बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डल्फिन संरक्षणका लागि शिक्षा

बिहीबार, २७ जेठ २०७३, ११ : १३
बिहीबार, २७ जेठ २०७३

धनगढी– डल्फिन देखिने कैलालीका नदीलाई प्रदूषणरहित बनाउन स्थानीय विद्यालयका छात्रछात्रालाई शिक्षा दिन थालिएको छ ।

स्थानीय आठ विद्यालयका करिब २४० छात्रछात्रालाई नदीको पानी र त्यसमा पाइने जीवजन्तुबारे स्थलगत रुपमै प्रयोगात्मक एवम् व्यवहारिक ज्ञान दिन थालिएको हो ।

डल्फिन संरक्षण केन्द्र थापापुर कैलालीका अध्यक्ष भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ ले डल्फिन संरक्षणका लागि जनचेतना जगाउन दुर्गा मावि कुसुमघाट, महेन्द्र मावि पगियापर्सार, जनता मावि सुनफाँटा, सत्ती कर्णाली मावि सत्ती, कृष्णध्वज मावि थापापुर, बटनपुर र खक्रौला विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई यस्तो ज्ञान दिन थालिएको बताए ।

डल्फिन संरक्षण केन्द्रको पहलमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले यी विद्यालयलाई नदीको पानीमा रहने जीवजन्तुको अवस्था र पानी प्रदूषित भए नभएको जाँच्ने यन्त्रसमेत उपलब्ध गराएको छ ।

पिएच मिटर र कन्डक्टिभिटी मिटर नाम गरेका यी यन्त्रको प्रयोगले नदीमा पाइने जीवजन्तुको अवस्थाका साथै र पानी प्रदूषित भए नभएका बारेको जानकारी दिने संरक्षण केन्द्रका अधिकृत हिरुलाल चौधरीले बताए । यस्तै हावापनीको तापक्रम र भौगोलिक अवस्थाको अध्ययन गर्न थर्मामिटर र जिओमिटर समेत उपलब्ध गराइएको छ ।

यसबाहेक परम्परागत एवम् पेसागत रुपमा माछा मारी जीविका चलाउँदै आएका माँझीलाई २५ थान सफ्टवेयर राखिएको ‘हट मोबाइल सेट‘ समेत उपलब्ध गराइएको छ । डल्फिनको आहाराको रुपमा नदीमा पाइने विभिन्न प्रजातिका माछा, यसको आकार, पानीको रङलगायतका विषयमा जानकारी दिने गरी यो मोबाइल सेटमा सफ्टवेयर जडान गरिएको चौधरीले बताए ।

मानिस पछिको दोस्रो बुद्धिमान प्राणी डल्फिनलाई लिने गरिन्छ । वर्षायाममा पानीको सतह बढेसँगै कैलालीको मोहना, काँडा, कान्द्रा, पथरैयालगायतका नदीमा डल्फिन चरनका लागि आउने गरेका छन् ।

पानीमा उफ्रिएको अवस्थालाई आधार मानी गरिएको गणनाले कैलालीका यी नदीमा गेङ्गटी प्रजातिका १३० डल्फिन रहेको संरक्षण केन्द्रको दाबी छ ।

आगामी केही महिनाभित्र कैलालीका नदीमा देखिने डल्फिनको वैज्ञानिक गणना गर्ने तयारी समेत भइरहेको छ ।

यसैबीच कर्णाली र मोहना नदीको दोभान कैलालीको चौगुर्दी घाटमा मङ्गलबार अपराह्न दुई वटा वयस्क र एउटा बच्चा डल्फिन पानीमा उफ्रिएको देखिएको अवलोकनका लागि गएको टोलीमा सहभागी हिरुलाल चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप