत सहितको टोली केही क्षण मात्र अनुगमन गर्न सेउती पुगेका थिए । त्यसबेला पनि स्काभेटरले करिब डेढ मिटर गहिरो खनिरहेको प्रष्ट देखिएको थियो । जिबिस र वनको अनुगमन टोलीले उत्खनन् कार्यमा रोक लगाउनुका सट्टा धेरै गहिरो भयो भने स्लोभ तानेर मिलाईदिनु भन्दै हिडेका थिए । ‘जिविसको मान्छे आएर हे¥यो, धेरै भयो भने स्लोभ तानेर मिलाइदिनु र पुरिदिनु भनेको छ’–स्काभेटर चालक पुष्प लामिछानेले भने । उनको भनाईले पनि जिविस नियम तथा मापदण्ड उल्लंघन गरि उत्खनन गर्ने ठेकेदारलाई कारबाही नगरी बचाउ गरिरहेको पुष्टि हुन्छ । ठेक्का सम्झौतामा पुल, सडक बाटो, कल्भर्टबाट तलमाथी कम्तीमा ५ सय मिटर भित्र ढुंगा, गिटी मिक्सगिटी झिक्न नपाइने भनिएको छ । तर, हाल सेउतीमा उत्खनन् भइरहेको क्षेत्रबाट पानवारी इटहरी सडक खण्ड करिब २ सय मिटर दुरीमा मात्रै छ । सेउती खोला आसपाँसका वन समुहका पदाधिकारी र उपभोक्ताहरु भने चुरे र वन क्षेत्रमा पर्ने खोला ठेक्का लगाउनु अघि जिबिसले आफुहरुसँग छलफल वा जानकारीसमेत नदिएको भन्दै रुष्ट छन् । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्दा सरोकारवाला उपभोक्ता समुहसँग छलफल नभएको उनीहरुको भनाई छ । के भन्छ जिबिस सुनसरी ? जिल्ला बिकास समिति सुनसरीका स्थानिय बिकास अधिकारी रामप्रसाद वाग्ले जिबिस र ठेकेदारबीच भएको सम्झौतामा बिपरीत सेउती खोलाबाट कुनै पनि उत्खनन नभएको दाबी गरे । खोलामा स्काभेटर प्रयोग भने गरिएको बताउदै जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार गएको जिबिस र वन कार्यालयको अनुगमन टोलीले तत्काल स्काभेटर प्रयोग नगर्न निर्देशन दिएको वाग्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप