बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेन्सरको झमेलामा फस्यो ‘उड्ता पन्जाब’ :निहलानीले भने, ‘ म मोदीको चम्चा हुँ’

बिहीबार, २७ जेठ २०७३, १३ : ३१
बिहीबार, २७ जेठ २०७३

मुम्बई –शाहिद कपूर, करिना कपूर र आलिया भट्ट अभिनित चलचित्र उड्ता पन्जाबको विषयमा बिहिबार मुम्बईको हाइकोर्टमा सुनुवाई हुदैँछ । भारतको सेन्सर बोर्डले बुधबार फिल्ममेकर्सलाई १३ वटा सिन काट्न सुझाएको छ । यस चलचित्रमा प्रयोग गरिएका केही गाली तथा केही शबद हटाउन सेन्सर बोर्डले सुझाव दिएको हो । सेन्सर बोर्डले पन्जाबका ८ शहरको नाम पनि चलचित्रबाट हटाउन निर्देशन दिएको छ । यसअघि सेन्सर बोर्डका प्रमुख पहलाज निहलानीले चलचित्रको नाम नै परिवर्तन गर्न भनेका थिए । सेन्सर बोर्डको झमेलामा फसेपछि १७ जूनमा रिलिज हुने भनिएको उड्ता पन्जाबको रिलिज मिति सारिएको छ ।

– फिल्ममेकर अनुराग कश्यपले मुम्बई हाइकोर्टमा सेन्सर बोर्डको विरुद्धमा मुद्धा दायर गरेका छन् । यसमा सुनुवाई हुदैँछ । – बुधबार कोर्टको सुनुवाईका दौरान बोर्डले आफ्नो धारणा राखेको थियो । यस क्रममा १३ वटा सिन काटेपछि ए सर्टिफिकेट प्रदान गर्ने सेन्सर बोर्डको धारणा छ । – यसअघि सेन्सर बोर्डका प्रमुख पहलाज निहलानी र यस चलचित्रका निर्माता अनुराग कश्यपबीच दिनभर आरोप–प्रत्यारोप चलेको थियो । – अनुरागले निहलानीमाथि आरोप लगाउँदै भनेका छन् –‘ फिल्ममेकर्सले मात्रै किन बारम्बार आफ्नो इमानदारीता प्रमाणित गर्नुपर्छ ?’ – यता सेन्सरबोर्डका प्रमुख निहलानीको भनाई थियो –‘चलचित्रमा पन्जाबका ७० प्रतिशतले ड्रग्स लिएको देखाइएको छ । चलचित्र बनाउनका लागि आम आदमी पार्टीले पैसा दिएको छ । त्यसैले सिन काट्ने निर्णय पुरै प्यानलको फैसला हो । मेरो मात्रै होइन ।’

सेन्सर बोर्डले काट्न भनेका केही अंश – चलचित्रको सुरुआतमा देखाइएको पन्जावको साइन बोर्ड हटाउनुपर्छ । – पन्जाब, जालन्धर, चन्डीगढ, अमृतसर, तरनतारन, जशनपुरा, अम्बेसर, लुधियाना र मोगाको बोर्ड र संवाद चलचित्रबाट हटाउनुपर्छ । – १४ वटा गाली हटाउनुपर्छ । – चुनाव, सांसद, पार्टी , पन्जाव, संसद् लगायतका शब्द हटाउनुपर्छ । – कुकुरको नाम ज्याकी चेन राखिएको छ । यस्तो राख्न मिल्दैन यो संवादलाई हटाउनुपर्छ ।

निहलानी भन्छन् –‘ म मोदीको चम्चा हुँ ।’ – यसअघि निमार्ण पक्षले भारतीय जनता पार्टीको दबाबमा फिल्ममा काँटछाँट हुन लागेको आरोप लगाएको थियो । यस आरोपका विषयमा बोल्दै निहलानी भनेका छन् –‘ हो म मोदीको चम्चा हुँ । मलाई कुनै आपत्ति छैन किनकी कसैले राम्रो काम गर्दैछ भने उसको लागि म पनि राम्रो गर्छु । के म आफ्नो प्रधानमन्त्रीको चम्चा नभएर इटलीका प्रधानमन्त्रीको चम्चा बनुँ ।’

आम आद्मी पार्टीको आरोप –‘ मोदीको निर्देशनमा फिल्म काटिदैँछ ।’ – आम आदमी पार्टीले फिल्ममेकर्स अनुराग कश्यपसँग आफ्नो कुनै सम्बन्ध नरहेको र उनलाई पैसा नदिएको बताएको छ । आम आदमी पार्टीका नेता आशीष खेतानले भनेका छन्–‘यो पुरै विवादमा मोदी र प्रकाश सिंह बादलको हात छ । हलाज निहलानीलाई मोदी र बादलले यो फिल्म रिलिज हुनबाट रोक्न भनेका छन् किनकी फिल्म प्रदर्शनामा आउने बित्तिकै ड्रग्सको मुद्धा बहसको विषय बन्नेछ । पन्जावको चुनावमा पनि यसको असर पर्नेछ । त्यसैले बादल कुनै हालतमा यसलाई रोक्न चाहन्छन् ।’

चलचित्रको रक्षा गर्दै अभिताम विवादबीच अभिताभ बच्चनले चलचित्र निर्माता अनुराग कश्यपको बचाउ गरेका छन् । ‘ कुनै पनि फिल्मलाई काँटछाँट गर्नभन्दा चलचित्रलाई प्रमाणित गर्नु राम्रो हुन्छ । कलाकारलाई रचनात्मक बन्न छुट चाहिन्छ ।’ यसअघि भारतीय चलचित्र तथा टिभी निर्देशक एशोसियसनले पनि चलचित्रको समर्थन गरेको थियो । पत्रकार सम्मेलनमा महेश भट्ट, अनुराग कश्यप, सतीश कौशिक र जोया अख्तर लगायतका फिल्म मेकर्स उपस्थित थिए । महेश भट्टले भनेका छन् –‘ हाम्रो देश साउदी अरब जस्तो होइन । जहाँ समृद्धी त धेरै छ तर अभिव्यक्तीको स्वतन्त्रता छैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप