बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षामा रुपान्तरण आवश्यक

बिहीबार, २७ जेठ २०७३, ११ : ०३
बिहीबार, २७ जेठ २०७३

काठमाडौँ– समयसापेक्ष जनशक्ति उत्पादनका लागि विद्यालय शिक्षामा रुपान्तरणको आवश्यकतामा विज्ञ एवम् सरोकारवालाले जोड दिएका छन् ।

ग्लोबल एक्सन नेपालले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले विद्यमान प्रवृत्ति र व्यवहारले सार्वजनिक शिक्षा माथि उठ्न नसक्ने ठोकुवा गर्दै रुपान्तरणका लागि नागरिक क्षेत्रबाट पनि प्रयास हुनुपर्ने बताएका छन् ।

गत साता संसद्बाट शिक्षा ऐन आठौँ संशोधन विधेयक पारित भई विद्यालय शिक्षामा संरचनात्मक परिवर्तनको तयारी भए पनि त्यसले रुपान्तरणका मुद्दा बोक्न नसकेको पनि उनीहरुको भनाइ थियो ।

शिक्षाविद् डा विष्णु कार्कीले भने, “शिक्षामा रुपान्तरणका लागि आलोचनात्मक जमात तयार गर्नुपर्छ । रुपान्तरण भनेको लार्भाबाट प्युपा हुँदै पुतली बन्ने प्रक्रिया हो । यसका लागि हामी सबै तयार हुनुपर्छ ।” उनले विद्यालयको पुनःनिर्माण जस्ता काममा शिक्षाका निकायलाई व्यस्त बनाउँदै प्राज्ञिक गतिविधिमा असर गर्ने बताए ।

नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माले शिक्षा सुधारका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाई सुशासन कायम हुनुपर्ने तथा दण्ड पुरस्कारको प्रणाली लागू गर्नुपर्ने अनुभव सुनाए ।

लमजुङका जिल्ल शिक्षा अधिकारी ज्ञानमणि नेपालले शिक्षाका रुपान्तरणको सूत्रधार शिक्षक बन्नुपर्ने भन्दै कक्षा कोठाभित्रका क्रियाकलापमा शिक्षकले रचनात्मकता र व्यावहारिकता ल्याउन सक्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले शिक्षकले मात्र शिक्षा बिगारेको आरोप नलाई राम्रा शिक्षकका बारेमा पनि चर्चा गरिनुपर्ने सुझाव दिए ।

ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठले स्थानीय समुदायको आवश्यकता अनुकूल हुने गरी विद्यालयको विकास गर्न आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा शिक्षाविद् डा केशवलाल श्रेष्ठ, टीका भट्टराई, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका महासचिव प्रकाश सिलवाल, शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष सुदर्शन सिग्देललगायतले शिक्षामा रुपान्तरणका लागि विद्यमान कानुन र नीतिमा परिवर्तन र विद्यालय सुधार योजना बनाउँदा अभिभावकका चाहनाको सम्बोधन हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप