बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘चुसे’ बिरुद्ध कस्सियो प्रहरी, गाडी रोक्दै स्टिकर टाँस्दै !

बिहीबार, २७ जेठ २०७३, १४ : १६
बिहीबार, २७ जेठ २०७३

काठमाडौं– ‘ए, भाई एकछिन रोक है !’ बर्दिवाल ईस्पेक्टरले यसो भन्दै ईशारा गरेपछि माछापोखरीबाट चावहिल तिर अगाडी बढ्दै गरेको मिनीबस चालकले ब्रेक हाने । कारवाहीमा पर्न लागेको डरले इन्सपेक्टर नजिक पुगेका सह–चालकले निन्याउरो स्वरमा सोधे, ‘सर, हाम्रो के गल्ती छ ?’

पोलिथीनको झोलाबाट ‘धुम्रपान निषेधित चिन्ह’ अंकित स्टिकर झिक्दै महानगरीय प्रहरी वृत बालाजुका ईन्सपेक्टर ऋषी मगरले भने, ‘सार्वजनिक यातायातमा धुम्रपान विरोधी स्टिकर टाँस्ने कार्यक्रम छ, कतापट्टि टाँसिदिउँ ?’ यसअघि निन्याउरो अनुहार लगाएका सह–चालकले खुसी हुँदै भने, ‘ढोकामा टाँस्दिनु सर, सवैले देख्छन् ।’ त्यसपछी ऋषिले मिनीबसको ढोका र अघिल्तिरको भागमा धुम्रपान विरोधी स्टिकर टाँसिदीए, गााडी चावहिलतिर हुँईकियो । बुधवार बिहान बालाजुस्थित माछापोखरी चोकमा खटिएका आधा दर्जन प्रहरीले यसरी धमाधम स्टिकर टाँसेको दृश्य गाडीका यात्रु र बटुवाहरु अनौठो मानेर हेर्दै थिए । सार्वजनिक स्थलमा चुरोट सेवन (चुसे) रोक्न लागिपरेको महानगरीय प्रहरी वृत बालाजुले दोस्रो चरणको अभियान अन्तर्गत सार्वजनिक सवारी साधनमा स्टिकर टाँस्ने अभियान चलाईरहेको छ । ‘वैशाखको दोस्रो सातादेखि सार्वजनिक यातायातमा स्टिकर टाँस्ने अभियान शुरु गरेका छौं’ बालाजु वृतका डिएसपी संजिव शर्माले भने, ‘पहिलो चरणमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरुलाई हामीले संझाई बुझाई गरेर प्रतिब्यक्ति एक सय जरिवाना गरेका थियौं ।’ २०७२ पौष अन्तिम साताबाट चुसे विरुद्धको अभियान शुरु गरेको बालाजु प्रहरीले हालसम्म पन्ध्रसय भन्दा बढी ब्यक्तिहरुलाई संझाईबुझाई गर्दै सार्वजनिक स्थलमा धुम्रपान गर्दा हुने असरका बारेमा सचेत गराईसकेको छ । ‘दुई सय पचास जनालाई एक–एक सय जरिवाना गरेका छौं’ रेकर्ड फाईल पल्टाउँदै डिएसपी शर्माले भने, ‘हाम्रो एरियाभित्रको २८ स्थानमा सार्वजनीक ठाउँमा धुम्रपान नगरौं भन्ने खालका फ्लेक्स बोर्ड राखेका छौं ।’ वालाजु क्षेत्रबाट काठमाडौं बाहिर जाने तथा चक्रपथ भित्र चल्ने करिब एक हजार भन्दा बढी सार्वजनिक यातायातमा स्टिकर टाँस गरेको जानकारी दिँदै ईन्सपेक्टर मगरले भने, ‘यो अभियानको कुनै समयसिमा तोकिएको छैन, सँधै चलिरहन्छ ।’ ‘प्रहरीले कारवाही थालेपछी चुरोटको ब्यापार घटेको छ’ गंगा चलचित्र मन्दिर नजिकै किराना पसल संचालन गरेका हिरा श्रेष्ठले भने, ‘हाम्रो ब्यापार घटेपनी सार्वजनिक स्थलमा आवत जावत गर्नेहरुलाई असर पर्न नदिनेगरी प्रहरीले थालेको अभियान राम्रै लागेको छ ।’

विक्रम सिंहले शुरु गरे अभियान काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी विक्रम सिंह थापा आएसँगै सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरुविरुद्धको अभियान शुरु भएको थियो । थापाको निर्देशनमा महानगरीय प्रहरी परिसर मातहतका हरेक प्रहरी वृत र प्रभागहरुले यो अभियान संचालन गरिरहेका छन् । वुधवार मध्यान्ह महानगरीय प्रहरी परिसरस्थित एसएसपी थापाको कार्यकक्षमा पुग्दा उनी कोटेश्वर प्रभागका इन्सपेक्टरलाई टेलिफोन गरेर ‘चुसे कारबाही’को प्रगती विवरण सोध्दै थिए । ‘सार्वजनिक स्थलमा चुरोट सेवन गर्नबाट रोक्ने अभियान राम्रै चलेको छ’ एसएसपी थापाले भने, ‘अहिलेसम्मको रिजल्ट राम्रो छ, काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गर्ने ५० हजार भन्दा धेरैलाई सम्झाई बुझाई गरेका छौं ।’ यसअघि नेपालगञ्ज र बुटवलमा रहँदा पनि धुम्रपान विरोधी अभियान संचालन गरेका थापालाई यस बर्षको विश्व धुम्रपानरहित दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले सम्मान गरेको थियो । काठमाडौं प्रहरी प्रमुख भएर आएपछि थापाले शुरु गरेको अभियानबाट मात्रै ५७ लाख राजस्व संकलन भएको छ । ‘काठमाडौंका १५० भन्दा बढी ‘प्लस टु’मा हामीले धुम्रपान विरोधी कक्षा संचाल गरिसकेका छौं’ एसएसपी थापाले भने, ‘कलेजको कक्षाले युवा वर्ग यसबारे सचेत भएका छन् ।’ (फोटो : बिजु महर्जन)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप